यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनमा पोखरा महानगरपालिका वडा नं १ बाट वडाध्यक्ष पदका लागि ४ जना प्रत्यासीहरु छन्।
यसअघिको निर्वाचनमा नेकपा एमालेले पकड जमाएको महानगरको उक्त वडामा एमालेकै उम्मेदवार सहारा प्रधान, नेपाली काँग्रेसकी सीता गुरुङ, नेकपा (माओवादी केन्द्र) का भानुभक्त अधिकारी र राप्रपाका मैतलाल गुरुङ वडाध्यक्षका उम्मेदवार हुन्।
आसन्न स्थानीय निर्वाचनका लागि वडाध्यक्षका प्रत्यासीमध्ये एक नेकपा (माओवादी केन्द्र) बाट उम्मेदवार बनेका भानुभक्त अधिकारीले आफ्नो जित हुने दाबी गरेका छन्।
माओवादी केन्द्र पोखरा कमिटीका उपाध्यक्ष समेत रहेका अधिकारी यसपाली उक्त वडामा माओवादीले नै कब्जा गर्ने दावी गर्दछन्।
एभरेस्ट एफएम ९३ मेघाहर्जको ‘लोकल इलेक्सन’ कार्यक्रममा बुधबार बिहान बोल्दै अधिकारीले आ–आफ्नो जित सुनिश्चित रहेको बताउँछन्।
वडाभित्रका बृद्धबृद्धा, युवा, समाजसेवी, बुद्धिजीवी, व्यवसायीहरु सबैले आफूलाई मत दिएर निर्वाचनमा जिताउने अधिकारीको विश्वास छ। आफू यहाँको सामाजिक व्यक्तित्व भएका कारण पनि वडावासीले आफूलाई नै जिताउने उनको तर्क छ।
पोखरा महानगरका वडाहरुमध्ये १ नं वडालाई महत्वपूर्ण मानिन्छ। पश्चिमाञ्चल क्षेत्रकै सबैभन्दा ठूलो क्याम्पस पीएन क्याम्पस, पोखराकै पुरानो विद्यालयीय शैक्षिक संस्था राष्ट्रिय उच्चमावि, गण्डकी प्रदेशस्तरीय प्रज्ञा प्रतिष्ठान, पुरानो टँुडीखेल खेल मैदान, इन्द्रेणी एकीकृत विकास सामाजिक विकास केन्द्र, धार्मिकस्थल गाइघाट, पोखरा–बागलुङ राजमार्गको हरिचोक ट्रान्जिट प्वाइन्ट यसै वडामा पर्दछ।
आफू घरदैलोमा जाँदा मतदाताहरुमा निराशा नै निराशा भेटेको उनले सुनाए। मतदातालाई उदृत गर्दै उनले भने, ‘यसअघिका जनप्रतिनिधिहरु जनताका सेवक थिएनन्, शासक थिए। सिफारिसका लागि हस्ताक्षर लिन जाँदा जनप्रतिनिधिहरु वडा कार्यालयमा नभेटिएर कार्यक्रमहरुमा भेटिन्थ्यो।’
अव्यवस्थित सुकुम्वासी वस्ती, धार्मिकस्थल गाइघाटमा स्नान लगायत शव दहन गर्ने स्थानको समस्या, सिम्पानीलगायत अधिकारी टोलमा खानेपानीको समस्या कस्केलीस्थित सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा र खेलमैदानको कमी, सिम्पानी, बगर टुँडीखेल खेल मैदान, पीएन क्याम्पसमा पार्किङ व्यवस्थापनको समस्या, बागबजार र ट्याक्सीचोकको साँघुरो बाटो र ढल निर्माण यस वडाभित्रको तत्कालको समस्याहरु हुन्।
वडाको आफ्नै जग्गामा स्थायी वडा कार्यालय छैन। अहिले पनि राष्ट्रिय उच्चामाविको जग्गामा भाडामा वडा कार्यालय बसेको छ। आफूले जिते वडामा शुशासन कायम गर्ने उनले प्रतिबद्धता जनाए। सबै भन्दा पहिले स्थायी रुपले व्यवस्थित वडा कार्यालयको निर्माणलाई आफूले पहिलो प्राथमिकतामा राखेको उनको भनाई छ।
उनले भने, ‘महानगरबाट बजेट निकासा गरी जमीन खरिद गरेर सुविधासम्पन्न आफ्नै वडा कार्यालय बनाउने कार्यमा आफ्नो पहिलो प्राथमिकता रहनेछ।’
वडाभित्र हुने विकास निर्माणका योजना एवं सम्पन्न भइसकेका योजनाहरुका सार्वजनिक सुनुवाई आफ्नो प्राथमिकता रहेको उनको प्रतिबद्धता छ। अधुरा र अपूरा योजनाहरुको कार्यसम्पादन र सम्पन्न भइसकेका कामहरुको एक हप्ताभित्र सार्वजनिक सुनुवाई गर्ने उनले आफ्नो प्रतिबद्धता रहेको स्पष्ट पारे।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, भदौ १२ पोखरामा बाढी पीडितको शव व्यवस्थापन गर्न सकस भएको…





