मादीलाई देशकै नमूना पालिका बनाउछौँ : उपाध्यक्षका उम्मेदवार गुरुङ


     एभरेस्ट आवाज    
     वैशाख २४ गते २०७९ मा प्रकाशित




वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा कास्कीको मादी गाउँपालिकामा सत्तारुढ दलहरुबीचको गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का युवा नेता लालबहादुर गुरुङ उपाध्यक्षका उम्मेदवार हुनुहुन्छ । उहाँ मादी–७ को निर्वतमान वडाध्यक्ष र गाउँपालिकाको प्रवक्ता समेत हुनुहुन्छ ।
नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेश सदस्यसमेत रहनुभएका गुरुङ गठबन्धनको साझा उम्मेदवारका रुपमा यतिबेला चुनावी मैदानमा होमिनुभएको छ । विद्यार्थीकालमा अखिल (क्रान्तिकारी) मा आवद्ध भएर राजनीति सुरु गर्नुभएका गुरुङले स्थानीय तह गठनअघि माओवादीबाट जिल्ला विकास समितिमा संयन्त्रको सदस्य भएर समेत काम गर्नुभयो । मादीमा पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य र खानेपानी लगायतका विकासमा काममा डेढ दशकको समय खर्चिनुभएका उपाध्यक्षका उम्मेदवार गुरुङसँग गरिएको कुराकानी ।

प्रश्न : गठबन्धनबाट मादीमा उपाध्यक्षको साझा उम्मेदवार हुनुहुन्छ । चुनाव प्रचार कस्तो भइरहेको छ ?
जसरी कृषकहरुलाई असारमा धान रोप्ने र मंसिरमा धान धन्काउने चटारो हुन्छ, त्यसैगरी अहिले हामी उम्मेदवार र राजनीतिक दलहरुलाई समेत त्यस्तै भएको छ । सबै पार्टीलाई जनतामाझ जाने, चिनाउने, मत माग्ने र मादीको समृद्धि र उन्नतिमा लाग्न विजयी गराउन जनतामाझ जुटेका छौँ ।

प्रश्न ः गठबन्धन गरेर निर्वाचनमा होमिनु भएको छ, जनताको प्रतिक्रिया कस्तो पाउनु भयो ?
हाम्रो गठबन्धनलाई जनताले सकारात्मक रुपमा लिएका छन् । देशलाई संकट पर्दा जहिले पनि कम्युनिष्ट र काँग्रेस एक ठाउँमा रहेको अवस्था छ । गणतन्त्र, संविधान र संघीयता ल्याउन काँग्रेस कम्युनिष्ट मिलेको अवस्था छ । जसरी केन्द्रमा देश र संविधान बचाउन दुई वटा शक्ति मिलेका छन्, त्यसैगरी मादी गाउँपालिकालाई पनि विकासको अब्बल र नमूना पालिका बनाउन हामी दुई वटा शक्ति मिलेर अघि बढेका छन् । जनताबाट अपार माया र समर्थन मिलेको छ । गठबन्धनप्रति जनताको विश्वास छ ।
मादीमा भएको स्रोत साधनको सही प्रयोग, यहाँका खोलानाला, पर्यटकीयस्थल बेचिने अवस्था आएको छ, त्यसलाई रोक्ने र मादीका जनतालाई खुशी बनाउनका लागि अहिलेको गठबन्धन बनेको हो । हामी पाँच वर्ष कुर्सीमा बस्नका लागि र एउटा व्यक्तिलाई जिताउनका लागि गठबन्धन गरेका होइनौँ । परिवर्तन चाहने, मादीलाई विकासको नमूना बनाउन चाहने दलहरु एक भएको मात्र हो । गठबन्धन तलसम्म मिलेर गएको छ ।
प्रश्न : तपाईहरुका चुनावी प्रतिवद्धता के छन् ?

