पोखरा महानगरपालिका–१३ का उम्मेदवारहरुले काँहुखोला र विजयपुर खोलाले निम्त्याउने जोखिमप्रति चिन्ता व्यक्त गरेका छन्।
ति खोलाले निम्त्याउने जोखिमलाई न्यूनिकरणका लागि आफूहरुको पहिलो काम हुने उम्मेदवारहरुले प्रतिबद्धता समेत जनाएका छन्।
एभरेस्ट एफएम ९३ मेघाहर्जको चुनावी सम्वाद कार्यक्रम ‘लोकल इलेक्सन’ मा फोनमार्फत बोल्दै महानगर १३ नं वडाका लागि नेपाली काँग्रेसबाट वडाध्यक्ष उम्मेदवार बनेका किरण बरालले खोला नियन्त्रणका लागि महानगरदेखि केन्द्रसम्मको पहल गर्न आफूसँग सामथ्र्य रहेको दाबी गरे।
त्यस्तै, नेकपा एमालेका वडाध्यक्ष उम्मेदवार बसन्त बरालले पनि फोनमार्फत कार्यक्रममा बोल्दै आफूले जिते घर र वस्ती डुबानबाट स्थानीयलाई मुक्त पार्ने प्रतिबद्धता जनाए।
‘खोलामा आउने बाढीका कारण वर्षेनी घर र वस्तीहरु डुबानमा पर्ने गर्दछ, मेरो पहिलो प्राथमिकता भनेको स्थानीय वडावासीलाई खोलाबाट आउने जोखिम र विपत्तीबाट बचाउनु हुनेछ। त्यसका लागि आवश्यक पहल थाल्नेछु।’
त्यतिमात्र होइन, महानगरको वडा नं १३ ग्रामीण भेग विजय आर्वा गाउँ छ। विजय आर्वा गाउँ भौतिक पूर्वाधारका हिसावले पछाडी परेको छ। गाउँमा जाने मोटरबाटो सम्पन्न हुन सकेको छैन। पोखरादेखि गाउँ जाने मोटर बाटोमा ढल निर्माण, पिच र कालोपत्रे गर्ने दुबै उम्मेदवारका साझा प्रतिबद्धता हुन्।
सो वडामा आधारभूत विद्यालयसहित ३ सामुदायिक विद्यालय र एक क्याम्पस छन्। ति शैक्षिक संस्थाहरुमा प्राविधिक शिक्षासहित अंग्रेजी माध्यममा अध्ययन, अध्यापनको थालनी गरेर गुणस्तरीय शिक्षा प्रदान गर्नु अर्को चुनौती छ। ति सामुदायिक विद्यालयहरुप्रति अभिभावक र विद्यार्थीको आकर्षण बढाउनु छ।
वडाभित्र एकमात्र उपस्वास्थ्य चौकी छ। आधुनिक उपकरणसहितको उपस्वास्थ्य चौकीबाट वडावासीलाई सर्व सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नु वडाको अर्को जिम्मेवारी छ।
विकास निर्माणका हिसावले महानगरको हिसावले यो १३ नं वडा अग्रस्थानमै छ। पाँच वर्षभित्र वडावासीले भौतिक पूर्वाधारमा केही विकास र समृद्धिको अनुभूती गरेपनि केही योजनाहरु पूरा हुन सकेको छैन। यसअघिका जनप्रतिनिधिले पूरा गर्न नसकेका बाँकी योजनाहरुलाई पूरा गर्ने यस पाली उम्मेदवारी दिएका प्रत्यासीहरुले प्रतिबद्धता जनाउँदछन।
नेकपा (एमाले) बाट उम्मेदवार बनेका बरालले आफूले जिते प्राथमिकताका आधारमा वडाको समृद्धि र विकासमा अविचलित लागि रहने प्रतिबद्धता जनाए।
आर्वा–विजय गाउँको समुन्नती र समृद्धिका लागि अग्रसरता, गाउँमा जाने मोटरबाटोको स्तरोन्नती, आधारभूत तथा सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षाको प्रबन्ध, उपस्वास्थ्य चौकीबाट निःशुल्क एवं सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने बरालका प्रतिबद्धताहरु हुन्।
नेकपा एमालेबाट उम्मेदवार बनेका बराल विद्यार्थीकालदेखि कम्युनिष्ट सिद्धान्तमा राजनीति गर्दै आएका छन्। तत्कालीन वाइएल (युवा लिग) हुँदै गाउँ पार्टी कमिटीको सेक्रेटरी र कास्की जिल्ला पार्टी कमिटी सदस्यको अनुभव बरालसँग छ। बराल, हाल नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीका सदस्य हुन्।
त्यसैगरी, नेपाली काँग्रेसबाट उम्मेदवार बनेका बरालले आफूले जिते पोखरा–१३ लाई नमुना वडाका रुपमा विकास गर्ने सुनाए।
वडाभित्रका निम्न वर्गीय वडावासीलाई निःशुल्क स्वास्थ्य बीमा, वडा कार्यालयबाट वडावासीले घरबाटै सेवा पाउने व्यवस्था, विजय–आर्वाको धार्मिक मठमन्दिरको संरक्षण एवं पुनर्निर्माण गरी आर्वालाई पर्यटकीय हबका रुपमा विकास र वडाका टोल–टोल र चोक–चोकमा सीसी क्यामेरा जडान गर्ने बरालको प्रतिबद्धता छ।
नेविसंघको जिल्ला उपाध्यक्ष समेत बनेका बराल अष्ट्रेलियको ९ वर्षे बसाईमा जनसम्पर्क कमिटीका महामन्त्री समेत बनेका थिए। हाल, बराल नेपाली काँग्रेस कास्की २ ‘ख’ का निर्वाचित प्रतिनिधि सदस्य हुन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







