पाल्पामा पत्रकार, शिक्षक र स्वास्थ्यकर्मी चुनावी मैदानमा


     एभरेस्ट आवाज    
     वैशाख २७ गते २०७९ मा प्रकाशित




पाल्पा । पाल्पामा स्थानीय तहको निर्वाचनमा पत्रकार, शिक्षक र स्वास्थ्यकर्मी चुनावी मैदानमा छन् । यही वैशाख ३० गते हुने निर्वाचनका लागि जिल्लामा गाउँपालिका अध्यक्ष र वडाध्यक्षमा उनीहरु उम्मेदवार बनेका छन् ।

नेपाल पत्रकार महासङ्घ पाल्पाका निवर्तमान अध्यक्ष राजेशकुमार अर्याल नेकपा ९एमाले०बाट तानसेन नगरपालिका–९ को वडाध्यक्षमा उम्मेदवार बनेका छन् । एमालेबाटै तानसेन–८ मा सोमनाथ अर्याल र ओमप्रकाश गैरे बगनासकाली गाउँपालिका–५ को वडाध्यक्षको उम्मेदवार बनेका छन् ।

बगनासकाली गाउँपालिका अध्यक्षमा स्वतन्त्रबाट अम्बिका पाण्डेले उम्मेदवारी दिएका छन् । आसन्न निर्वाचनमा दुई प्रधानाध्यापक र दुई स्वास्थ्यकर्मी राजिनामा दिएर चुनावी प्रतिस्पर्धामा छन् ।

माथागढी गाउँपालिकामा एमालेबाट पालिका अध्यक्षमा सिअहेबबाट राजिनामा दिनुभएका यमबहादुर चिदी र उपाध्यक्षमा अनमीबाट राजिनामा दिनुभएकी विष्णुमाया लुङ्चे उम्मेदवार बनेका छन् ।

राजीनामा दिनुअघि चिदी जिल्लास्थित स्वास्थ्य बीमा बोर्ड प्रमुखको रुपमा कार्यरत थिए । लुङ्चे भने माथागढी गाउँपालिकाको गोठादी स्वास्थ्य चौकीमा अनमी पदमा कार्यरत रहेका थिए ।

पूर्वखोला–५ स्थित गणपति माविका प्रधानाध्यापक विष्णु पल्ली शिक्षकबाट राजिनामा दिएर एमालेबाट वडाध्यक्षमा उम्मेदवार बनेका हुन् ।

रामपुर नगरपालिका–९ को प्रगतिशील प्राथमिक विद्यालयका प्रधानाध्यापक नेत्र गाहा पनि एमालेबाट रामपुर–९ मा वडाध्यक्षको उम्मेदवार बनेका हुन् ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।