ढुक्क भएर मतदान गर्नुसः प्रजिअ आचार्य

- कास्कीमा निर्वाचनको पूर्ण सुरक्षा बन्दोवस्त अपनाइएको छ


     एभरेस्ट आवाज    
     वैशाख २८ गते २०७९ मा प्रकाशित




कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले ढुक्क भएर मतदान गर्न जिल्लाका आम मतदातासमक्ष आग्रह गरेका छन्।

एभरेस्ट एफएमको चुनावी सम्वाद कार्यक्रम ”पेटबोली” मा बोल्दै आचार्यले यस पालीको स्थानीय निर्वाचनका लागि संपूर्ण सुरक्षा व्यवस्था मिलाइएको प्रजिअ आचार्यले स्पष्ट पारे।

जिल्लाभित्रको निर्वाचन कार्यक्रमका लागि संपूर्ण तयारी सकिएको आचार्यको भनाई छ। निर्वाचनमा असल नेतृत्व छनोट गर्न पनि आचार्यले जोड दिए।

‘आफ्नो नेतृत्व आफैलै छनोट गर्न पाउने अधिकार जनतामा लोकतन्त्रको सुन्दर पक्ष हो। आफूलाई मनपर्ने प्रतिनिधि र एजेण्डालाई रोज्नुहोस। तत्कालको फाइदा पनि असल प्रतिनिधि को हो ? चिन्ने प्रयास गर्नुहोस। र, उसैलाई जनप्रतिनिधि बनाउनुहोस,’ आचार्यले भने।

प्रजिअ आचार्यले भने, ‘कास्कीका १५० वटै मतदानस्थलमा मतदान अधिकृतसहितको कर्मचारी र सुरक्षा टोली पुगिसकेका छन्। यसअघि नै नेपाली सेनालाई खटन–पटन गरिसकेका छौं। नेपाल प्रहरी र सशस्त्र प्रहरी बल पनि आ–आफ्नै ठाउँमा पुगिसकेको अवस्था छ। राष्ट्रिय अनुसन्धान पनि संयन्त्रअनुसार परिचालित छन्। सुरक्षा संयन्त्रका टोलीहरु व्यापक रुपमा खटि सकेका छन्।’

कास्कीभित्र १५० मतदानस्थल र ३३६ वटा मतदान केन्द्र छन्। निर्वाचन आयोग गण्डकी प्रदेशबाट मतदानका लागि आवश्यक सामग्री लिएर टोली सबै मतदान स्थल र केन्द्रहरुमा पुगिसकेको जानकारीमा आएको आचार्यले दाबी गरे।

स्थानीय तह निर्वाचन २०७९ अब २ दिनमात्रै बाँकी छ। मंगलबार राती १२ बजेबाट मौन अवधि सुरु भएको छ। मौन अवधिमा राजनीतिक दल वा उम्मेदवारले प्रचार प्रसार वा कुनै लोभ प्रपञ्च देखाउन पाउँदैनन्। प्रचार प्रसारको अवधि त सकियो, तर, अब मतदातालाई आकर्षित गर्ने समय मौन समय हो भन्ने चलन पनि छ। यही बेलामा मतदातालाई आकर्षित गरिन्छन्। पैसा पनि यही मौन अवधीकै समयमा बाँडिन्छन् भन्ने गुनासाहरु छन्।

उम्मेदवारहरु मतदाताकहाँ गएर मत माग्ने अभियान सकेका छन्। आफ्ना एजेण्डाहरु मतदातासामु प्रस्तुत गरिसकेका छन्। मतदाताले पनि सबै उम्मेदवारहरुका कुरा सुनिसकेका छन्। सबै उम्मेवार तथा राजनीतिक दलका घोषणापत्र, प्रतिबद्धतापत्रसहितको एजेण्डा सुनिसकेका छन्।

प्रमुख जिल्ला अधिकारी आचार्य यसबारे स्वयं मतदाता नै सचेत बन्नुपर्नेमा जोड दिन्छन्। ‘आफूमाथि शासन गर्ने र आफूहरुको नीति निर्माण गर्ने प्रतिनिधिलाई आफूले चुन्ने अवस्थाको पनि कडी हो यो निर्वाचन प्रक्रिया। स्वयं मतदाताहरु यसमा झुक्किनु हुँदैन। कोही, कसैको लोभ, प्रपञ्चमा परेर सही उम्मेदवार रोज्ने अवसरबाट बञ्चित हुनुहुँदैन,’ आचार्यले स्पष्ट पारे।

उनले असल राजनीतिक संस्कारबाटै देशको उन्नती र भविष्य हुने औंल्याएका छन्।

मौन अवधि सुरु भइसकेकाले आचार संहिता विपरित कोही कसैले मतदातालाई अवान्छित ढंगले प्रभावित पार्ने प्रयास गरेको जानकारी पाएमा नजिकैको मतदान केन्द्रका सुरक्षा संयन्त्र, मतदान अधिकृतलाई सिकायत गर्न समेत प्रजिअ आचार्यले आग्रह गरेका छन्। यदि, कुनै उम्मेदवारले अवान्छित तरिकाले मतदातालाई प्रभावित पार्ने खालका गतिविधि गरेको पुष्टि भएमा उसको उम्मेवारी रद्द गर्ने अधिकार मतदान अधिकृतसँग रहने समेत बताए। निर्वाचन आयोगले गर्न सक्ने अधिकार मतदान अधिकारीसँग हुन्छ।

निर्वाचन आचारसंहिताको सवालमा केन्द्रीयस्तरको निर्वाचन आयोगको अनुगमन समिति छ। जिल्लातहमा जिल्लास्तरीय अनुगमन समिति छ। पालिका तहमा पालिकास्तरीय निर्वाचन आचारसंहिता अनुगमन समिति छ।

विगतको निर्वाचन भन्दा यसपालीको निर्वाचनमा सुधार छ। निर्वाचन प्रक्रियामा राम्रा अभ्यासहरु भएका छन्। मतदातासँगै राजनीतिक दल, उम्मेदवार सचेत छन्। अहिलेको निर्वाचन सभ्य र शिष्ट पनि छ।

कास्कीमा निर्वाचन प्रक्रिया सुरु भएसँगै केही आचारसंहिताको उलंघन गरेको पाइएको बताए। चुनावी प्रचार प्रसारमा प्रयोग गरिएका १३ ठूला माइकहरु जफत गरी कारवाही समेत गरेको आचार्यले उल्लेख गरे। आचारसंहिता विपरित राहत वितरणमा समेत प्रशासनले रोक लगाएको अवस्था रहेको आचार्यको भनाई छ।

प्र.जि.अ.आचार्यले निर्बाचनको दिन बिहान ६ बजेबाट राती १२ बजेसम्म सवारी साधन बन्द रहने पनि बताए । नियम अनुसार पास लिनेले मात्र चलाउन पाउंछन् ,उनले भने ” मतदान गर्न जांदा मतद्ता परिचय वा नागरिकता लिएर जानु होला ”। मतदान कार्य सॅ्पन्न गुने बित्तिकै निर्बाचन कार्यालयमा मतपेटिका ल्याई सके पछि मतगणना शुरु गर्ने उनले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।