पोखरा–६ मा एमालेद्वारा निर्वाचन लक्षित युवा भेला


     एभरेस्ट आवाज    
     वैशाख २१ गते २०७९ मा प्रकाशित




पोखरा महानगरपालिका–६ मा नेकपा एमालेले आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै घरदैलो कार्यक्रमलाई तीव्रता दिएको छ।

यसैक्रममा पार्टीले उक्त वडामा बृहत युवा भेला सम्पन्न गरेको छ। ‘अबको नेतृत्व युवाको हातमा’ भन्दै पार्टीले युवा भेलाको आयोजना गरेको हो।

भेलामा प्रदेश सांसद राजीव पहारीले युवाले राणा शासनको अन्त्य गरेको कुरा स्मरण गर्दै अबको नेतृत्व युवाको हातमा भएको बताए। देश परिर्वतनमा युवाले अबको समयमा भुमिका खेल्नुपर्ने उनको भनाई थियो।

कार्यक्रममा नेकपा एमालेको तर्फबाट उक्त वडामा वडाध्यक्ष प्रत्यासी विष्णुबहादुर भट्टराईले आफूहरुको जीत निश्चित भएपनि नियम र कानुनले वैशाख ३० कुर्नुपर्ने अवस्था रहेको बताएका छन्। उनले महानगरबाट छुट्टाएको १५ प्रतिशत बजेट युवाकै हातबाट वडा निर्माणसँगै वडाको विकासमा खर्चिने उल्लेख गरे। सक्षम टिमलाई भारी मतले विजयी गराउन उनले आग्रह गरे। कार्यक्रममा प्रत्यासी भट्टराईले कयौं शहिद देश भक्त युवा एमालेमा रहेको दावी समेत गरे।

पार्टी कमिटी वडा नं ६ का अध्यक्ष बलराम पहारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम उमा भण्डारीले संचालन गरेकी हुन्। निर्वाचनको समय नजिकिंदै जाँदा पार्टीले उक्त वडामा प्रचारप्रसार तथा घरदैलो कार्यक्रमलाई निरन्तरता दिएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।