पाठ्यपुस्तक अभाव हुँदा विद्यार्थी समस्यामा


     एभरेस्ट आवाज    
     जेठ ११ गते २०७९ मा प्रकाशित





बागलुङ । नयाँ शैक्षिक सत्र प्रारम्भ भइसक्दासमेत बागलुङमा पाठ्यपुस्त प्रर्याप्तरुपमा भित्रिएका छैनन् । गत वैशाख २५ गतेदेखि जिल्लामा पठनपाठन सुरु भए पनि विद्यार्थीले पाठ्यपुस्तक पाउनसकेका छैनन् । विद्यालय नियमित सञ्चालन भइरहे पनि पाठ्यपुस्तक आउन नसक्दा विद्यार्थी अन्योलमा परेका छन् ।

बागलुङका दुर्गम भेगका विद्यालयभन्दा जिल्ला सदरमुकाममै रहेको रुद्रेपिपल माध्यमिक विद्यालय, विद्यामन्दिर माध्यामिक विद्यालय र कालिका कन्या माध्यामिक विद्यालयमै पाठ्यपुस्तकको अभाव भएको छ । किताब नपाउँदा अध्ययनमा समस्या भएको विद्यामन्दिर माध्यामिक विद्यालयका विद्यार्थी संस्कार गौतमले बताए ।

अहिले नयाँ किताब नआउँदा पुराना किताब साथीहरुसँग मिलेर पढ्नुपर्ने अवस्था आएको रुद्रैपिपल कक्षा १० मा अध्ययनरत विद्यार्थी योजना थापा मगरले बताए । करिब दुई वर्ष कोरोना महामारीका कारण पठनपाठनमा समस्या भएको भन्दै अहिले सरकारले पाठ्यपुस्तक समयमै व्यवस्थापन गर्न नसक्दा बालबालिका ठूलो समस्यामा परेको बताए।

जिल्ला सदरमुकामै पढ्ने विद्यार्थीले त पाठ्यपुस्त अहिलेसम्म पाएका छैनन् भने दुर्गमका विद्यार्थीले पाउनसक्ने अवस्था तत्कालै देखिदैन ।

विद्यार्थीले पाठ्यपुस्त पाउन नसक्दु दुःखद भएको रुद्रेपिपल माविका प्रधानाध्यापक राजेश श्रेष्ठले बताए । उनले जिल्ला सदरमुकामकै विद्यालयमा अहिलेसम्म पाठ्यपुस्तक आइनसकेको भन्दै दुर्गमका गाउँमा झनै पुग्न नसक्ने बताए ।

जिल्लामा पाठ्यपुस्तक ल्याउनका लागि पुस्तक व्यवसायीलाई आग्रह गरिएको शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ । जिल्लामा आधा विद्यार्थीले मात्रै अहिलेसम्म पाठ्यपुस्तक पाएको समन्वय एकाइका प्रमुख कुश्मराज उपाध्यायले जानकारी दिए ।

बागलुङमा सामुदायिक ५१४ र संस्थागत ५९ गरी ५७३ विद्यालय छन् । संस्थागत विद्यालयले पाठ्यपुस्तक पाए पनि सामुदायिक विद्यार्थीले भने आंशिकरुपमा पाठ्यपुस्तक पाएका छन् । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।