स्थानिय निर्वाचन नजिकिएसंगै मतदाता धमाधम मनाङ फर्किदै


     एभरेस्ट आवाज    
     वैशाख २६ गते २०७९ मा प्रकाशित




मनाङ । वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा मतदान गर्नका लागि मनाङका मतदाता घर फर्कन थालेका छन् । त्यहाँका अधिकांश मतदाता जिल्ला बाहिर बसोबास गर्ने भएकाले मतदानका लागि उनीहरु गाउँ फर्कन लागेका हुन् ।

मनाङका मतदाता काठमाडौँ, पोखरालगायत ठूला सहरी क्षेत्रमा बसोबास गर्ने भएकाले मतदानका लागि हाल जिल्ला फर्किन थालेको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जानकारी दिए । उनका अनुसार अधिकांश मनाङवासी बाहिरी जिल्लामा बसोबास गरे पनि उनीहरुको मतदाता नामावली मनाङमै रहेको छ ।

अहिले विशेषगरी माथिल्लो मनाङस्थित मनाङ ङिस्याङ, नार्पाभूमि र चामे गाउँपालिकाका मतदाता फर्किरहनुभएको उनले बताए। सदरमुकामस्थित चामे गाउँपालिका–४ र ५ वडाका अधिकांश स्थानीय काठमाडौँमा बसोबास गर्ने गरेका छन् । चामे गाउँपालिका–४ को सरस्वती तामाङ मतदानका लागि जिल्ला फर्केको उनले बताए ।

पाँच बर्षपछि जनप्रतिनिधि छनोट गर्ने निर्वाचनमा मतदान गर्नकै लागि अहिले गाउँ फर्केको उनको तर्क छ । जिल्ला बाहिर बसोबास गर्ने छिमेकी गाउँका स्थानीय पनि मतदानका लागि आउने क्रम रहेको उनले बताए ।

तामाङजस्तै मतदानका लागि नार्पाभूमि गाउँपालिका–४ का सोनाम तेन्जिङ लामा र मनाङ ङिस्याङ गाउँपालिका–६ का सागर गुरुङले पनि मतदान गर्न जिल्ला फर्किएको बताए ।

नार्पाभूमि गाउँपालिकाको नार, फु, मेता, च्याखुलगायतका गाउँ र ङिस्याङ गाउँपालिकाका पिसाङ, खाङ्सार, भ्राका, ङावल लगायतका क्षेत्रका स्थानीयवासी फर्किने क्रम चलिरहेको हो ।

मनाङ ङिस्याङ गाउँपालिकाको मतदाता सङ्ख्या तीन हजार ५३५ रहेको छ भने नार्पाभूमि गाउँपालिकामा ४४८ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय मनाङले जनाएको छ ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।