पोखरा वडा नम्बर-५, ११, १५, २१, २३ मा एमालेको घरदैलो तिव्र


     एभरेस्ट आवाज    
     वैशाख १८ गते २०७९ मा प्रकाशित




पोखरा, १८ वैशाख ।
पोेखरा महानगरपालिका वडा नं २३ मा नेकपा एमालेको चुनावी प्रचारप्रसारको कार्यक्रमलाई तीव्र बनाइएको छ । वडाका रैकर, मैदान, पोखरी, बाम्दी लगायतका गाउँमा प्रचारप्रसार गरिएको एमाले नेता अर्जुन क्षेत्रीले जानकारी दिएका छन् । उनले वडा न।२३ का मतदाता एमाले उमेद्वार देखेर उत्साहित भएको बताए उनले बताए । अबको निर्वाचनमा ७ सूर्यमा ७ छाप लगाएर एमालेमय बनाउने मतदाताले उद्घोष गरेका छन् ।
पोखरा २३ को वडाध्यक्षमा शिवलाल पराजुलीको उमेद्वारी छ । २०३९ र २०४४ मा गरी २ पटकसम्म प्रधानपञ्चमा निर्वाचित उनी चापाकोट प्रा।विका पूर्व प्रधानाध्यापक समेत हुन् । उनले वडा नं २३ को विकासका लागि एमाले बाहेक अरु पार्टीको विकल्प नभएको बताएका छन् । यस्तै वडाको सदस्यमा चेतबहादुर क्षेत्री ९अर्जुन० खुल्ला, शान्ति शर्मा पराजुली महिला, फवेन्द्र कुमार गुरुङ खुल्ला र रीता सुनार दलित महिला सदस्य पदका उमेद्वार रहेका छन् ।

एमाले र रविन्द्र कहिल्यै भुल्न सकिदैंन

त्यो बेला निर्मलपोखरी र कृष्ती गाविस थिए । ग्रामीण क्षेत्र कच्ची बाटो (धुलाम्य) । विद्यार्थी बिहान सेतो सर्ट लगाएर बेलुका घर फर्किंदा सर्टको रङ नै धमिलो हुने । गृहिणी बिहान पानी लिन गयो भने आधा दिन जान्थ्यो । दशकौं यस्तै दुख झेलेका त्यहाँका बासिन्दाले तब मुक्ति पाए, जब त्यो डाँडाले रविन्द्र अधिकारीलाई नेताको रुपमा पायो । दुवै भेग गाविस वडा हुँदै अहिले एउटै वडा भएको छ । पोखरा–२१ नेकपा एमालेको ‘लाल किल्ला’ । त्यही वडामा एमालेको चुनावी कार्यक्रम चल्दै थियो । खाने पानी र बाटोको समस्या सुल्झाउने तिनै स्वर्गीय रविन्द्र अधिकारीलाई भावुक हुदै गुरुप्रसाद अधिकारीले सम्झिए । ‘यो ठाँउलाई बनाएको उनै रविन्द्र र एमालेले नै हो,’ उनले भने, ‘रविन्द्र गए, नत्र अझै कति गर्थे ।’ अधिकारीले रविन्द्रको योगदान नभुल्न सबैलाई अनुरोध गरे । ‘रवीन्द्र नभए पनि उनको पार्टी एमाले छ, हामी ढुक्क छौं,’ उनले थपे, ‘एमालेले नै दिएको वृद्ध भत्ता अहिले हामीले सजिलै पाएका छौं ।’

पोखरा ५ मा आजदेखि एमालेको चुनावी घरदैलो सुरु
नेकपा (एमाले) पोखरा वडा नं. ५ ले वैशाख ३० गते स्थानीय तहको निर्वाचनलाई केन्द्रीत गर्दै आज (आइतबार) देखि घरदैलो सुरु गरेको छ । चुनावी सचेतना, उम्मेदवार परिचयसहित एमाले पोखरा ५ ले आज जिरो किमीदेखि घरदैलो सुरु गरेको हो ।
यस वडामा एमालेको तर्फबाट वडाध्यक्षमा विष्णुप्रसाद बराल, महिला सदस्य कल्पना भुवाजी क्षेत्री, दलित महिला सदस्य हरिमाया विक, खुल्ला सदस्यतर्फ गोविन्दप्रसाद बराल र मणिराम बरालले उमेद्वारी दिएका छन् ।
भोली (सोमबार) एमालेको तर्फबाट पोखराको मेयर र उपमेयर पदमा उमेद्वारी दिएका कृष्ण थापा तथा मञ्जुदेवी गुरुङसहित घरदैलो गरिने वडा ५ एमाले चुनाव प्रचार प्रसार समितिका संयोजक लक्ष्मण बरालले जानकारी दिए ।
यस अघिको स्थानीय तहको निर्वाचनमा वडा नं. ५ मा एमालेबाट उम्मेदवार बनेका वडा अध्यक्षसहित ४ सदस्यलाई नै वडावासीले निर्वाचित गरेका थिए । जसमा एमालेका धनबहादुर नेपाली वडाध्यक्षमा विजयी भएका थिए । नेपालीले १७ सय ६८ मत ल्याउँदा कांग्रेसले १२ सय ४६ मत र माओवादी केन्द्रले १ सय ६ मत प्राप्त गरेको थियो । यसअघिको निर्वाचनमा वडामा ४ हजार ३ सय ८ जना मतदाता थिए भने अहिले ५ हजार ८८ जना मतदाता रहेका छन् ।

