प्रदेश र सङ्घीय निर्वाचनसम्मै गठबन्धन: अध्यक्ष दाहाल


     एभरेस्ट आवाज    
     वैशाख २५ गते २०७९ मा प्रकाशित




फाइल तस्विर : पुष्प कमल दाहाल प्रचण्ड अध्यक्ष, नेकपा माओवादी केन्द्र

पोखरा । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको सत्ता गठबन्धन स्थानीय तहको निर्वाचनसम्म मात्र नभएर आगामी प्रदेश र सङ्घीय निर्वाचनसम्म कायम रहने बताएका छन् ।

सत्तारुढ पाँच दलीय गठबन्धनले आज पोखरामा आयोजना गरेको चुनावीसभामा उनले गठबन्धन जन्मने दिनदेखि नै टुटाउने र यसलाई अघि बढ्न नदिने प्रयास भएका भन्दै उनले गठबन्धनको निरन्तरतामा जोड दिए ।

उनले भने, “राष्ट्र, संविधान र गणतन्त्रको रक्षाका लागि अघि बढेको गठन्धनलाई विभाजित गर्ने षड्यन्त्र भइरहेका छन्, गठबन्धनका शक्तिहरुले धेरै मेहनत र अप्ठ्यारोसँग जुधेर अहिलेको गठबन्धनलाई अघि बढाउनुपर्दछ, स्थानीय चुनावमा मात्र होइन, भोलि प्रदेश र सङ्घीय चुनावसम्म लैजानु आवश्यक छ ।”

अध्यक्ष दाहालले देशमा राजनीतिक स्थिरता र आर्थिक विकासको नयाँ युगको सुरुआत यही गठबन्धनबाटै गर्ने सङ्कल्प लिइएको बताए । संविधान, लोकतान्त्रिक गणतन्त्र, सङ्घीयता, समानुपातिक समावेशीको रक्षाका लागि गठबन्धनको जन्म भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले गठबन्धन गरेर प्रतिगमन र प्रतिक्रान्तिकारीका विरुद्ध सङ्घर्ष नगरेको भए देश दुर्घटनामा परिसक्ने बताए ।

उनले, “देशलाई प्रतिगमन र निरङ्कुशताबाट बचाउननै यो गठबन्धनको जन्म भएको हो ।” देशका छ महानगर र ११ उपमहानगरमा गठबन्धनका साझा उम्मेदवार छान्न सजिलो नभए पनि सबैले देशको समग्र राजनीतिक स्थितिलाई विचार गरेर नेपाली जनताको भाग्य र भविष्यप्रति इमान्दार भएर निर्णय उनले बताए।

गठबन्धनका साझा उम्मेदवारलाई विजयी गराउन उनले मतदातासमक्ष आग्रह गर्नुभयो । वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा पोखरा महानगरमा गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्य प्रमुखमा र नेपाली कांग्रेसका कोपिला रानाभाट उपप्रमुखको उम्मेदवार छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।