सरकारी निवास छाडेर पोखराका मेयर जिसी डेरामा


     एभरेस्ट आवाज    
     जेठ ११ गते २०७९ मा प्रकाशित




पोखरा । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले सरकारी निवास छाडेका छन् ।

नव निर्वाचित मेयर धनराज आचार्यले सपथग्रहणसहित पदभार ग्रहण गर्ने अघिल्लो दिन बुधबार मेयर जिसीले सरकारी निवास छाडेका हुन । नवनिर्वाचित मेयर आचार्यले बिहीबार सपथग्रहण गरेर जिम्मेवारी सम्हाल्ने कार्यक्रम छ ।

महानगरले पोखरा १२ ढिकालेथरमा व्यवस्था गरेको सरकारी निवास छाडेर जिसी फूलबारीस्थित डेरामा सरेका हुन । मेयरमा निर्वाचित हुनु भन्दा अगाडि जिसी फूलबारीमै भाडामा बस्दै आएका थिए भने मेयरको कार्यकाल सकिएपछि फूलबारीमै कोठा भाडामा लिएर सरेका हुन् ।

मेयर जिसीले गत वैशाख ३० गते भएको निर्वाचनबाट पोखरा महानगरमा निर्वाचित मेयर आचार्य, उपमेयर मञ्जुदेवी गुरुङ, निर्वाचित वडाध्यक्षसहित सबै सदस्यहरुलाई बधाईसहित सफल कार्यकालको शुभकामना दिएका छन् ।

जिसीले सामाजिक सञ्जालमार्फत् बधाई र सफल कार्यकालको शुभकामना दिएका हुन् । महानगरमा निर्वाचित भएर आएको नयाँ टिमको सुन्दर र समृद्ध पोखरा बनाउने योजनामा जहिले पनि सकारात्मक र रचनात्मक सहयोग रहने जिसीले बताएको उनका प्रेस संयोजक माधव बरालले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।