पोखरा–९ मा समस्यै समस्या

- यस्तो छ, उम्मेदवारहरुको प्रतिबद्धता (लोकल इलेक्सन)मा


     एभरेस्ट आवाज    
     वैशाख २४ गते २०७९ मा प्रकाशित




पोखरा महानगरपालिकाको वडा नं ९ महानगरकै केन्द्रभागमा छ।

त्यसमाथि, यो वडा महानगर कार्यलयसँगै जोडिएको छ। पर्यटकीय हिसावले यो वडा महत्वपूर्ण पनि छ। पृथ्वीचोक, महेन्द्रपुल र नयाँबजार लगायतका मुख्य व्यापारिक बजारहरु यस वडाभित्र पर्दछ। आन्तरिक एवं बाह्य पर्यटकहरु भित्रने र बाहिरिने मुख्य पृथ्वीचोकको बजार यही वडामा छ।

सामाजिक, राजनैतिक, शैक्षिक र व्यापारिक दृष्टिमा समेत यस वडाको अर्थपूर्ण उपस्थिति छ। यस वडामा सामुदायिकस्तरका विद्यालय, क्याम्पस र कलेजहरुको कमी छैन। जातजाती तथा मौलिक परम्पराको ऐतिहासिक पुरानो संग्रहालय पनि यसै वडामा छ। व्यापारिक हिसावले पनि बैकिङ सेक्टरदेखि अटोका व्यापार केन्द्र हो यो वडा।

राजनीतिक हिसावले पनि एकदमै सचेत बर्गहरुको बसोबास रहेको वडामा गनिन्छ। गुरुङ जातीहरुको बाहुल्य बस्ती रहेको पोखरामा यसै वडाभित्र तमुधिं लगायत अन्य जातजातीको सामुदायिक भवनहरु छन्। धेरै टोलविकास संस्था र अन्य सामाजिक संघसंस्थाहरु यसै वडामा क्रियाशील छन्।

यति, हुँदाहुँदै पनि मुख्य व्यापारिक बजारहरु पृथ्वीचोक, नयाँबजार र महेन्द्रपुलका बजारहरु अव्यवस्थित छन्। मानिसहरुको भीडभाड र अव्यवस्थित पार्किङ यि बजारको विशेषता नै हुन्। यि बजारहरुमा फोहर मैलाको राम्रोसँग व्यवस्थापन हुन सकेको छैन। सडकहरुको छेउमा साइकल लेनहरु छैनन्।

पोखरासँग जोडिएको धेरै राजमार्गहरुले पृथ्वीचोकलाई छुन्छ। पृथ्वी राजमार्गका लागि पृथ्वीचोक पोखराकै प्रमुख नाका हो। राजमार्ग हुँदै बाहिरिने र बाहिरबाट भित्रने आन्तरिक एवं बाह्य पर्यटकहरुका लागि समग्र पोखरा ‘यस्तै हो’ भन्ने चित्रण गर्न पृथ्वीचोकको वर्तमान अवस्थाले बाध्य गराउँछ। अझ, पृथ्वीचोकस्थित बसपार्कभित्र बसोबास गर्ने सुकुम्वासीहरुको अव्यवस्थित वस्तीले आम पोखरेली, आन्तरिक एवं बाह्य पर्यटकहरुका लागि सोंच्न थप बाध्य गराउँछ। पृथ्वीचोकस्थित बसपार्क र सुकुम्वासी वस्ती दुर्गन्धित छन्।

अहिले, यतिखेर स्थानीय तहको निर्वाचनले पोखरालाई पनि तताएको छ। हरेक राजनीतिक दल र उम्मेदवारहरु टोल–टोल, चोक–चोक र घर–घरमा पुगेर चुनावी प्रचार प्रसार अभियानलाई तीब्र बनाएका छन्।

उम्मेदवारहरुले प्रचार प्रसार अभियानमा भोट माग्ने र मतादाताका गुनासा र असन्तुष्टीहरु सुन्ने पहिलो चरण पार गरेका छन्। योजना सहितका घोषणपत्र एवं प्रतिबद्धतापत्रसहित मतादातासमक्ष उम्मेदवारले आ–आफ्ना प्रतिबद्धता जनाएका छन्। अब, मतदाता समक्ष चुनावी शिक्षा, सचेतना लिएर आफ्नो मत सुरक्षित राख्नेतर्फ उम्मेदवारहरुले दोस्रो चरणको अभियान थाल्दैछन्।

