अब, रुपाको स्वरुप

- उत्साहित छु, दोस्रो पटकको जितले थप जिम्मेवारी बढाएको छ


     एभरेस्ट आवाज    
     जेठ ३ गते २०७९ मा प्रकाशित




नेकपा (एमाले)ले यसपालीको स्थानीय निर्वाचनमा कास्कीको रुपाकोट गाउँपालिका रक्षा गरेको छ। एमालेले पुनः यस पटकको स्थानीय निर्वाचनमा पनि यस पालिकामा कब्जा जमाएको हो।

पालिकाको अध्यक्ष पदमा नवराज ओझा दोस्रो कालका लागि निर्वाचित भए। ओझाले निकटतम प्रतिद्वन्द्वी गीमाया गुरुङलाई १६१२ को मतान्तरले पछि पार्दै जित सुनिश्चत गरे। ओझाले ५ हजार ७ सय ४९ मत ल्याए। निकटतम प्रतिद्वन्द्वी गुरुङले ४ हजार १ सय ३७ मत ल्याइन्।

रुपाकोटको वडा नं १ बाहेक सबै वडा एमालेले क्लिन स्वीप गरेर जित्यो। वडा नं १ भने नेपाली काँग्रेसले जित्यो। बाँकी वडा नं २, ३, ४, ५, ६ र ७ नं वडामाथि एमालेको पकड रह्यो। यसअघिको निर्वाचनमा ७ वटा वडामध्ये ४ वटा वडा जितेको एमालेले यसपाली ६ वडा जित्यो।

रुपाको उपाध्यक्ष पदमा पनि नेकपा एमालेकै लालसुब्बा गुरुङ दोहोरिएकी छन्। लालसुब्बाले काँग्रेसका नारायण श्रेष्ठलाई ११ सय ९९ सय मतान्तरले पराजित गर्दै विजयी भएकी हुन्। गुरुङले ५ हजार ३ सय ९२ मत पाउँदा काँग्रेसका श्रेष्ठले ४ हजार १ सय ९३ मत प्राप्त गरे।

रुपाकोट पालिकाका लागि पुनः उम्मेदवारी टिकट पाएर जित हात पारेका ओझा पार्टी र आफ्नो जितले उत्साहित छन्। यसअघिको निर्वाचनमा पनि उक्त पालिकाबाट जित निकालेका ओझा यसपालीको जितल झनै थप उत्साहित बनेका हुन्। उनी उत्साहित मात्र छैनन्, उनले आफूलाई थप जिम्मेवारी थपेको महसुस गरेका छन्।

उनले भने, ‘जितले उत्साहित बनाएको छ। थप उत्साहित छु। उत्साहित सँगसँगै थप जिम्मेवारी बनाएको छ। जिम्मेवारी बोध गरेको छु।’

एभरेस्ट एफएमको ‘पेटबोली’ कार्यक्रममा मंगलबार बिहान बोल्दै ओझाले अबको रुपामा बाँकी रहेको अधुरा पूर्वाधारलाई पूरा गर्ने संकल्प गरेका छन्। खानेपानी, बिजुली बत्ती र बाटाघाटा लगायत निर्माणका बाँकी रहेका कामलाई व्यवस्थित र पूरा गर्ने उनले उल्लेख गरे।

शिक्षा, स्वास्थ्य र रोजगारीका लागि पालिका छाडेर बाहिर जाने क्रमलाई रोक्ने ओझा र उनको टिमका लागि पहिलो प्राथमिकतामा परेको छ। स्वरोजगारको योजना ल्याउने उनले स्पष्ट पारे। कृषि, पर्यटन, मल्टिपल कम्पनी र अन्य स्थानीय हिसावले स्वरोजगारका योजना ल्याउने उनले सुनाए।

‘पर्याप्त रुपमा रोजगारी सिर्जना गर्ने हाम्रो प्रयास रहन्छ। पर्यटकीय हिसावले पनि रुपा महत्वको छ। खेलकुद मैदान, म्युजियम र सभाहल बनाउने हाम्रोा लक्ष छ। ठाउँठाउँमा अर्गानिक भिलेजहरु बनाउने उद्देश्य छ। रुपामा उत्पादित कृषि उत्पादनलाई पोखरा र दमौली बजारसम्म लैजान गाउँपालिकाले जिम्मेवारी लिने लगायतका विविध योजनाहरु छन्,’ ओझाले भने।

विदेशिएका युवाहरुलाई स्वदेशमै फर्काउने र तालिमको व्यवस्थासहित उनीहरुलाई यहीँ रोजगारी दिने गाउँपालिकाले जिम्मेवारी बोध गरेको उनको कथन छ। प्राविधिक सहयोग, अनुदान, बैंकहरुमार्फत सम्झौता गरेर लगानी गर्ने अवसर उलपब्ध गराएर उनीहरुलाई काम गर्ने वातावरण सिर्जना गर्ने पालिकाको अर्को जिम्मेवारी रहेको उनले बताए।

