चुनाव जिते काम नगर्ने ठेकेदारलाई मादी छिर्न दिन्नौं : महेन्द्र गुरुङ


     एभरेस्ट आवाज    
     वैशाख १९ गते २०७९ मा प्रकाशित




पोखरा, १९ वैशाख ।
नेकपा एमालेबाट कास्कीको मादी गाउँपालिका अध्यक्ष उमेद्वार शिवबहादुर गुरुङ (महेन्द्र) ले चुनाव जितेमा विकास निर्माणका काम अलपत्र पार्नेलाई ‘तह लगाउने’ चेतावनी दिएका छन् । सोमबार मादी १२ मा आयोजित चुनावी सभामा बोल्दै उनले कतिपय योजना ठेकेदारले अलपत्र बनाएको तर आफ्नो नेतृत्वले चुनाव जिते काम नगर्ने ठेकेदारलाई मादी छिर्नै नदिने बताए ।
कांग्रेसका नेता ठेकेदारको कम्पनीले मादी ९ र १२ जोड्ने पुल, सौर्य–माझठान–मिजुरे सडक, मादी ५ र पोखरा १३ जोड्ने पुल अलपत्र पारेको महेन्द्रले सुनाए । ‘विकासका योजना अलपत्र पार्ने ठेकेदारलाई घोक्रेठ्याँक लगाएर तह लगाउँछु,’ प्रतिबद्धता जनाउँदै उनले थपे, ‘चुनाव जित्यौं भने त्यसरी काम अलपत्र छोड्ने ठेकेदारलाई मादीमा प्रवेश निषेध गर्छौं । हामीलाई विकास–निर्माण चाहिएको छ । काम नगर्नेबारे बोल्न म पछि पर्ने छैन ।’
विपक्षी पार्टीले आफू र एमालेविरुद्ध फैलाएका भ्रममा नपर्न उनले मतदातालाई आग्रह गरेका छन् । एमालेको खेदो खन्नुभन्दा आफ्नो पार्टी सम्हाल्न उनले प्रतिस्पर्धी पार्टीलाई सुझाए । ‘पार्टी गतिलो भएको भए नेता–कार्यकर्ताले नेकपा एमाले रोज्ने थिएनन् । आफ्नो पार्टी सम्हाल्नुस्, खेदो खन्ने काम नगर्नुस् । अरुको खेदो खन्न थाले तिमी कमजोर हुन्छौ र आफैं नांगिन्छौ,’ उनले भने ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।