आयोगले गरेका सिफारिसको कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ: गृहमन्त्री खाण


     एभरेस्ट आवाज    
     जेठ १३ गते २०७९ मा प्रकाशित




काठमाडौ । गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रिय मानवअधिकार आयोगले गरेका सिफारिसको कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । आयोगको २२ औँ वार्षिकोत्सव कार्यक्रमलाई आज सम्बोधन गर्दै उनले सिफारिस कार्यान्वयनका लागि कार्यदल गठन भइसकेकाले कार्यान्वयन हुने बताए ।

उनले आयोगको स्वतन्त्रता र स्वायत्ततालाई कमजोर नबनाउने प्रतिबद्धता व्यक्त गरे । गृहमन्त्री खाणले द्वन्द्वकालीन घटनाका पीडितको न्याय प्राप्तिमा सरकार प्रतिबद्ध रहेकाले सङ्क्रमणकालीन संयन्त्रमार्फत छिट्टै पीडित र पीडित परिवारमा समेत न्यायको अनुभूति हुने गरी सो कार्यलाई निष्कर्षमा पु¥याइने बताए ।

कार्यक्रममा आयोगका अध्यक्ष तपबहादुर मगरले आयोगका सिफारिस पूर्णरुपमा कार्यान्वयन नभएको बताए । उनले मानवअधिकारको संरक्षण र सम्वद्र्धनका लागि तीनै तहका सरकारको भूमिका उत्तिकै महत्वपूर्ण हुने भएकाले सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको उल्लेख गरे ।

अध्यक्ष मगरले स्थानीय तहको निर्वाचनमा मानवअधिकारको दृष्टिकोणले आयोगले ७७ जिल्लाको अनुगमन गरेको जनाउँदै चाँडै नै प्रतिवेदन सार्वजनिक गर्ने बताए । उनका अनुसार यस वर्ष वैशाख मसान्तसम्म आयोगमा मानवअधिकार हननका ११२ उजुरी दर्ता भएको र चालु आर्थिक वर्षका ३३९ उजुरीमाथि निर्णय भएको छ ।

उनले आयोगले र अन्य आयोगबीच मानवअधिकारको संरक्षण र सम्वद्र्धनका लागि समन्वय तथा सहकार्यसम्बन्धी साझा रणनीति ढाँचा तर्जुमा भई कार्यान्वयनको चरणमा रहेको उल्लेख गरे। गैरसरकारी संस्था महासङ्घका अध्यक्ष रामप्रसाद सुवेदीले अझै पनि राज्य नागरिक अधिकार पालनामा उदासिन रहेको बताए।

उनले आयोगले गरेका सिफारिसलाई सरकारले कार्यान्वयन गरेर पीडितलाई न्याय दिनुपर्नेमा जोड दिए । विसं २०५७ जेठ १३ गते आयोग स्थापना भएको हो ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।