तनहुँ । पाँच वर्षअघि नवलपरासी पूर्व नवलपुर र तनहुँ जोड्ने गरी कालीगण्डकी नदीमा निर्माण सुरु गरिएको पुल अलपत्र परेको छ ।
नवलपरासी पूर्व नवलपुरको बौदीकाली–३, रकुवा र तनहुँको घिरिङ सुन्धारा–१, जगौली जोड्ने गरी कालीगण्डकी नदीमा बनाउन लागिएको पुल निर्माणको काम अलपत्र परेको हो । तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी २०७४ मङ्सिरमा निर्माण सम्झौता भएको पुलको काम १५ प्रतिशत मात्र सम्पन्न भएको छ ।
पुल निर्माणको ठेक्का लिएको महावीर, गौरीपार्वती, नीलगिरी नेशनल जेभीले समयमा नै काम नगर्दा पुल निर्माणको काम अलपत्र परेको हो । पुलका लागि ल्याइएको सामग्री यत्रतत्र छरिएका छन् । छडलगायतका सामग्री खिया लाग्न सुरु गरेको छ ।
पुल निर्माणस्थलको बौंदीकाली–३ रकुवातर्फमा दुई पिल्लरबाहेक कुनै काम हुनसकेको छैन । पुल निर्माणस्थलमा बेलाबेला १०÷१२ जना कामदार ल्याउने र केही काम गर्ने गरेको भए पनि २०७९ वैशाखदेखि निर्माणस्थलमा कामदार आएका छैनन् ।
वर्षाको समयमा यसै काम नहुने र अहिले काम गर्न मिल्ले समयमा समेत निर्माणको काम नगरी अलपत्र पारेको स्थानीयवासीले समेत गनासो गरेका छन् । पुल निर्माणको काम २०७७ मङ्सिरमा सम्पन्न गर्नुपर्ने सम्झौता भएको भए पनि पछि २०७८ चैतभित्र सम्पन्न गर्ने गरी म्याद थप गरिएको थियो ।
त्यसपछि म्याद थप नभएको पुल योजना सेक्टर नं ४ पोखराका डिई नवराज बाँस्तोलाले बताए। सरकारले काममा लापरबाही गर्ने र समयमा नै काम नगर्ने निर्माण कम्पनीलाई कारबाही गर्ने भने पनि निर्माण सम्पन्न गर्नुपर्ने समय समाप्त भइसकेकाले यस्ता कम्पनीलाई कारबाही अघि नबढाइएको स्थानीय श्याम पाटाको गुनासो छ ।
पुल निर्माणका विषयमा निर्माण कम्पनी महावीर, गौरीपार्वती, नीलगिरी नेशनल जेभिका प्रतिनिधि युवराज डाँगीसँग बुझ्दा निर्माण सामग्रीको मूल्य बढेकाले मूल्य समायोजन नभएसम्म काम गर्न नसकिने बताए ।
सुपरीवेक्षण गर्ने निकाय पुल योजना क्षेत्र सेक्टर नं ४ का सव इञ्जिनीयर सुशील अधिकारीले हालसम्म काम सम्पन्न भइसक्नुपर्नेमा पटक–पटक निर्माण कार्यलाई तीव्रता दिन निर्देशन दिइरहेको बताए । कूल रु २२ करोड ९८ लाखको लागतमा निर्माण सुरु गरिएको पुल २११ मिटर लम्बाइको हुनेछ ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







