आर्वा विजय माविको सुविधायुक्त पक्कि भवन उद्घाटन


     एभरेस्ट आवाज    
     जेठ १० गते २०७९ मा प्रकाशित




पोखरा । पोखरा महानगरपालिका वडा नं. १३ ढाँडबेसीस्थित आर्वा विजय माध्यमिक विद्यालयको पक्कि भवन निर्माण कार्य सम्पन्न भएको छ । भारत सरकारको तीन करोड ९८ लाख ३४ हजार आर्थिक सहयोगमा दुई तल्ले १६ कोठे पक्कि भवन निर्माण गरिएको हो ।

भारतीय राजदूतावासका चार्ल डी अफेयर्स नामग्य सी खम्पा र जिल्ला समन्वय समिति कास्कीका प्रमुख बैनबहादुर क्षेत्री अधिकारीले आज एक समारोहका बीच संयुक्तरुपमा उक्त भवनको उद्घाटन गरे ।

सुविधा सम्पन्न उक्त विद्यालय भवनको उद्घाटन समारोहमा बोल्दै भारतीय राजदूतावासका खम्पाले भारतले नेपालको शैक्षिक एव्म सामाजिक क्षेत्रको विकासलाई प्राथमिकतामा राख्दै आएको बताए ।

नेपाल भारत बीच सदियौ बर्षको प्रगाढ मैत्री सम्वन्ध रहेको उल्लेख गर्दै उनले दुईदेश बीच साझेदारीका आधारमा भएका विकास निर्माण उपलव्धिमूलक हुनु पर्नेमा जोड दिए ।

भौतिक पूर्वाधार निर्माणले शैक्षिक क्षेत्रको विकासमा योगदान पुग्ने विश्वास व्यक्त गर्दै राजदूतावासका खम्पाले यसको उपयोग र निरन्तरताका लागि स्थानीय समाज सचेत हुनु पर्ने आवश्यकता औल्याए ।

जिल्ला समन्वय समिति कास्कीका प्रमुख बैनबहादुर क्षेत्री अधिकारीले नेपालको शैक्षिक क्षेत्रको विकासमा भारतीय दूतावासको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दे उनले सुखी नेपाली समृद्ध नेपाल निर्माणका लागि गुणस्तरीय शिक्षाको खाँचो औल्याए ।

विद्यालयको कम्पाउन्ड वाल निर्माणका लागि पोखरा महानगरको साझेदारीमा समन्वयकोतर्पmबाट २५ लाख रुपैया सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै उनले गुणस्तरीय शिक्षाको माध्यमबाट मात्र विद्यार्थीको आकर्षण बढ्न सकिने विश्वास व्यक्त गरे ।

स्थानीय शिक्षाप्रेमीहरु प्रा.डा. कमलमणी बराल, स्वर्गीय ढुण्डीराज बराल, दयासाग बराल, धनश्याम बरालले निशुल्क प्रदान गर्नुभएको १३ रोपनी चार आना क्षेत्रफलको जग्गामा सो भवन निर्माण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिबहादुर बरालले जानकारी दिए ।

कार्यक्रममा विद्यालयका सल्लाहकार एवम् पूर्व जिविस उपसभापति श्रीनाथ बराल, शिक्षा विकास शाखा प्रमुख नारायण प्रसाद सुवेदी, विद्यालयका प्रअ पद्मादेवी बराल लगायतले भौतिक पूर्वाधार र गुणस्तरीय शिक्षाको महत्व माथि प्रकाश पारेका थिए ।

डिएसआर निर्माण सेवा प्रालिका प्रोपाईटर ऋषिराम गौतमका अनुसार तोकिएको समयमा निर्माण सम्पन्न भई नयाँ भवनमा कक्षा सञ्चालन भएको र सम्झौता अनुसार समयमा रकम भुक्तानी नपाउदा अप्ठेरो पर्ने गरेको छ ।
कार्यक्रममा विद्यालयका छात्राद्धारा विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।