त्यस्तै, स्थानीय तह निर्वाचन नजिकिदैँ गर्दा पोखराको वडा नं ९ का उम्मेदवारहरुले चुनावी प्रचार प्रसार अधियानलाई तीब्र बनाएका छन्। यस पालीको स्थानीय निर्वाचनमा आ–आफ्नै जीत हुने दावी प्रस्तुत गर्दछन् पोखरा–९ का सबै उम्मेदवारहरु।

एभरेस्ट एफएम ९३ मेघाहर्जद्धारा संचालित कार्यक्रम ‘लोकल इलेक्सन’ कार्यक्रममा शनिबार बिहान बोल्दै नेकपा एमाले पोखरा–९ वडाध्यक्ष उम्मेदवार प्रेमबहादुर गुरुङले यस पाली वडा कब्जा गर्ने पालो एमालेको रहेको दाबी प्रस्तुत गर्दछन्।
राष्ट्रिय भूमी अधिकार मञ्च, कास्कीका अध्यक्ष समेत रहेका गुरुङ भन्छन्, ‘लगातार ३० वर्षअघिदेखि यो वडाको जनप्रतिनिधिमा काँग्रेसले कब्जा जमाएपनि परिवर्तन हुनेगरी उनीहरुले खासै उल्लेख्य काम गर्न नसकेकै कारण यो पाली एमालेले विजय प्राप्त गर्छ।’

नेकपा (एमाले) पोखरा–९ का अध्यक्ष समेत रहेका गुरुङले आफूले जिते, सबैभन्दा पहिले पृथ्वीचोकको बसपार्कस्थित अव्यवस्थित सुकुम्बासी बसोबासलाई व्यवस्थित गर्ने प्रतिबद्धता गुरुङले जनाए। त्यहाँ फोहर मैलाको व्यवस्थापन गरी प्रदूषरहित पृथ्वीचोक निर्माण गर्ने बताए। पुर्जासहित सुकुम्वासीहरुलाई स्थानान्तरण गरेर प्रविधियुक्त स्तरीय सिटी बसपार्क निर्माण गर्ने गुरुङको प्रतिबद्धता छ।

त्यस्तै, सोही वडाका लागि नेकपा माओवादी (केन्द्र)बाट वडाध्यक्ष उम्मेदवार बमबहादुर कार्कीले पनि ‘लोकल इलेक्सन’ मा बोल्दै आफ्नो जीत शुनिश्चित रहेको दावी पेश गरे। आफ्नो उम्मेदवारी नै बिजय भएको उनको दाबी छ। यसअघि, काँग्रेस–एमालेको जनप्रतिनिधिबाट वडावासी असन्तुष्ट बनेको उनको तर्क छ।

मतदाताले जिताए, काँग्रेस–एमालेले गर्न नसकेका वडाका भौतिक निर्माणदेखि सामाजिक अधुरा कामहरुलाई आफूले पूरा गर्ने कार्कीले ग्यारेन्टी दिए।

नेकपा (माओवादी, केन्द्र) पोखरा ९ का अध्यक्ष समेत रहेका कार्की भन्छन्, ‘यसअघि, महानगरका मेयर र उपमेयर एमालेको, वडा काँग्रेसले कब्जा जमाएपनि वडाभित्रको मुख्य बसपार्क बन्न सकेन। सुकुम्वासीहरुको अव्यवस्थित बसोबासको समस्या ज्युँ का त्युँ रहे।’

महेन्द्रपुलको पुल, नयाँबजारको अव्यवस्थित अटो बजार क्षेत्रलाई विकास गरेर अटोभिलेजका रुपमा स्थापना, बिजुली पोलहरुमा झुण्डिएका अस्तव्यस्त तारहरु हटाई, फोहरमैला व्यवस्थापन, ज्येष्ठ नागरिकका लागि मिलन केन्द्र र बालबालिकाका लागि चिल्ड्रेन पार्कको निर्माण गर्ने योजनालाई पूरा गर्ने कार्कीले प्रतिबद्धता जनाए।