मादी नदी १ देखि १२ सम्म बगेको छ । जलस्रोतमा नदी छ । नेपालको पानी जनताको लगानी भन्ने सरकारको नारा भएपनि जनताले अधिकार पाएका छैनन् । जनताको पहुँच पुग्न सकेको छैन । हामीले जलस्रोतबाट अधिकतम लाभ लिएर पालिकालाई समृद्ध बनाउने योजना अघि सारेका छौँ ।
यसैगरी हाम्रो पालिका प्रकृति, संस्कृति र पर्यटनमा अग्रस्थानमा रहेको छ । संस्कृति र प्रकृतिले साथ दिएको छ । यसको विकासमा सही ढंगले योजना बनाएर अघि जाँदा मादीमा समृद्धि ल्याउन सकिन्छ । जनतालाई सडक पूर्वाधार, स्वास्थ्य, शिक्षा क्षेत्रलाई व्यवस्थित गर्ने, भौगोलिक रुपमा दुई भेगमा बाँडिएको मादीका जनतालाई सहज स्वास्थ्य उपचार सेवा पु¥याउने योजना छ ।
जनतालाई सहज उपचार सेवा दिने, स्वास्थ्यलाई जनताको पहुँचमा लैजाने, सडक, पुल, सिँचाई लगायतका योजना जनताका माझ लाने, कृषिलाई बजारीकरण, कृषि एम्बुलेन्स, जनतालाई उत्पादनमा लाने योजना हाम्रा छन् । पालिकालाई भ्रष्टाचार शुन्य बनाउँदै सुशासन कायम गर्ने, मुस्कानसहितको सेवा दिेने, गरिब, निमुखा जनतालाई करमा छुट दिने, बाढीपीडित र दैवीप्रकोप पीडितलाई उचित व्यवस्थापन गर्ने योजना अघि सारेका छौँ । जनताको मुहारमा खुःशी ल्याउने योजना हाम्रो गठबन्धनको छ ।

प्रश्न : मादीको निर्वतमान वडाध्यक्ष समेत हुनुहुन्छ । कार्यकाल कस्तो रह्यो ?
मादी–७ को वडाध्यक्ष र गाउँपालिकाको प्रवक्ता भएर जिम्मेवारी पूरा गर्ने अवसर मिल्यो । यसबीचमा गाउँपालिका केन्द्र तोक्न सकिएन । यसमा मुख्य नेतृत्वले बढी आत्मालोचना गर्नुपर्दछ । हामी पनि आलोचित हुन्छौँ । मादी ७ मा एक घर एक धारा बनाएका छ । टोल टोल बस्ती बस्तीमा सडक पुगेको छ । विद्यालयहरुमा स्मार्ट शौचालय, विज्ञान प्रयोगशाला, पोसाक वितरण, गरीब विद्यार्थीलाई होस्टल व्यवस्था ग¥यौँ ।
हाम्रो वडामा हस्पिटल बन्दै छ । वडा कार्यालय,स्वास्थ्य चौकी बनेको छ । महिला, दलितको सशक्तिकरणमा काम गर्न सफल भयौँ । कृषिको आधुनिकीकरण र यान्त्रीकरण गर्न सफल भयौँ । तरकारी पकेट बनेका छन् । आय आर्जनका क्षेत्रमा काम गरेका छौँ । सिक्लेस जाने बाटो धाकसम्म पिच बनेको छ । विजयपुर खोलामा मोटरेवल पुल बनाएका छौँ । मध्यपहाडी राजमार्गको एलाइनमेन्ट मादी–७ हुँदै पोखरा लैजाने गरी परिवर्तन गरेका छौँ ।
केन्द्रीय उर्जा मन्त्रालयबाट मादी नदीको पानी तानेर सिँचाईको योजना बनाएका छौँ । जनता सबै खुःशी छन् । म पनि खुशी छु । अब आगामी कार्यकालमा गाउँपालिकाको उपाध्यक्ष भएपछि अधुरा योजना अघि बढाउने बढाउने र समग्र मादीको उन्नति र विकासमा लाग्ने छु । जनताको भावना बुझ्दा विजयी हुन्छु भन्ने लागेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।