आफ्नो ठाउँको विकास गर्न राजनीतिमा आएँः बानियाँ
नेकपा एमाले वडा नं १५ को घरदैलो कार्यक्रम आइतबार पनि जारी रह्यो । यसैबीच आजको घरदैलो कार्यक्रम वडाको तल्लो भेक टुटुंगा, अमिनतारा र वन क्याम्पस पछाडि ठाँटीपाटन, नागबेली टोल लगायतका एरियामा सम्पन्न भएको छ । घरदैलोका लागि उमेद्वारसहित पुगेको टोलीलाई स्थानीयले स्वागत गरेका थिए । उनीहरुले अत्याधिक बहुमत प्राप्त गरी विजयी हुनु भन्दै उमेद्वारलाई शुभकामना तथा आशिर्वाद दिएका थिए ।
महिला सदस्य पदकी उमेद्वार सेतीमाया गुरुङले वडावासी मतदाताको हौसला र सकारात्मक प्रतिक्रिया पाएर यसपटकको निर्वाचनमा एमालेका पाँचै जना उमेद्वार विजयी हुने विश्वास व्यक्त गरिन् ।
घरदैलो कार्यक्रमकाबीच केही मतदाताले सडक पहिलेभन्दा राम्रो बनेको भएपनि अझ स्तरोन्नती गर्नुपर्ने माग उमेद्वार समक्ष राखेका थिए । यस्तै, नागबेली टोलका स्थानीयले आफूहरुको टोलमा हाल खानेपानीको समस्या रहेको र तत्काल समाधानका लागि पहल गर्न उमेद्वारसँग आग्रह गरेका छन् ।
स्थानीयको समस्या मननन् गर्दै वडा अध्यक्ष पदका उमेद्वार तोरण बानियाँले आफूले विभिन्न क्षेत्रमा कर्म गरिरहेको बताउँदै आर्थिक रुपले मात्र सम्पन्न भएर नहुने बताए । आफू जन्मिएको, आफूलाई चिनाएको र यो अवस्थासम्म पु¥याएको ठाउँका जनताका लागि राम्रो काम गर्न सामाजिक क्षेत्र हुँदै राजनीतिमा लागेको प्रतिक्रिया दिएका छन् । उनले अब वडाका महिला दिदीबहिनी र बेरोजगार युवाका लागि विभिन्न सीप, तालिम र स्वरोजगारका कार्यक्रम ल्याएर दक्षता अभिवृद्धि गरी आय आर्जनमा जोडिने बताए ।
आफूहरु राम्रो वडा, हाम्रो वडा र व्यवस्थित नागरिक बसेको वडा बनाउने अभियानमा लागेको भन्दै अभियानलाई सफल बनाउन सूर्य चिन्हमा मतदान गरी आफूहरुलाई निर्वाचित गराउन मतदातासँग आग्रह गरेका छन् ।

पोखरा ११ मा एमालेप्रति आकर्षण देखियो

पोखरा महानगरपालिका वडा नं ११ का जनता एमालेप्रति आकर्षित देखिएका छन् । नेकपा एमालेका उमेद्वारको घरदैलोका क्रममा यसपटकको निर्वाचनमा एमाले र सूर्य चिन्हमै मतदान गर्ने उनीहरुको प्रतिवद्धता छ ।
आइतबार घरदैलोमा पुगेका वडा अध्यक्षका उम्मेदवार मीनबहादुर गुरुङ, वडा महिला सदस्य चन्द्रा शर्मा तिवारी, दलित महिला सदस्य हेमाकुमारी नेपाली, र खुल्ला सदस्यमा विष्णुप्रसाद आचार्य र कार्लोस गुरुङलाई वडा नं ११ का मतदाताले मतदानको वाचा गरेका हुन् । आइतबार काँहुकोट देउराली, तिलहार, लालिगुराँस टोल, पोखरीथोक हुँदै न्यास, राधाकृष्ण टोलबाट कालिकाचोकमा पुगेर घरदैलो कार्यक्रम समापन भएको थियो । घरदैलोका क्रममा वडा नं ११ मा यसअघिका जनप्रतिधिले स्थानीय आवश्यकता अनुसारको विकास गर्न नसकेको आरोप लगाउँदै स्थानीय मतदाताले अध्यक्षका उमेद्वार गुरुङसहितको टोलीलाई जिताउने प्रतिवद्धता जनाएका छन् ।
मतदाताको आशिर्वाद ग्रहण गर्दै वडा अध्यक्षका उमेद्वार गुरुङले निर्वाचनअघि गरिएका सम्पूर्ण प्रतिवद्धता पूरा गर्दै समृद्ध वडा बनाउने अठोट व्यक्त गरे । बाटो, खानेपानी, पूर्वाधार लगायत सामाजिक विकासका योजना सुनाउँदै उनले अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिक, महिला र बालबालिकाका लागि आवश्यकता अनुसारका योजना कार्यान्वयन गरिने उनको प्रतिवद्धता थियो ।
पोखरा ११ मा चुनावी अभियान अन्र्तगत १ हजार १ सय ११ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरि प्रचारप्रसारलाई तीव्र पारिएको प्रचारप्रसार संयोजक मदनकुमार सुनारले जानकारी दिएका छन् । घरदैलो अभियानमा एमाले कास्की जिल्ला कमिटी सदस्य एवं वडा नं ११ का इन्चार्ज बलबहादुर नेपाली, निर्वाचन परिचालन कमिटिका संयोजक सञ्जयकिशोर बास्तोला लगायत स्थानीय नेता कार्यकर्ताको सहभागिता थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।