मस्र्याङ्दीमा पुन: एमाले


     एभरेस्ट आवाज    
     जेठ ५ गते २०७९ मा प्रकाशित




मनाङ । मनाङ जिल्लासँग सिमाना जोडिएको मस्र्याङ्दी गाउँपालिकाको अध्यक्षमा पुनः नेकपा (एमाले)का अर्नुन गुरुङ निर्वाचित भएका छन् । सत्ता गठबन्धनतर्फ नेपाली कांग्रेसका उम्मेदवार लोकनाथ घिमिरेलाई एक हजार ७६१ फराकिलो मतअन्तरले हराउँदै गुरुङ पुनः अध्यक्षमा निर्वाचित भएका हुन्।

निर्वाचिन अधिकृत उदयराज काफ्लेका अनुसार विजयी गुरुङले ६ हजार १३० मत प्राप्त गरेका छन् भने, उनको प्रतिद्वन्द्वी कांग्रेसका घिमिरेले चार हजार ३६९ मत प्राप्त गरे । यसअघि ५ वर्ष गाउँपालिका अध्यक्षमा रहनुभएका गुरुङ पुन ः अध्यक्ष बन्न सफल भएका थिए ।

विसं २०७४ को स्थानीय तह निर्वाचनमा एमाले–माओवादी केन्द्रको गठबन्धनबाट एमालेका गुरुङले कांग्रेस उम्मेदवार नरबहादुर गुरुङलाई ९०२ मतले हराएका थिए । तर अहिले कांग्रेस, माओवादी केन्द्र लगायतको गठबन्धनलाई पछि पार्दै एक्लै लडेको एमालेले मस्र्याङ्दीमा जित हासिल गरेको छ ।

यस गाउँपालिकाको उपाध्यक्षमा एमालेकी जुनामाया थापाले गठबन्धनका उम्मेदवार अजय तामाङलाई एक हजार ८८५ मतअन्तरले पछि पार्दै विजयी भएका छन् । उनले पाँच हजार ८९५ मत प्राप्त गर्नुभयो भने, उहाँका प्रतिद्वन्द्वी तामाङले चार हजार १० मत प्राप्त गरे ।

त्यस्तै, यस पालिकामा ९ वडा रहेकोमध्ये पाँच वडामा एमालेले जितेको छ भने, ४ वडामा गठबन्धनतर्फबाट कांग्रेसले जितेको छ । एमालेका उम्मेदवारतर्फ वडा नं १ मा रुद्रमान गुरुङ, वडा नं २ मा चेतबहादुर गुरुङ, वडा नंं ३ मा दूतमान तामाङ, वडा नं ७ मा तिलबहादुर गुरुङ र वडा नं ८ मा धनसिंह तामाङ वडाअध्यक्षमा निर्वाचित भएका छन् । रासस

त्यस्तै, कांग्रेसबाट वडा नं ४ मा बलबहादुर गुरुङ, वडा नं ५ बाट घनश्याम घले, वडा नं। ६ बाट मीनराशी गुरुङ र वडा नं ९ बाट हरिबहादुर थापा वडाध्यक्षमा निर्वाचित हनुभएका छन् । यस गाउँपालिकामा १५ हजार १४० कुल मतदातामध्ये १० हजार ८८१ मत खसेको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।