अपवित्र गठबन्धनलाई तहसनहस पार्न सूर्यमा भोटः उपमहासचिव गुरुङ


     एभरेस्ट आवाज    
     वैशाख २२ गते २०७९ मा प्रकाशित




नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले अपवित्र गठबन्धनलाई तहसनहस पार्न नेपाली जनताले सूर्यमा भोट हाल्ने दाबी गरेका छन्।

नेकपा एमाले पोखरा वडा नं. ८ को वृहत चुनावी भेलालाई सम्बोधनका क्रममा प्रमुख आमन्त्रित व्यक्तित्व गुरुङले परमादेशबाट स्थापित यो सरकारलाई ढाल्न पनि जनताले सूर्यमा भोट हाल्ने गुरुङको जिकिर थियो।

‘देश समृद्ध बनाउने एमालेले हो। नेपालीलाई सुखी राख्ने एमाले हो। देश बचाउने एमाले हो। त्यसैले एमालेलाई हरेक तहको निर्वाचनमा भोट हाल्नुपर्छ,’ गुरुङले स्पष्ट पारे।

पार्टीका प्रचार विभाग प्रमुख गुरुङले अगाडी थपे, ‘स्थानिय तहमा झन् एमाले जिताउनै पर्छ। गाउँगाउँमा एमालेको नीति स्थापित गर्न एमाले जिताउनुपर्छ। गाउँ समृद्ध बने मात्रै देश समृद्ध बन्ने भएकाले गाउँ गाउँको सरकार पनि एमालेकै हुनुपर्छ। त्यसैले, अहिले सूर्यमै लहरै भोट हाल्नुपर्छ।’

नेपाललाई माया गर्ने सबै नेपालीको आस्था नेकपा एमालेमा रहेको पार्टीका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले बताए। राष्ट्रिय स्वाधीनता र सार्वभौमिकताको रक्षा गर्ने, विदेशीसँग लम्पसार नपर्ने, आफ्नो स्वाभिमानलाई उँचो राख्ने राष्ट्रवादी पार्टी नेकपा एमाले रहेकाले राष्ट्रवादी नागरिकको आस्था पनि एमालेमा नै रहेको उनको दाबी थियो।

पाँच दलीय गठबन्धन एकातिर र सिंगो एमाले एकातिर रहेपनि जनताले राष्ट्रघातविरुद्ध राष्ट्रवाद, असत्यविरुद्ध सत्य, अन्यायविरुद्ध न्यायको तराजुमा जोखेर जनताले एमालेलाई नै भारी मतले जिताउने ठोकुवा गरे।

‘यसपटक ६७ प्रतिशत मत एमालेको पक्षमा खस्छ। कम्तिमा ५० प्रतिशत ठाउँ त एमाले एक्लैले जित्छ जित्छ’ गुरुङको ठोकुवा छ ‘यत्ति हो एमालेभित्र एकता हुनुपर्छ। हामीमै एकता हुन जरुरी छ। काँग्रेस छिन्नभिन्न छ। प्रचण्ड र माधव नेपालहरु त मोहनविक्रम सिंह जस्ता हुनेछन्।’


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।