स्याङ्जाको फेदीखोलामा ६६.९० प्रतिशत मतदान, मतगणनाका लागि सर्वदलिय बैठक बस्दै


     एभरेस्ट आवाज    
     वैशाख ३० गते २०७९ मा प्रकाशित




स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिकामा शुक्रबार सम्पन्न स्थानिय तह निर्वाचनमा ६६ दशमलव ९० प्रतिशत मत खसेको छ ।

पालिकाका विभिन्न निर्वाचन केन्द्र मार्फत आठ हजार १३९ जनाले मतदान गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय फेदीखोला गाउँपालिकाले जनाएको छ ।

पालिकामा रहेका १२ हजार १६५ मतदाता मध्य उनीहरुले मतदान गरेका हुन् । कार्यालयका अनुसार वडा नम्वर १ मा एक हजार ४ सय ३२, वडा नम्वर २ मा २ हजार ४८६, वडा नम्वर ३ मा एक हजार ३०३, वडा नम्वर ४ दुई हजार १३० र वडा नम्वर ५ मा ७९४ मत खसेको कार्यालयले जनाएको छ ।

फेदीखोलामा सबै मतदान केन्द्रबाट मतपेटिका संकलन भइसकेको र साढे ८ बजे सर्वदलिय बैठक बसेर मतगणना प्रक्रिया शुरु गरिने मतदान अधिकृत विनोद पौडेलले एभरेस्ट आवाज डटकमलाई जानकारी दिए ।

गाउँपालिकामा अध्यक्षका चार सहित ७१ जना चुनावी प्रतिस्पर्धामा छन् । गाउँपालिकाको अध्यक्षका लागि नेकपा एमालेबाट घनश्याम सुबेदी, गठबन्धनबाट नेपाली कांग्रेसका लक्ष्मी प्रसाद बराल (बद्री), नेकपा एकिकृत समाजबादीका अर्जुन खत्री र मंगोल नेश्नल पार्टीबाट शेरबहादुर गुरुङ छन् । अध्यक्षमा सुबेदी र बरालविचनै कडा प्रतिपर्धा हुने देखिएको स्थानिय नेता कार्याकर्ताहरुले जनाएका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।