पोखरा । नेकपा एमालेका केन्द्रीय सदस्य तथा युवा संघका पूर्व केन्द्रीय अध्यक्ष राजिव पहारीले पार्टीका केही व्यक्तिहरुले आफूमाथि अन्तर्घातको आरोप लगाएर राजनीतिक अपराधिकरण गरेको आरोप लगाएका छन् ।
नेकपा एमाले कास्की जिल्ला सहईञ्चार्ज तथा गण्डकी प्रदेश सभा सदस्यसमेत रहेका पहारीले आफूमाथि मिथ्या आरोप लगाएर राजनीतिक अपराधिकरण गरेको बताएका हुन् ।
पहारीमाथि पोखराका मेयर पदका उम्मेदवार कृष्ण थापालाई हराउन अन्तर्घातको गरेको आरोप लागेको छ । एमालेका संगठन प्रमुख खगराज अधिकारी समूहले पहारीले अन्तर्घात गरेको आरोप लगाएको हो ।
सांसद पहारीका स्वकीय सचिव मनोज पहारीले पोखरा–३३ का एक क्लवका अध्यक्षसँग उम्मेदवार थापालाई हराउनका लागि नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यमार्फत पैसा दिलाईदिने आश्वासन दिएको सो समूहको आरोप छ ।
केहि दिन अघि मनोज र क्लवका अध्यक्षबीचको १३ मिनेट ५४ सेकेण्ड लामो अडियो सम्वाद सार्वजनिक भएको थियो । मनोजले भने उक्त सम्वाद आफ्नो नभएको जिकीर गर्दै आएका छन् ।
सांसद पहारीले भने सो अडियो सम्वाद सहि भएनभएको बारे खुलाएका छैनन् । तर त्यसमा संलग्न मनोज पहारी आफ्नो स्वकीय सचिव नभएको उनले दाबी गरेका छन् ।
उनले भनेका छन्,‘अडियो सम्वादमा कुरा गरेका भनिएका मनोज पहारी मेरो सचिवालयमा वा सहयोगीको रुपमा कहिल्यै नरहेको तथ्य जानकारी गराउँदछु । यसर्थ उहाँले गरेका सम्वादसँग मलाई जोड्न खोज्नु नियोजित हिसावले मलाई फसाउने षडयन्त्र बाहेक अरु केहि होईन ।’ मेयरका उम्मेदवार थापालाई जिताउन आफू अहोरात्र खटिरहेको भन्दै उनले भनेका छन्,‘मिथ्या कुराहरु जोडेर यसरी कपोलकल्पित आरोप लगाउनु मेरो चरित्र हत्या गर्ने प्रपञ्च बाहेक अरु केहि होईन ।’ उनले आफूमाथि नियोजित प्रचार भइरहेको भन्दै भनेका छन्,‘जिम्मेवारीमा नरहेका दुई व्यक्तिका नीजि सम्वादलाई मुद्धा बनाएर राजनीतिलाई अपराधिकरण गर्ने यस्ता प्रवृत्तिप्रति सजगता अप्नाउन र यस्ता अफवाहहरुको पछि नलाग्न समग्र पार्टी पंक्ति र मेरा शुभचिन्तक समक्षक म हार्दिक अपिल गर्दछु ।’
सांसद पहारीले आफूमाथि लागेको आरोपबारे छानविन गर्न पार्टीसँग मागसमेत गरेका छन् । उनले भनेका छन्,‘ममाथि लगाउन खोजिएको आरोप पुष्टि गर्न चुनौतिसमेत दिन चाहन्छु । साथै यस विषयमा पार्टीले छानविन कमिटी बनाई सत्यतथ्य पत्ता लगाई यथार्थ सार्वजनिक गर्न माग गर्दछु ।’ उनले छानविनमा आफू दोषी ठहरिए जस्तोसुकै कारवाही भोग्न तयार रहेको जनाएका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, भदौ १२ पोखरामा बाढी पीडितको शव व्यवस्थापन गर्न सकस भएको…