महिला, दलित, अपाङ्ग, मुस्लिम, दलित सबै जातजातीको पेशा र व्यवसायको संरक्षण र सम्बद्र्धनसहित आधुनिकीकरण गरेर उनीहरुलाई अगाडी लिएर जाने पालिकाले योजना बनाएको छ।

रुपाको प्राय सबै ठाउँमा ‘एक घर, एक धारा’ पुगिसकेको छ। रुपमा ‘एक घर, एक धारा’ को योजना करिब ९५ प्रतिशत पूरा भएको छ। बाँकी रहेको ५ प्रतिशत ठाउँमा पनि योजना पुगिसकेको छ, त्यो छिट्टै पूरा हुने उनले प्रतिबद्धता जनाए। रुपमा अवको योजना ‘स्वच्छ खानेपानी’ बनाउने हो। र, ५० औं वर्षसम्मलाई पुग्ने दीर्घकालीन रुपमा खानेपानीको योजना संचालन गर्नु रहेको छ।

बाटा–घाटाका रुपमा मुख्य सडकहरु पीच र कालोपत्रे भएका छन्। कालोपत्रे गर्न बाँकी रहेका बाटोहरुलाई पनि बजेट व्यवस्थापन गर्दै पीच गर्ने पालिकाको योजना छ।

रुपाकोटका मतदाताले आफूलाई काम गर्ने जनप्रतिनिधिका रुपमा मुल्यांकन गरेको उल्लेख गरे। यसअघिका जनप्रतिनिधिले राम्रो काम गरेका कारण पुनः आफूहरुलाई जनताले जिताएको ओझाले दाबी गर्छन्। रुपाको विकासमा संपूर्ण राजनीतिक दल, नेकपा एमाले, जनप्रनिधि र समग्र रुपाकोटका जनताबाट संभव रहेको ओझाले आफ्नो धारण राख्छन्।

‘राम्रा मान्छेलाई रिपिट हुन पनि सहज हुँदो रहेछ। पार्टीले पनि टिकट दिँदो रहेछ। जनताले पनि पत्याउँदा रहेछन्। मतदाताले पनि जिताउँदा पनि रहेछन्। यहाँका जनताले सही मुल्यांकन गरे। चुनावमा जिताए पनि,’ उनले भने।

अन्य पालिकाहरुमा गठबन्धनले जितिराख्दा रुपामा एमालेको जितले पार्टी पंक्तिमा राम्रो सन्देश दिएको उनले बताए। रुपाको विकासमा आफूहरुले इमान्दारितासाथ काम गरेको उनले सुनाए। सत्ता स्वार्थका लागि गठबन्धन भएको उनको आरोप थियो।

‘जसले जे जिम्मेवारी लिएको छ, त्यो जिम्मेवारी पूरा गर्न सक्यो भने सफलता हात पार्न सकिन्छ। पार्टीका कार्यकर्ताहरुले इमान्दारिताका साथ पार्टी बनाउन लाग्यो भनेपनि सफलता हात पर्दछ। एमालेका कार्यकर्ताहरु इमान्दार छन्। एमाले पार्टीप्रति जनताको आकर्षण छ। जनतालाई बुझाउन सक्नु पर्दछ।’

ओझाको धारणामा एमालेको सिंगो पार्टी पंक्ति, जनता र बुद्धिजीवीहरु रुपमा टिमलाई जिताउनेतर्फ लागे। रुपामा राम्रो काम गरेकै आधारमा पार्टीले यही टिमलाई नै अगाडी बढायो। उम्मेदवारीका विषयमा तल्लो पार्टी पंक्तिलाई जिम्मा दियो। र, कार्यकर्ताले पनि यही टिमलाई नै सर्वसम्मत अघि बढायो। चुनावमा पैसा खर्च गरिएन। चुनाव पैसाले भन्दा पनि इमान्दारिताका साथ ठाउँको विकास गरेर लैजान सकिन्छ भन्ने उद्देश्यले चुनावमा होमियो। पार्टीका सदस्य तथा कार्यकर्ता हरेकलाई आफू नै चुनाव लडेको हो भन्ने अनुभूती सहित चुनावको प्रचार प्रसारमा लगाइयो।

गाउँपालिकाको निर्वाचनमा यसपाली राजनीतिक संस्कार प्रस्तुत गरेको ओझाले उल्लेख गरे। आचारसंहितामा रहेर चुनाव लडेको उनको दाबी थियो। अघिल्लो पटकको निर्वाचनमा टी–सर्ट, टोपी बनाए। ठाउँठाउँमा भोज भतेर गरे। तर, यसपालीको निर्वाचनमा भने चुनावी प्रचारका लागि कुनैपनि लोगो, टि–सर्ट, क्याप नछापेको उनको भनाई छ। ओझाले अघिल्लो पटकको चुनावमा भन्दा यसपालीको चुनावमा २५ प्रतिशतले खर्च घटाएको समेत सुनाए। यो पालीको चुनावमा ओझाले एउटा खसी ढालेनन्। एउटा पनि भोज, भतेर गरेनन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।