देवीजंगका सपना, ‘सांस्कृतिक मादी’


     एभरेस्ट आवाज    
     जेठ ६ गते २०७९ मा प्रकाशित




मादी गाउँपालिकालाई संस्कृतिको धनी पालिका बनाउने नव निर्वाचित अध्यक्ष देवीजंग गुरुङको सपना छ। मादी, त्यसैपनि संस्कृतिको धनी पालिका रहेको गुरुङ दावी गर्छन्। गाउँका पुरानो चिनारीलाई संरक्षण र प्रबद्र्धन गरेर समृद्ध मादी बनाउने गुरुङको योजना छ। मादी गाउँलाई गाउँकै रुपमा विकास गर्ने गुरुङले कल्पना गरेका छन्।

एभरेस्ट एफएम ९३ मेघाहर्जको पेटबोली कार्यक्रममा बोल्दै गुरुङले अबको ५ वर्षभित्रमा मादीलाई अग्र्यानिक मादी बनाउने उनले बताए। आफू एक्लैले समृद्ध मादी बनाउन असंभव रहेको गुरुङ बताउँछन्। त्यसका लागि सत्तापक्ष, प्रतिपक्ष सबै राजनीतिक दलको साथ, सहयोग र सक्रियताबाट मात्रै यो संभव हुने उनको धारणा छ।

‘गाउँ नै गाउँले भरिएको मादीमा पशुपालन हराएको छ। खेतबारीहरु बाँझा छन। परालका टैवाहरु हराएका छन। आँगनमा मकैहरु सुकाउन छाडिएको छ।मादीमा अब व्यावसायिक पशुपालन गर्नुपर्छ। बाँझा खेलबारीहरुमा कृषि उत्पादन गर्नुपर्छ। घर–घरका आँगनहरुमा मकै कोदोहरु सुकाउनुपर्छ,’ गुरुङले भने।

मादीमा पालिकास्तरीय प्रज्ञा प्रतिष्ठान गर्ने उनको महत्वपूर्ण योजना छ। प्रतिष्ठानमार्फत त्यहाँको घ्याब्री, लामा, पच्यु, गुम्बा, मठमन्दिर र चर्चहरुको संरक्षण र संबद्र्धन गर्ने आफ्नो पहिलो प्राथमिकता रहेको उनले बताए। त्यहाँको कला, कलाकारहरु, संस्कृतिको संरक्षण र संबद्र्धन गर्न सकेमात्रै मादीको पहिचान बच्ने उनको भनाई छ।

‘घाँटु, सोरठी, बालन नचाएर मादीको संस्कृतिको संरक्षण, संबद्र्धन र प्रोत्साहन गर्नुपर्छ। त्यहाँ गर्नुपर्ने र गर्न सक्ने कामहरु यिनै हुन्। चुनावी प्रचार प्रसारको अभियानमा पनि आफूले यस्ता कुराहरुमा जोड दिएको छु,’ उनले भने।

गुरुङले मादीवासीलाई ठूलो आश्वासन दिएका छैनन्। यो गर्छु, त्यो गर्छुको धेरै प्रतिबद्धता जनाएका छैनन्। ५ वर्षमा हुन नसकेका साना–साना पूर्वाधार निर्माण गर्ने बाचा गरेका छन्।

मादीमा बाटाघाटाहरुको एक्सिस प्रसस्त छन्। क्रमागत योजनामा परेका विकास निर्माणका कामलाई पहिलो प्राथमिकता दिने, गाउँ–गाउँमा पुग्ने मोटर बाटोको स्तरोन्नती गर्ने उनको एजेण्डाहरु हुन्। नालीको व्यवस्थापनसहित यथासक्य बाटोघाटोलाई कालोपत्रे, पिच र ग्राभेलिङ गरेर १२ महिना नै मादीका गाउँगाउँमा मोटर गाडी पु¥याउन उनको लक्ष छ।

कृषि र पर्यटन मादीमा लुकेको अर्को संभावना हो। त्यहाँ, धान, कोदो, मकै लगायतका नगदेवालीको संभावना छ। त्यस्तै, आलु, प्याज, गोलभेंडा, बन्दा, काउली जस्ता तरकारी उत्पादन गर्न सकिने प्रसस्त संभावना छ।

