कल्याण शेरचनको ७५ औं जयन्तीमा राष्ट्रिय खुल्ला लोकदोहोरी प्रतियोगिता हुने


     एभरेस्ट आवाज    
     जेठ १० गते २०७९ मा प्रकाशित




पोखरा । लोक स्रष्टा, साधक, शिल्पी कल्याण शेरचनको ७५ औं जयन्तीको अवसरमा कल्याण शेरचन स्मृति प्रतिष्ठानले पोखरामा साउन १२ देखि १४ गतेसम्म राष्ट्रिय खुल्ला लोकदोहोरी प्रतियोगिता हुने भएको छ।

पोखरासभागृहमा हुने स्वर्गीय शेरचनको प्रिय विधा लोकदोहोरी प्रतियोगिता भव्यतासाथ सम्पन्न गर्न चर्चित इन्द्रेणी साँस्कृतिक विकास केन्द्रले साथ दिने भएको छ। यसरी नै प्रतियोगिताका लागि राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान नेपाल, गण्डकी प्रज्ञाप्रतिष्ठान, पोखरा प्रज्ञा प्रतिष्ठान लगायतले सहकार्य गर्ने बताइएको छ।

करिब ३९ लाख खर्च लाग्ने कार्यक्रम सम्पन्न गर्न ५५ लाख आम्दानी गरी वचत रकमबाट लोक स्रष्टा, साधक, शिल्पी कल्याण शेरचनको शालिक बनाउने योजना रहेको कल्याण शेरचन स्मृति प्रतिष्ठानका अध्यक्ष क्या.पुर्णबहादुर ह्योल्मोले जानकारी दिए ।

शेरचनको ७५ औं जयन्तीका अवसरमा हुने राष्ट्रिय खुल्ला लोकदोहोरी प्रतियोगिताको प्रचार प्रसारका लागि शेरचनको जन्मथलो मुस्ताङको इन्द्रेणी समुहसहितका साँस्कृतिक अभियान समेत गरिने अध्यक्ष क्या.ह्योल्मोले बताए ।

प्रतियोगितालाई भव्यताका साथ सफल बनाउन मुस्ताङबाट निर्वाचित प्रतिनिधि सभा सदस्य प्रेमप्रसाद तुलाचन र गण्डकी प्रदेश सभा सदस्य इन्द्रधारा बिष्टले सक्दो सहयोग गर्ने बताएका छन् ।

प्रतियोगिता भव्यताका साथ सम्पन्न गर्न कल्याण शेरचन स्मृति प्रतिष्ठानले विभिन्न १० उपसमितिहरुको गठन गरिएको प्रतिष्ठानका सचिव जीवन दाहालले जानकारी दिए ।

यस अघि शेरचनको जयन्तीमा काठमाण्डौं र पोखरामा खुल्ला मादल बादन प्रतियोगिता, सारङ्गी उत्सव, एकल राष्ट्रिय नृत्य प्रतियोगिता भव्यताका साथ सम्पन्न गरेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।