पोखरा–४ का वडाध्यक्ष प्रत्यासीहरुको आ–आफ्नै एजेण्डा

- लोकल इलेक्सन


     एभरेस्ट आवाज    
     वैशाख २२ गते २०७९ मा प्रकाशित




पोखरा महानगरको वडा नं ४ समग्र पोखराकै कोर क्षेत्र मानिन्छ। यो क्षेत्र पोखराकै केन्द्रविन्दु पनि हो। मानौं, पोखराकै उत्पत्ति क्षेत्र यहाँको वडा नं ४ हो। यो क्षेत्रलाई पोखराकै व्यवसायको हबका रुपमा पनि हेरिन्छ।

पोखराकै पुरानो र मुख्य क्षेत्र महेन्द्रपुल, चिप्लेढुंगा, पालिखेचोक, सिद्धार्थचोक, गैरापाटन, ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेको रामकृष्ण टोल र गणेश टोल यसै वडाभित्र पर्दछ। नेवारी संस्कृतिका लागि पनि महात्वपूर्ण वडा हो।

तरपनि, शुशासन, शान्ति सुरक्षा, शिक्षा स्वास्थ्य र भौतिक पूर्वाधारका विकास निर्माणका दृष्टिले स्वयं यो वडा सम्पन्न छैन। यहाँको चिप्लेढुंगा, महेन्द्रपुल, पालिखेचोक, सिद्धार्थचोक, रामृष्ण टोल र गणेशटोलसम्मका बाटाघाटाहरु साँघुरा छन्। यहाँ ढलको व्यवस्था हुन सकेको छैन। बजारीकरणको तीब्र विकाससँगै ट्राफिक व्यवस्थापनमा समस्या छ। एउटैमात्र पुरानो सामुदायिक विद्यालय नवीन मावि स्थानीय विद्यार्थीको आकर्षणको शैक्षिक केन्द्र बन्न सकेको छैन। सुरक्षा व्यवस्था एकदमै कमजोर लगायतको समस्या छन्।

यहाँको, यस्ता समस्याप्रति आजसम्म पनि सिंगो पोखरा महानगरको ध्यान जान सकेको छैन। स्थानीय निकायबिहीन २० वर्षपछिको जनप्रतिनिधिले पनि यस्ता समस्याको समाधान गर्न सकेको छैन।

यसैबीचमा, अहिले यतिखेर मुलुमा स्थानीय तह निर्वाचनको माहोलले छोएको छ। २० वर्षको स्थानीय रिक्ततापछि आएको जनप्रतिनिधिको कार्यकाल पूरा भएर मुलुकमा दोस्रो कार्यकालका लागि स्थानीय चुनावको मिति नजिकिँदो छ। काउन्ट डाउनमा अब स्थानीय निर्वाचनको मिति ८ दिनमात्रै बाँकी छ।

यस पालीको स्थानीय निर्वाचनमा यो वडालाई हत्याउने प्रतिस्पर्धामा विशेषगरी नेपाली काँग्रेससहितको गठबन्धन र नेकपा एमालेकै बीचमा कडा टक्कर हुने पक्का छ। पाँच वर्षअघिको स्थानीय निर्वाचनमा नेपाली काँग्रेसले कब्जा गरेको वडालाई आफूहरुले कब्जा गर्ने ग्यारेन्टी दिन्छन् दुबै प्यानलका वडाध्यक्ष उम्मेदवारहरु।

यस वडाबाट नेकपा एमालेबाट मदन मुल्मी र नेपाली काँग्रेसको तर्फबाट देवकृष्ण पराजुलीको बलियो टिम प्रतिस्पर्धामा छन्।
महानगरको वडा नं ४ मा आ–आफ्नै जित हुने विस्वाससहित उम्मेदवारहरुले मतदातासमक्ष एजेण्डाहरु प्रस्तुत गरेका छन्।

निर्वाचनको मिति नजिकिदैँ गर्दा उम्मेदवारहरु मतदाताहरुको घरदैलोमा व्यस्त छन्। र, वडाका मतदातासमक्ष आ–आफ्नो घोषणापत्र र प्रतिबद्धतापत्र वितरण गर्नुका साथै आफूले जिते घोषणापत्र र प्रतिबद्धतापत्रमा लेखिएका बुँदाहरुलाई अक्षरशः पूरा गर्ने बाचा गर्दैछन्।

एभरेस्ट एफएम ९३ मेघाहर्जबाट प्रसारण हुने ‘लोकल इलेक्सन कार्यक्रम’मा बिहीबार बिहान बोल्दै नेकपा एमालेका वडाध्यक्ष प्रत्यासी मदन मुल्मीले समग्र ४ नं वडालाई समेटेर आफूहरुले ९ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गरिसकेको उल्लेख गरे। उनको प्रतिबद्धतापत्रभित्र स्वयं वडा कार्यालयलाई व्यवस्थित र कर्मचारीहरुलाई वडावासीप्रति जिम्मेवार बनाउनु प्रमुख प्राथमिकतामा परेको छ।

ज्येष्ठ नागरिकका लागि व्यवस्थित दिवा सेवा केन्द्र, घरेलु गृहणी महिला तथा बेरोजगार युवाका लागि उद्यमशीलताका प्रशिक्षणसहितको आत्मनिर्भर कार्यक्रम, फरक क्षमता भएकाहरुका लागि अपाङ्ग मैत्री वडा, नबीन माविलाई नमुना विद्यालय बनाउन गुणस्तरीय शिक्षा प्रदान एर्व विद्यालयको स्तरोन्नती र खेलकुद मैदान निर्माण गर्ने आफ्नो प्रतिबद्धता रहेको मुल्मी बताउँछन्।

सिद्धार्थचोकदेखि रामकृवष्ण टोल, गणेशटोल, पालिखेचोकको ऐतिहासिक नेवारी संस्कृतिको संरक्षण र संबद्र्धन, सुरक्षा व्यवस्थाका लागि टोल–टोल र चोक–चोकमा प्रहरी बिट र सीसी क्यामेरा जडान आफ्नो प्रतिबद्धतापत्रमा समेटिएको मुल्मीले स्पष्ट पारे।

त्यस्तै, नेपाली काँग्रेसका वडाध्यक्ष प्रत्यासी देवकृष्ण पराजुलीले आफूले जिते अहिलेसम्म पनि वडाबाट वडावासी सेवाग्राहीलाई दिइँदै आएको झन्झटिलो सेवाको अन्त्य र मुस्कानसहितको सेवा प्रदान गर्ने एजेडा प्रस्तुत गर्दछन्।

त्यस्तै, फोहरलाई मोहरमा परिणत, प्रदूषणरहित बजारीकरण, टोल र चोक, सिद्धार्थचोकदेखि रामकृष्ण टोल र गणेशटोलसम्मको पुरानो बजारको सडक चक्ल्याउने र बाटोमा ढुंगा बिछ्याउने लगायत ति ऐतिहासिक तथा साँस्कृतिक पूरातात्विक महत्व बोकेको घरहरुको संरक्षण र सम्बद्र्धन गर्ने पराजुलीले घोषणा गरेका छन्। नबीन माविलाई नमुना सामुदायिक विद्यालय बनाएर स्थानीय विद्यार्थीको आकर्षण केन्द्र बनाउने पराजुलीले घोषणा गरेका छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।