बागलुङ । बागलुङका दशवटै स्थानीय तहमा नवनिर्वाचित जनप्रतिनिधिले शपथ र पदभार ग्रहण गरेका छन् । पदभार सम्हाल्लेसँगै उनीहरुले लोकप्रिय निर्णय र प्रतिबद्धता सार्वजनिक गरेका छन् ।
कति घोषणा स्थानीय तहको दीर्घकालीन विकाससँग सम्बन्धित छन् त कतिपय सार्वजनिक सेवा प्रवाहसँग जोडिएका । केही जनप्रतिनिधिले चुनावअघि मतदातासामु गरेका मुख्य प्रतिबद्धतालाई कार्यान्वयनमा लैजाने निर्णयसमेत गरेका छन् ।
ताराखोला गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष धनबहादुर विकले पदभार ग्रहणसँगै दुई महत्वपूर्ण निर्णय लिए । उनले आफुले पाउने सबै तलबभत्ता सहिद, बेपत्ताजनका परिवार, अपाङ्गता भएका व्यक्ति र असहायका लागि खर्चने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ । अध्यक्ष विक आफैँ पनि विगतको जनयुद्धका ‘घाइते योद्धा’ हुन ।
तलबभत्ताको रकमबाट सामाजिक सुरक्षा कोष खडा गरी सहायता वितरण गरिने अध्यक्ष विकले बताए । अध्यक्ष, उपाध्यक्ष र पाँचै वडाका वडाध्यक्षको उपस्थितिमा बसेको कार्यपालिका सरहकै बैठकले उक्त निर्णय गरेको हो । चुनाव प्रचारका सिलसिलामा पनि अध्यक्ष विकले आफू निर्वाचित भए तलबभत्ता नलिने घोषणा गरे ।
यस्तै बाँझो जग्गामा व्यावसायिक खेती गरी उत्पादन बढाउने र रोजगारी सिर्जना गर्ने किसानलाई प्रतिरोपनी रु दुई हजार आर्थिक सहायता प्रदान गर्ने निर्णय गरिएको अध्यक्ष विकले जानकारी दिए । चुनावअघि गरिएका प्रतिबद्धता पूरा गर्न प्राथमिकताका आधारमा बजेट र कार्यक्रम ल्याउने उनको भनाइ छ ।
बागलुङ नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख वसन्तकुमार श्रेष्ठले पदभार ग्रहणसँगै आगामी एक वर्षभित्रमा बागलुङलाई बालमैत्री नगर बनाउने घोषणा गरे । उनले भौतिक मात्र नभएर सामाजिक विकासका क्षेत्रलाई पनि नगरले उत्तिकै प्राथमिकता दिने बताए ।
प्रमुख श्रेष्ठले बालमैत्री नगर घोषणका लागि आवश्यक पूर्वाधार, व्यवस्थापकीय तयारी, सामाजिक परिचालनलगायतका कामलाई तत्कालै अगाडि बढाइने उल्लेख गरे । जैमिनी नगरले भने सेवा प्रवाहलाई छरितो र चुस्त बनाउन नागरिक सहायता कक्ष स्थापना गर्ने भएको छ ।
जैमिनीका नवनिर्वाचित प्रमुख नरबहादुर पुनले पदभार सम्हाल्दै तत्काल नागरिक सहायताकक्ष निर्माण गर्ने प्रतिबद्धता जनाएका हुन् । सेवाग्राहीको हितलाई हेरेर पहिलो निर्णय नै नागरिक सहायताकक्ष स्थापनाका लागि गरिएको नगरले जनाएको छ ।
त्यहाँका अरु स्थानीय तहका जनप्रतिनिधि भने कार्यपालिका गठनपछि बस्ने पहिलो बैठकबाट आवश्यक निर्णय लिने तयारीमा छन् । तमानखोला गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष जोकलाल बुढाले मङ्गलबार कार्यपालिकाको पहिलो बैठक बस्न लागेको बताए ।
गलकोट नगरका नवनिर्वाचित प्रमुख भरत शर्मा गैरेले महत्वकांक्षीभन्दा पनि पहिलेका अधुरा योजनालाई पूरा गर्नतर्फ आफ्नो ध्यान जाने बताए । उनले शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधार विकासलाई जोड दिइने उल्लेख गरे।
मतदाता रिझाउन नयाँनयाँ प्रतिबद्धता र आश्वासन देखाएर चुनाव जितेका जनप्रतिनिधिहरूको अग्निपरीक्षा सुरु भएको देखिन्छ । उनीहरुले मतदातासामु गरेका वाचा कति पूरा गर्छन्, गर्दैनन् त्यो हेर्न भने पाँच वर्ष कुर्नैपर्ने हुन्छ ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा ।आसन्न पोखरा उद्योग वाणिज्य संघको ७२औँ अधिवेशन तथा ३६औँ महाधिवेशन सदस्यका…





