मुल्य वृद्विको विरोधमा अनेरास्ववियुद्धारा सरकारी सवारी साधन नियन्त्रण


     एभरेस्ट आवाज    
     जेठ १२ गते २०७९ मा प्रकाशित




पोखरा । पेट्रोलियम पदार्थको मुल्य वृद्वि भएसँगै पोखरामा नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले विरोध स्वरुप कास्कीमा सञ्चालित सरकारी सवारी साधन नियन्त्रणमा लिएको छ ।

मुल्य वृद्धिका कारण सरकारको विरोध स्वरुप गरिएको आन्दोलन अन्तर्गत जिरोबाट ५, महेन्द्रपुलबाट १ मोटरसाईकल सहित ३, पृथ्वीचोकबाट गण्डकी प्रदेशका पूर्व कानूनमन्त्री हरि चुमानले प्रयोग गरको स्कोर्पियो तथा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको ४ वटा गाडी, पिएन क्याम्पस गेटबाट ५ वटा, बाग्लुङ बसपार्क र सभागृहमा समान १÷१ वटा सरकारी सवारी साधन नियन्त्रणमा लिइएको अनेरास्ववियुका केन्द्रीय सदस्य तथा कास्की सहइन्चार्ज महेन्द्र उपाध्याय ‘मन्नु’ ले बताएका छन् ।

उनका अनुसार नियन्त्रणमा लिएको सवारी साधनको चावी जिल्ला प्रशासन कार्यालय र प्रहरीलाई बुझाएको र बेलुकी ५ बजे अनेरास्ववियुकै उपस्थितिमा चाँबी फिर्ता गर्ने सहमति भएको छ । विहान १० बजे पृथ्वीनारायण क्याम्पसदेखि सुरु गरेको सवारी साधन नियन्त्रण कार्यक्रम ३५ जना बढिको उपस्थितिमा पोखराको विभिन्न चोकहरुमा गरिरहेको उनले बताए ।

उनका अनुसार ७७ वटै जिल्लामा एकसाथ सरकारी सवारी साधन नियन्त्रण गरि विरोध जनाउने कार्यक्रम जारी छ । आजको शान्तिपूर्ण विरोधलाई सरकारले बेवास्ता गर्यो भने भोलीदेखि कडा आन्दोलन गर्ने अनेरास्ववियु कास्कीले चेतावनी दिएको छ । गत ९ गतेदखि पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाइएको थियो ।

प्रतिलिटरमा १० रुपैयाँ बढाएसँगै पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १६३ रुपैयाँ निर्धारण भएको छ । त्यस्तै खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २ सय रुपैया बढाउदै प्रतिसिलिण्डर १ हजार ८ सय पुगेको छ । आयल निगमले नोक्सानी व्यहोर्न परेको भन्दै इन्धनको मूल्य बढाएको हो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।