पहाडी, मध्य र समथर भूभाग रहेको ठाउँ हो मादी। सिकलेस, ताङतिङ, तप्राङ, याङ्जाकोट, तारकाङ, हाँडीखोला र मकैखोलालगायतका गाउँहरु मकै र कोदो उत्पादन हुने ठाउँहरु हुन्। त्यस्तै, यि गाउँहरुको बेसीहरु आर्थिक उपार्जनका लागि व्यावसायिक तरकारी खेती गर्न सकिने कृषि उत्पादनको संभावना बोकेको ठाउँहरु हुन्। योजना ल्याउन सके, यि क्षेत्र कृषिको प्रचुर संभावना रहेको ठाउँहरु हुन्।

कृषि उत्पादनका संभावना बोकेका यि ठाउँहरुमा साना–ठूला सिंचाईका योजनाहरु छन्। योजना नभएको ठाउँहरुमा सिंचाईका योजना लैजानुपर्ने उनको धारणा छ। थप सिंचाई योजनाका लागि स्वयं पालिका, प्रदेश सरकार र केन्द्र सरकारसँग बजेट माग्न आफू पछि नपर्ने उनको प्रतिबद्धता छ। व्यावसायिक कृषि उत्पादनका लागि गाउँपालिकाले जिम्मा लिने उनले प्रतिबद्धता जनाए।

पर्यटनको अत्यन्त संभावना रहेको पालिका हो मादी। मादीको प्रमुख पर्यटकीय गन्तव्य सिक्लेस हो। जसलाई नेपाल सरकारले देशको एक सय पर्यटकीय गन्तव्यभित्र समेटेको छ। त्यसभन्दा पनि माथि तारा हिलटप, कबुचे, कोरी, कर्पु, क्वोंलासोथर, सबुपोखरी, दूधपोखरी लम्तरीडाँडा लगायतका सांस्कृतिक तथा धार्मिक महत्व बोकेको पर्यटकीय गन्तव्यहरु यही मादी पालिकामा पर्दछ।

सिक्लेस, ताङतिङ, वारचोक र याङ्जाकोटबाट घोडायात्रा गराएर दूधपोखरी र क्वोंलासोथरलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने उनको सोंच छ। घोडापालनका लागि पालिकाले अनुदान उपलब्ध गराउने उनले बताए। घोडा पालनले स्वरोजगारका साथै आर्थिक उपार्जन पनि हुने उनको तर्क छ।

मादी गाउँपालिकाको स्थायी पालिका कार्यालय कहाँ रहने हो भन्ने अहिलेसम्म पनि टुंगो छैन। यसै कार्यकालमा पालिकाको स्थायी कार्यलय बनाउने आफ्नो प्रयत्न रहने गुरुङ ग्यारेन्टी दिन्छन्।

‘स्थानीय सरकार संचालन ऐन र कार्यविधिमै रहेर पालिकाको स्थायी कार्यालयबारे छिट्टै टुंग्याएर प्रक्रियामा जानेछौं। मादीमा क्रियाशील राजनीतिक दल, समाजसेवी, बुद्धिजीवीहरुलाई संगै लिएर अघि बढ्नेछु,’ उनले भने।

मादी पालिकाको स्थायी कार्यलय बन्न नसकेपनि वडा कार्यालयहरु चाँही धेरै बनेका छन्। अघिल्लो स्थानीय जनप्रतिनिधिले गरेको यो कार्यलाई चाहीँ उनले खुलेरै प्रशंसा गर्दछन्। ग्रामीण बाटोघाटो लैजाने काम पनि अघिल्लो जनप्रनिधिले गरेको उनी स्वीकार्छन्।

काहुँखोला–सिक्लेस–दूधपोखरी, काहुँखोला–ताङतिङ–दूधपोखरी, कसेरी–याङ्जाकोट–भैंसे, भगवती–लम्तरी, राखी–मिजुरे, सौर्य–माझठाना–लिपियानी लगायतका मोटरबाटोहरु सदरमुकाम पोखरासँग जोडिएका प्रमुख बाटोहरु हुन्। साथसाथै, यि बाटोहरु यसअघिका जनप्रतिनिधिले पूरा गर्न नसकेका योजनाहरु हुन्।

यस्ता अपूरा बाटोहरु क्रमागत कालोपत्रेको योजनामा छन्। सिक्लेस जाने बाटको लागि २० किलोमिटर, याङ्जाकोट जाने बाटोमा ११ किलोमिटर पिच गर्ने योजनामा छन्। अन्य बाटोहरु डीपीआर भएर टेण्डर प्रक्रियामा छन्। अघिल्लो जनप्रतिनिधिले पूरा गर्न नसकेका कामहरुलाई पाँच वर्षभित्र आफूले पूरा गर्ने उनको भनाई छ।

अत्यन्तै, धार्मिक पर्यटनको महत्व बोकेको लम्तरीडाँडासम्म मोटर बाटो लैजाने उनको अर्को लक्ष हो।

