पोखरा महानगरपालिकामा गठबन्धनका साझा मेयर पदका उम्मेदवार धनराज आचार्यले पृथ्वीचोक बसपार्कलाई आधुनिक बसपार्कको रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
आइतबार पोखरा ९ को चुनावी आम सभामा बोल्दै उनले गठबन्धन सरकारले जितेको २ वर्ष भित्रै सिटी बसपार्क बनाउने बताए।
उनले पोखरा महानगरपालिकालाई सुव्यवस्थित महानगर बनाउँदै पोखरा ९ मा रहेको अव्यवस्थित बसोबासलाई व्यवस्थित गराउने जिम्मेबारीका साथ आफू चुनावी मैदानमा होमिएको उल्लेख गरे।
उनले पोखराको ल्याण्डफिल साइडको व्यवस्थापन गरी अन्तराष्ट्रिय विमानस्थललाई चाँडो संचालन गर्न पहल गर्ने बताए।
उनको प्रतिबद्धता छ, ‘पोखराको फोहोर व्यवस्थापन गर्नुपर्ने आवश्यकता छ। ल्याण्डफिल साइडको उचित व्यवस्थापन गर्न सकिएन भने अन्तराष्ट्रिय विमानस्थल चल्दैन। विमानस्थल नचल्दा हामी ऋणमा पर्छौं। त्यसैले यसको शिघ्र संचालनमा जोड दिनेछौं।’
उनले पोखरा ९ मा अव्यवस्थित रुपमा बसेका नागरिकलाई हिँजोको सरकारले लालपुर्जाको कथा सुनाएपनि व्यवस्थापन गर्न नसकेको आरोप लगाए।
गठबन्धनको सरकारलाई महानगरमा जिताउँदा सो समस्या टर्ने गरी काम गर्ने प्रतिबद्धता उनको छ। उनले भने, ‘अव्यविस्थत बसोबासलाई व्यवस्थित गर्न उच्च भूमि सुधार आयोगसँग समन्वय गरी समस्याको समाधान गरिनेछ। लालपुर्जाको कथालाई हामी पूरा गर्नेछौं। मत दिएर विजय बनाइदिनुहोस्।’
बसपार्कको जग्गा बसपार्कलाई नै दिने र मुआब्जा दिएर वा सट्टापट्टी गरेर व्यवस्थित गरिने उनको भनाई छ।
पोखरा आसपासका गाउँमा बस्ने नागरिकलाई घरबाटै आउन जान सुविधा हुनेगरी बसको व्यवस्था गरिने भनाई उनको छ।
गठबन्धनको सरकार आएमा डाँडाकाँडामा बसोबास गर्नेहरु पोखरामा डेरा गरेर बस्नुपर्ने स्थिति नआउने उनले बताए।
शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटनको क्षेत्रमा अहिलेसम्म नभएका कामहरु गर्दै गठबन्धन सरकार अगाडि बढ्ने प्रतिबद्धता उनको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







