अझै शुरु भएन पोखरा महानगरपालिकाको मतगणना


     एभरेस्ट आवाज    
     वैशाख ३१ गते २०७९ मा प्रकाशित




पोखरा । पोखरा महानगरपालिकाको मतगणनामा ढिलाई भएको छ । हिजो सम्पन्न सम्पन्न पोखरा महानगरपालिकाको निर्वाचनको मतगणना शनिबार दिउँसो २ बजेबाट गर्ने भनिएपनि हालसम्म पनि शुरु हुन नसकेको हो ।

मतगणनाका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले दलका प्रतिनिधिहरुलाई बोलाई रहेको भएपनि दलहरुले प्रतिनिधि चयनमा ढिलाई गर्दा मतगणना शुरु हुनै नसकेको जनाइएको छ ।

यसअघि आज पूर्वाह्न बसेको सर्वदलीय बैठकले मतगणना दिउँसो २ बजेबाट शुरु गर्ने निर्णय गरेको थियो ।

सर्वदलीय बैठकले मतगणनाका लागि प्रतिनिधि पठाउने समय दिउँसो १२ः३० बजेसम्मको समयसीमा निर्धारण गरेको थियो । त्यस्तै, वडा अनुसार मतपेटिका मिलाउने समय दिउँसो १ः३० बजेसम्म र मतगणनाका लागि प्रतिनिधिहरुको नाम र फोटो उपलब्ध गराउने समय १ बजेसम्म तोकिएको थियो ।

पोखरा महानगरपालिकाको हिजो सम्पन्न मतदानमा ६८.९५ प्रतिशत मत खसेको थियो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार पोखरा महानगरपालिकामा कुल २ लाख ७ हजार ७ सय १३ मतदाता रहेकोमा पोखरा महानगरपालिकामा १ लाख ४३ हजार २ सय २६ मत खसेको छ । जसमा पुरुष ६६ हजार ५ सय ६६ र महिला ७६ हजार ६ सय २० मत खसेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।