महानगरको यो वडा नं ९ राजनीतिक हिसावले नेपाली काँग्रेसको पकड रहेको वडा हो। करिब ३० वर्षअघिदेखि यस वडामा काँग्रेसले कब्जा जमाउँदै आएको छ।
यस पाली पनि यसै वडाका लागि वडाध्यक्ष पदमा काँग्रेसबाट दीपेन्द्र मर्सानीको उम्मेदवारी छ।

‘लोकल इलेक्सन’ मा फोनमार्फत कुराकानी गर्दै मर्सानीले यो पटक पनि वडामा आफ्नो प्यानलको जीत शुनिश्चित रहेको ग्यारेन्टी दिन्छन्।

नेपाली काँग्रेस कास्की क्षेत्र नं २ ‘ख’ का सभापति समेत रहेका मर्सानीले समग्र वडाको विकासका लागि योजनासहित आफूले १० बुँदे घोषणापत्र मतदातासमक्ष प्रस्तुत गरिसकेको उल्लेख गरे। वडाका प्रजातान्त्रिक मतदाताले आफू र आफ्नो टिमलाई जिताउने मर्सानीको अर्को बलियो तर्क छ।

आफूले जिते, भौतिक पूर्वाधारतर्फ पृथ्वीचोक, पृथ्वीचोकको बसपार्क, महेन्द्रपुल र नयाँबजार क्षेत्रलाई व्यवस्थित बजारका रुपमा विकास गर्ने मर्सानीले बताए। मुख्य बजारहरुमा सार्वजनिक सौचालय निर्माण र ज्येष्ठ नागरिकका लागि दिवा मिलन केन्द्रको स्थापना गर्ने आफ्नो एजेण्डा रहेको सुनाए।

एक वर्षभित्रमा स्वास्थ्य केन्द्रहरुबाट गुणस्तरीय स्वास्थ्य सेवा प्रदान, सामुदायिक विद्यालयहरुमा प्राविधिक शिक्षासहितको शैक्षिक गुणस्तरको बृद्धि गर्ने, दलित, गरीब विद्यार्थीलाई निःशुल्क शिक्षा, खेलकुदका लागि टोल–टोलमा व्यायामशाला तथा योग केन्द्रहरुको स्थापना, परम्परायुक्त मौलिक खेलकुदहरुको संरक्षण र प्रबद्र्धन, खेलाडीहरुको सम्मान, गर्ने मर्सानीले प्रतिबद्धता जनाए।

वडालाई साइकल सिटीको रुपमा विकास गर्ने र वडाभित्रका सडकहरुमा साइकल लेन बनाउने मर्सानीको प्रतिबद्धता छ।
आसन्न स्थानीय निर्वाचनमा यस वडाका लागि राप्रपाबाट भीमबहादुर कुँवर, उन्नत लोकतन्त्र पार्टीबाट हरिबहादुर भुजेल र नेपाल दलित पार्टीबाट मानबहादुर कामी वडाध्यक्ष पदका उम्मेदवारहरु छन्।

निर्वाचनमा महानगरको वडा नं ९ मा नेपाली काँग्रेसबाट खुल्ला सदस्यमा नन्दराम गिरी र लक्ष्मी पहारी, महिला सदस्यमा देवीमाया चालिसे र दलित महिला सदस्यमा गीता नेपाली उम्मेदवार छन्।

नेकपा एमालेबाट खुल्ला सदस्यका लागि ध्रुवकुमार श्रेष्ठ र सञ्जय कम्मर, महिला सदस्यमा लक्ष्मी गुरुङ र दलित महिला सदस्यमा सरस्वती नेपाली उम्मेदवार छन्।

त्यस्तै, नेकपा (माओवादी, केन्द्र) बाट खुल्ला सदस्य पदमा आशबहादुर बि.क. र रामबहादुर बयलकोटी, महिला सदस्यमा मिनाकुमारी गुरुङ र दलित महिला सदस्यमा सुनिता दर्जी उम्मेदवार छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।