पोखरा । पोखरा महानगरपालिकाका नवनिर्वाचित मेयर धनराज आचार्यले विहीबार पदबहाली गरेका छन् । शुक्रबार विहान मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईसमक्ष सपथ खाएका आचार्यले दिउँसो २ः४५ बजे पदबहाली गरेका हुन् ।
पदबहालीलगत्तै उनले ३ महत्वपूर्ण निर्णय गरेका छन् । पहिलो निर्णयमा उनले न्यून आय भएका शिशुलाई पोषण भत्ता उपलब्ध गराउने, सिम्बोल अफ पोखरा प्रतियोगिता र पोखरालाई पर्यटकीय राजधानी बनाउन संघ सरकारलाई प्रस्ताव गर्ने निर्णयमा हस्ताक्षर गरेका हुन् ।
पदबहालीपछि पत्रकारसँग बोल्दै नवनिर्वाचित मेयर आचार्यले पोखरालाई पर्यटकीय राजधानी बनाउन संघ सरकारसमक्ष प्रस्ताव लैजाने बताए । त्यहि भएर सो सम्बन्धि प्रस्ताव लैजाने निर्णय पदबहाली गरेलगत्तै गरिएको उनले बताए । पोखरा पर्यटनको केन्द्र भएकाले सबै हिसाबले पोखरालाई पर्यटकीय राजधानी बनाउन उपयुक्त हुने भएकाले यस्तो प्रस्ताव लैजान लागिएको उनको भनाई छ । प्रस्ताव सामान्य प्रशासन मन्त्रालय हुँदै संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयमा पठाइने उनले बताए ।
पोखरालाई पर्यटकीय राजधानी बनाउने प्रस्ताव पपुलर भएपनि यो संघ सरकारबाट अस्वीकृत प्रस्ताव हो । यसअघि यहि प्रस्ताव निवर्तमान मेयर मानबहादुर जिसीले पनि लगेका थिए । उसो त गण्डकी प्रदेश सरकारलेपनि दुई पटक यो प्रस्ताव संघ सरकारसमक्ष लगिसकेको छ । पहिलो पटकको निर्णय संघ सरकारको मन्त्री परिषद बैठकमा लगिएपनि त्यहाँ सहमति नजुटेपछि फिर्ता भएको थियो ।
ओली सरकार हुँदा गएको उक्त प्रस्ताव फिर्ता भएपनि शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि सकारात्मक हुने आशासहित गण्डकी प्रदेश सरकारले दोश्रो पटक मन्त्री परिषद बैठकले निर्णय गरेर पठाएको छ तर अहिलेसम्म निर्णय भएको छैन ।
त्यस्तै, मेयर आचार्यले न्यून आय भएका परिवारलाई पोषण भत्ता उपलब्ध गराउने निर्णय गरेका छन् । यो भत्ता वडाको सिफारिसमा महानगरबाट वितरण गरिने मेयर आचार्यले बताए । तर पोषण भत्ता कति दिने भन्ने निर्णय गर्न भने बाँकी छ । ‘भत्ता कति समयसम्म दिने, कति दिने भन्ने आगामी बजेटमा उल्लेख भएर आउनेछ,’–उनले भने ।
त्यस्तै, मेयर आचार्यले पोखराको पहिचान झल्किने ‘सिम्बोल अफ पोखरा’ निर्माण गर्ने घोषणा गरेका छन् । कुनैपनि ठाउँको पहिचान झल्किने सिम्बोल हुने भन्दै उनले पोखराकोपनि पहिचान झल्किने ‘सिम्बोल अफ पोखरा’ एक वर्ष भित्र बनाइने बताए । तर ‘सिम्बोल अफ पोखरा’ कस्तो बनाउने ? त्यसमा के के राख्ने भन्नेबारेमा प्रतियोगितामार्फत चयन गरिने उनको भनाई छ ।
‘अक्सफर्ड युनिभर्सिटी जाँदा त्यहाँ उसको सिम्बोल छ । पेरिसमा पनि छ । पोखरा चिनाउन यहाँ पनि त्यस्तै सिम्बोल बनाउने छौं,’–उनले भने । प्रतियोगितामा भाग लिन ‘थ्रीडीसहितको एनिमेसन’ तयार गरेर महानगरमा पेश गर्नुपर्ने र उत्कृष्ट छनौट गरेर ‘सिम्बोल अफ पोखरा’ बनाइने उनले बताए । प्रतियोगितामा उत्कृष्ट छनौट हुनेलाई २ लाख रुपैयाँ पुरस्कार राशी दिइने उनले बताए । ‘सिम्बोल अफ पोखरा’को थ्रीडी एनिमेसन बुझाउने समय २ महिना राखिएको छ ।
यसैबीच, नवनिर्वाचित उपमेयर मञ्जुदेवी गुरुङले महिला हिंसाविरुद्ध गरिदै आएको महिला पुरुष समचेतना कार्यक्रम र अपाङ्गता भएका बालबालिकाहरुलाई शिक्षामा समान पहुँच स्थापित गर्ने कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेकी छन् । शुक्रबार दिउँसो पदबहाली गर्दै उनले महिला हिंसाबिरुद्ध पुरुषको ऐक्यवद्धताका लागि सञ्चालन गरिदै आएको ‘महिला पुरुष समचेतना कार्यक्रम’लाई निरन्तरता दिने निर्णयमा हस्ताक्षर गरेकी हुन् ।
यसअघि विहीबार पूर्वाह्न मेयर आचार्य, उपमेयर गुरुङसहित पोखरा महानगरका ३३ वटै वडाका वडाध्यक्ष तथा वडा सदस्यहरुले सपथ खाएका थिए । शुरुमा मेयर आचार्यले मुख्य निर्वाचन अधिकृतबाट सपथ खाएका थिए । त्यसपछि मेयर आचार्यले उपमेयर गुरुङ, वडाध्यक्ष तथा सदस्यहरुलाई पालैपालो सपथ खुवाएका थिए ।
मेयर आचार्य र उपमेयर गुरुङ गत वैशाख ३० गते सम्पन्न स्थानिय तहको निर्वाचनमार्फत निर्वाचित भएर आएका हुन् । विहीबार राती सम्पन्न मत गणनामा आचार्य नेकपा एमालेका कृष्णबहादुर थापालाई पराजित गर्दै मेयरमा र गुरुङ नेपाली कांग्रेसकी कोपिला रानाभाटलाई पराजित गर्दै उपमेयरमा निर्वाचित भएका हुन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







