म्याग्दी । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकको कैकुखोला–खन्ती खण्ड कालोपत्र भएको छ ।
मुस्ताङको थासाङ गाउँपालिका–५ कैकुखोलाबाट गाउँपालिकाको केन्द्र खन्ती जोड्ने सडक कालोपत्रको काम सकिएको हो ।
एक सय ८६ किलोमिटर दूरीको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत कैकुखोला–खन्ती खण्डमा पहिलोपटक कालोपत्र भएको हो ।
बेनी–जोमसोम–कोरला सडक आयोजनाको तेस्रो प्याकेजको ठेकेदार कम्पनी शर्मा–गजुरमुखीका आयोजना व्यवस्थापक नरेन्द्र न्यौपानेले कैकुखोला–खन्ती खण्डको १६ किलोमिटर ५०० मिटरमध्ये १६ किलोमिटर दूरीमा आक्सपाल्ट प्रविधिको कालोपत्र गरिएको जानकारी दिए ।
एघार मिटर फराकिलो बनाइएको सडकमा नाली, ग्यावियन पर्खाल निर्माण र ग्राभेलपछि सातदेखि आठ मिटरको चौडाइका दरले कालोपत्र गरिएको हो । उकालो सडकमा ढलान गरिएको छ ।
भिरको जोखिमयुक्त सडकको डिलतर्फ साइडबार राख्ने काम भइरहेको छ । सडक कालोपत्र भएपछि यात्राअवधि छोटिएको र आवतजावत सहज भएको छ ।
करिब डेढ घण्टा लाग्ने गरेकामा हाल ३० मिनेटमा पार गर्न सकिन्छ । सडक कालोपत्र भएपछि एक घण्टा यात्राअवधि छोटिएको छ । मुस्ताङका स्थानीय बासिन्दाका साथै पर्यटक र तिर्थयात्रीलाई सहज भएको छ ।
बेनी–जोमसोम सडकको पहिलो प्याकेजअन्तर्गत म्याग्दीको राहुघाटबाट बेगखोलासम्मको छ किलोमिटर सडकमा डिबिएसडी प्रविधिको कालोपत्र अन्तिम चरणमा पुगेको छ ।
गलेश्वरमा एक किलोमिटर र बेगखोलाबाट भुरुङ्ग–तातोपानी खण्डको सडकको अधिकांश ठाउँमा विस्तार सकेर कालोपत्रको तयारी गरिएको छ ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







