पोखरा, जेठ १०
पोखरा महानगरपालिकाको मत गणना पुनः शुरु भएको छ । एमालेको बहिस्कारपछि स्थगित भएको मत गणना साँझ ८ बजेदेखि पुनः शुरु भएको हो । नेकपा एमालेले खसेको मतमा गणना गर्दा ९ मत नभेटिएको भन्दै उक्त मत खोजी नभएसम्म मत गणना बहिस्कार गरेपछि मंगलबार पूर्वाह्न ११ बजेदेखि मत गणना कार्य रोकिएको थियो । एमालेको बहिस्कार पछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले मत गणना स्थगित गरेर गरेको सहमतिको प्रयास करीब ८ घण्टापछि सफल भएपछि मत गणना कार्य पुनः शुरु भएको हो । पोखरा–१८ का बारेमा नेकपा एमालेले दिएको निवेदन उपर मुख्य निर्वाचन अधिकृतको कार्यालय गम्भीर रहेको र आवश्यक कारवाहीका लागि प्रतिबद्ध रहेको प्रतिबद्धता जनाएपछि आफूहरु बाँकी वडाको मत गणना पुनः शुरु गर्न सहमत भएको नेकपा एमाले पोखरा महानगर कमिटी अध्यक्ष दीलिप न्यौपानेले जानकारी दिए ।
एमालेले पोखरा महानगरापलिका वडा नम्बर १८ मा खसेको मत मध्ये ६ मत र पोखरा ३१ मा ३ मत अपुग भएकाले सो मत खोजी गर्न माग गर्दै मुख्य निर्वाचन अधिकृतसमक्ष निवेदन दिएको छ । पोखरा १८ मा जम्मा ३ मतले कांग्रेसले वडाध्यक्ष जितेपछि एमालेले वडा नम्बर १८ मा हराएको ६ मत खोजिनुपर्ने आफ्नो बटमलाईनका रुपमा प्रस्तुत गरेको छ । एमालेले वडा नम्बर १८ मा हराएको मतको खोजी गर्न माग गर्दै निवेदन दिएपछि नेपाली कांग्रेसलेपनि वडा नम्बर १ र वडा नम्बर १७ मा पनि केही मत कम भएकाले पोखरा–१८ मा जस्तो प्रक्रिया अप्नाईन्छ त्यस्तै प्रक्रिया अप्नाउन माग गर्दै निर्वाचन कार्यालयमा निवेदन दिएको छ । तर वडा नम्बर १८ मा सहमति भएमा भने ती वडामा पनि कुनै प्रक्रिया अघि बढाउन नपर्ने पोखरा–१७ का पराजित कांग्रेस उम्मेदवार देवराज आचार्यले बताएका छन् ।
मत गणना स्थगित भएका समयमा नेपाली कांग्रेस र नेकपा एमालेले एउटाले मत गणना सञ्चालन गर्न र अर्कोले हराएको ९ मत खोजी गर्न माग गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय अगाडि प्रदर्शन गरेका थिए । एमालेले मत गणना बहिस्कार गरेपछि रोकिएको मत गणना शुरु गर्न कांग्रेसको माग थियो भने एमालेले ‘हाम्रो ९ मत हराउने, कांग्रेसलाई ३ मतले जिताउने ? भन्दै नाराबाजी गरेका थिए ।
मंगलबार विहानदेखि मत गणना रोकिएपछि गठबन्धनको बिजयी ¥याली प्रभावित भयो । गणना गर्न बाँकी मत भन्दा मेयरका उम्मेदवार धनराज आचार्यले प्रतिष्पर्धीसँग बनाएको मतान्तर बढी भएपछि गठबन्धनले मंगलबार विहानसम्म अन्तिम मत परिणाम आउने अनुमानका आधारमा मंगलबार दिउँसो १२ बजेपछि विजयी ¥याली निकाल्ने तयारी गरेको थियो । तर मत गणना स्थगित भएपछि विजयी ¥याली प्रभावित बनेको हो ।
गत बैशाख ३० गते भएको स्थानिय तहको निर्वाचनमा पोखरा महानगरपालिकामा १ लाख ४३ हजार २ सय २६ मत खसेको थियो । त्यसमध्ये हालसम्म १ लाख ३९ हजार ४ सय ११ मत गणना सकिएको छ । जसमा नेकपा एकीकृत समाजवादीका धनराज आचार्य ५७ हजार ७२ मत ल्याएर बाँक मत गणना नगर्दै बिजयी भइसकेका छन् । उनले प्रतिष्पर्धी नेकपा एमालेका कृष्ण थापालाई ५ हजार ४ सय ८५ मतान्तरले पछि पारेका छन् । थापाले ५१ हजार ५ सय ८७ मत प्राप्त गरेका छन् ।
त्यस्तै, उपमेयरमा नेकपा एमालेकी मञ्जुदेवी गुरुङपनि मत गणना बाँकी छँदै बिजयी भइसकेकी छन् । मञ्जुले नेपाली कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटलाई ३ हजार ९ सय ९० मतान्तरले पछि पारेकी छन् । मञ्जुले ५९ हजार ७० मत प्राप्त गरेकी छन् भने कोपिलाले ५५ हजार ८० मत प्राप्त गरेकी छन् । अब ३ हजार ८ सय १५ मत मात्र गणना गर्न बाँकी छ ।
स्थगित मत गणना शुरु गर्न माग गर्दै प्रदर्शनमा उत्रिएका नेपाली कांग्रेसका कार्यकर्ता । तस्बिर ः उमेश पुन÷नागरिक
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा — रसुवामा बुधबार आएको बाढीपछि पोखराका चार जनासहित कास्कीका १४ नागरिक…





