हालै सम्पन्न स्थानीय निर्वाचनमा पोखरा महानगरपालिकाबाट एक्लो महिला वडाध्यक्षका रुपमा राधिकाकुमारी शाही योगीले आफ्नो नाम दर्ता गरेकी छन्।
देशकै सबैभन्दा ठूलो पोखरा महानगरको पनि ठूलो १७ नं वडाबाट नेकपा (एमाले) की उम्मेदवार शाहीले प्यानलसहित वडाध्यक्षमा बाजी मारिन्।
नवनिर्वाचित वडाध्यक्ष शाहीले अघिल्लो पटक सोही वडाबाट सदस्यमा चुनाव जितेकी थिइन्।
अघिल्लो पटक भन्दा यसपाली उनलाई चुनाव जित्न सहज भएन। त्यति मात्र नभई, पोखरा–१७ लाई नेकपा (एमाले) को गढ मानिन्छ। चुनावअघि, वडामा पार्टी एक ढिक्का थियो। पार्टीका नेता तथा कार्यकर्तामा उत्साह थियो। अन्य, राजनीतिक दलभन्दा एमालेकै जनलहर देखिन्थ्यो। तर, मत परिणाम उनीका लागि सोंचेजस्तो बनेन।
निकटतम प्रतिद्वन्द्वी काँग्रेसका देवराज आचार्यमाथि शाहीले जम्मा ८३ मतान्तरले मात्रै जित हात पारिन्। महानगरकै ठूलो वडामा १०५८७ मतदातामध्ये ६९१९ मत खसेकोमा आचार्यले २५४२ मत पाउँदा शाहीले २६२५ मत ल्याएर जित सुनिश्चित गरिन्।
सिंगो महानगरमा आफूमात्रै एक्लो महिला वडाध्यक्ष निर्वाचित हुँदा अन्य वडामा पनि महिलाको नेतृत्व हुनुपर्नेमा शाहीको जोड छ। अझैपनि, महिलाहरुलाई राजनीतिक नेतृत्वमा आउन त्यति सहज नभएको उनी श्वीकार्छिन्।
एभरेस्ट एफएम ९३ मेघाहर्जको ‘पेटबोली’ कार्यक्रममाम बोल्दै यसअघि, जनप्रतिनिधिको हिसावले वडाको मतदातासँग आफू भिज्न सकेकैले यसपालीको चुनाव जित्न संभव भएको उनी तर्क राख्छिन्।
वडाको सबै जनताका लागि साझा जनप्रनिधि बन्न सक्नुपर्ने, सबै वडावासीको कुरा सुन्न सक्नुपर्ने र व्यवहार पनि त्यही किसिमको हुनुपर्ने, विकास निर्माण तथा पूर्वाधार विकासमा पक्षपातरहित ढंगले काम गर्न सक्नुपर्ने लगायतका गुणहरु जनप्रनिधिहरुमा हुनुपर्ने लगायतका अनुभवहरु उनीसँग छन्। त्यही अनुभवका आधारमा विगतका कार्यकालमा पूरा गर्न नसकेका वडाभित्रका कामहरु पूरा गर्ने उनले प्रतिबद्धता जनाइन्।
उनले भनिन्, ‘यसअघि वडाभित्र गर्नुपर्ने काममा आफ्नो पनि केही कमी कमजोरीहरु भएको महसुस गरेकी छु। अबको दिनमा, सबैको जनप्रनिधि बनेर गुनासाहरु नआउने गरी अपूरा कामहरुलाई पूरा गर्ने प्रतिबद्धता जनाउँछु।’
पोखरा–१७, महानगरकै ठूलो भूगोल भएको वडा हो। यो वडा धेरै जनसँख्या अँटेको वडा हो। वडाभित्र धेरै टोलहरु छन्। गर्नुपर्ने विकास निर्माण एवं पूर्वाधारका कामहरु धेरै छन्। वडा कार्यालयमा गएर वडावासी सेवाग्राहीले लिने सेवाहरु झन्झटिला छन्।पर्याप्त ज्ञानको अभावमा आवश्यक सिफारिस र डकुमेन्ट लिन वडावासीलाई निवेदन बुझाउन पनि सकस छ।