यसअघि, मादीको सिक्लेस–कोरी केबुलकार निर्माणको योजना ल्याएको थियो। गाउँपालिकाको केन्द्र याङजाकोटमा आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रममै केबुलकार निर्माणलाई पालिकाको गौरवको आयोजनाका रुपमा समेटिएको थियो।

सिक्लेसको १ हजार ५ सय मिटरको उचाई भुलकुचाबाट सुरु भएर ३ हजार ८ सय मिटर उचाईको अन्नपूर्ण बेसक्यामस्थित कुरीमा केबुलकार संचालन गर्ने योजना थियो। चन्द्रागिरि केबुलकार टिमको सक्रियतामा निर्माण गरिने सिक्लेस–कोरी केबुलकारअन्तर्गत समुद्री सतहबाट लगभग २ हजार ५ सय मिटरको उचाईमा चताखर्कामा १२० बेड क्षमताको रिसोर्ट समेत निर्माण गरिने जनाइएको थियो।

विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) एवं वातावरणीय प्रभाव मूल्यांकनको कार्यसमेत गरेर करिब ६ अर्बको लागतमा बन्ने केबुलकारको १५ प्रतिशत शेयर स्थानीय बासिन्दालाई वितरण गरिने जनाइएको थियो।

अन्नपूर्ण हिमालको उच्च बुकेनीफाँटमा नेपालको मध्यविन्दु स्तम्भ उद्यानसमेत निर्माण गरिने लक्ष्य राखिएको उक्त केबुलकार चन्द्रागिरि समूहले निर्माण गर्ने भएको जनाइएको थियो।

केबुलकार बनाउन सके, मादीलाई चिनाउने प्रमुख योजना रहेको उनको भनाई छ। जुनसुकै सरकारले ल्याएको योजना भएपनि आफूले निरन्तरता दिने उनको प्रतिबद्धता छ।

ज्येष्ठ नागरिक, अशक्त र अपाङ्गता भएका व्यक्तिलाई सरकारले दिने सामाजिक सुरक्षाका भत्तालाई वडाबाटै उपलब्ध गराउने उनको प्रतिबद्धता छ। यसअघि, पोखरा झरेर बैंकहरुबाट सामाजिक सुरक्षाका भत्ता बुझ्नुपर्ने झन्झटिलो बाध्यात्मक स्थितिलाई सधैंका लागि अन्त्य गर्ने उनले प्रतिबद्धता जनाए। यसका लागि गाउँपालिकाले वडामा नव निर्वाचित सदस्यलाई परिचालन गर्ने उनको भनाई छ।

उनले भने, ‘अब, मादीका ज्येष्ठ नागरिक, एकल महिला, अशक्त, अपाङ्ग भएका व्यक्तिहरुले घर–घरमै ‘होम डेलिभरी’ मार्फत सामाजिक सुरक्षाका सेवा पाउनेछन्। गत चुनावमा भनिने गरेको नारा ‘घर–घरमा सिंह दरबार’ थियो। तर, घर–घरमा सिंह दरबारको अनुभूति भएन। तर, अबको ५ वर्षभित्र मादीको घर–घरसम्म सिंहदरबार लैजाने हाम्रो योजना हो।’

स्थानीय निर्वाचनमा नेपाली काँग्रेसबाट उम्मेदवार बनेका गुरुङले विपक्षी एमाले उम्मेदवार शिवबहादुर गुरुङ (महेन्द्र) लाई ८३४ मतान्तरले जित्दै गाउँपालिकाको अध्यक्ष बने। उनले ६ हजार ५ सय ८४ मत ल्याउँदा महेन्द्रले ५ हजार ७ सय ५० मत ल्याए।

यसअघिका निर्वाचनमा एमाले उम्मेदवार वेदबहादुर गुरुङ (श्याम) सँग पराजित देवीजंगले यसपाली भने महेन्द्रमाथि सहजै जित हात पारे। यसपालीको निर्वाचनमा चुनावी प्रचार प्रसारका लागि देवीजंगले ठूलो सभा गरेनन्। टोल–टोलमा कोणसभा गरेर मादीवासीलाई आफ्ना एजेण्डाहरु प्रस्तुत गरे। त्यो भन्दापनि अझै अघि बढेर देवीजंग मादीवासी मतदाताको घरदैलोमा पुगे। र, आफ्नो चुनावी प्रचार प्रसार अभियानलाई तिब्रता दिएर देवीजंग विजय समेत हात पार्न सफल बने।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।