चुनाव जितेपछि, वडावासी सेवाग्राहीका लागि वडा कार्यालयमा ‘हेल्प डेस्क’ राख्ने उनको पहिलो प्राथमिकतामा परेको छ।
त्यसपछि, निम्न वर्गीय, आय श्रोत नभएका व्यक्ति, असक्त, असहाय, अपाङ््गता भएका व्यक्ति र सिंगो वडावासीहरुका लागि स्वास्थ्य बीमा गर्ने कार्यमा उनले पहल गर्ने जनाइन्। वडाको पहलमा समय समयमा निःशुल्क आँखा तथा स्वास्थ्य शिविरमार्फत वडावासी स्वास्थ्य सेवा प्रदान गर्ने उनको प्रतिबद्धता छ।
वडाभित्र खानेपानी, विजुली बत्ती, फोहर मैला व्यवस्थापन र शान्ति सुरक्षाका दृष्टिले सीसी क्यामेरा जडान लगायतका आधारभुत विषयहरु आफ्नो तत्कालको प्राथमिकतामा परेको उनको भनाई छ।
अघिल्लो कार्यकालमा वडाभित्र धेरै सडक तथा बाटो–घाटोहरु बने। तरपनि वडाका टोलहरुमा बनेका बाटा–घाटाहरु व्यवस्थित हुन सकेनन्। टोल र गल्लीहरुका साँघुरा बाटो–घाटोलाई चक्लाउनुपर्ने र मर्मत संभार गर्नुपर्ने उनले बताइन्। ढल तथा नालाको व्यवस्थासहित सडकको खाल्डाखुल्डी पुर्नुपर्ने र कच्ची सडकलाई पीच तथा कालोपत्रे गर्ने कार्यमा आफू लागिपर्ने उनले बताइन्।
सिद्धार्थ राजमार्गको पोखरा भित्रिने मुख्य नाका छोरेपाटन यसै वडाभित्र पर्दछ। राजमार्गको सडक स्तरोन्नतीका लागि कामहरु थालिएका छन्। तर, पर्याप्त छैन, प्रदेश एवं संघीय सरकारसम्मलाई दवाव दिने र ध्यानाकर्षण गराउने कार्यमा आफ्नो सक्रियता रहने उनले प्रतिबद्धता जनाइन्।
पोखराको पृथ्वीचोकदेखि सिद्धार्थ राजमार्ग सुरुवात हुन्छ। पृथ्वीचोकदेखि नै सडकको दायाँवायाँ नालीको समस्या छ। वर्षायाममा झरी पर्दा पोखराको नदीपुरदेखि बगेको पानी पृथ्वीचोक हुँदै एअरपोर्टसम्म पुग्दा ठूलै खोलाको रुप लिन्छ। व्यवस्थित नालीको व्यवस्थापन गर्ने उको सोंच छ।
पोखरा–१७ नं वडा प्रत्येक वर्षको वर्षायाममा बस्ती डुबान हुने वडा हो। वर्षेनी, रानी बन, दामोदर कुनाको पानीले छोरेपाटन क्षेत्रमा वस्ती नै डुबान हुने गर्दछ।
‘वर्षायाममा भेलबाढी भएर बग्ने पानीलाई पृथ्वीचोकदेखि नै व्यवस्थित नाली बनाएर एअरपोर्टबाट सेती नदीमा झार्ने योजना छ,’ उनले भनिन्, ‘राजमार्गको नालीबाट बग्ने पानीलाई डेभिजफल्समा खसाल्ने योजना छ। त्यस्तै, वडा नं ७ देखि बग्ने पानीलाई फुस्रेखोलामा खसाल्ने योजना छ। यि योजनाहरुका लागि महानगर कार्यपालिकाबाटै योजना तर्जुमा गर्नुपर्छ।’
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







