गणतन्त्र दिवस : नागरिकको जीवनस्तर परिवर्तन हुनुपर्नेमा जोड


     एभरेस्ट आवाज    
     जेठ १५ गते २०७९ मा प्रकाशित




पोखरा । गणतन्त्र दिवसको अवसरमा गण्डकी प्रदेश सरकारद्वारा आयोजित विशेष समारोहमा व्यवस्था परिवर्तनसँगै नागरिकको जीवनस्तर परिवर्तन हुनुपर्नेमा जोड दिइएको छ ।

नेपाली जनताको लामो संघर्षको उपलब्धिस्वरुप प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास हुन आवश्यक रहेको बताउँदै कार्यक्रमका वक्ताले व्यवस्थासँगै नागरिको आर्थिक एवम् सामाजिक विकास भएमा मात्र त्यसको सार्थकता सिद्ध हुने बताएका छन् ।

कार्यक्रममा गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले संघीय लोकतान्त्रिक गणतन्त्र केबल शासनप्रणालीका रुपमा मात्र नभई नागरिकको जीवनपद्धति र शैलीकारुपमा स्थापित गर्न सक्दा मात्रै आम नागरिकले लोकतन्त्रको सुखद अनुभूति गर्न पाउने बताएका छन् ।

गणतन्त्र नेपाल घोषणा भएपछि सुशासन, द्रुततर आर्थिक, सामाजिक विकासलगायत सबै क्षेत्रमा सुन्दर, समृद्ध हुन्छ भन्ने आम नेपालीको अपेक्षा आंशिकरुपमा सम्बोधन भए पनि त्यो पूर्ण हुन नसकेको उनले बताए । संघर्षका समयमा जनतासामु गरेका प्रतिवद्धता तथा वीर अमर शहीदका सपना साकार पार्नु सबैको सामूहिक दायित्व र कर्तव्य बनेको बताउँदै उनले हिजो संघर्षका दिनमा जस्तै हामी सबैबीच एकता, सहकार्य र सहमति हुनु आवश्यक भएकोमा जोड दिए ।

कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले राजनीतिक परिवर्तनसँगै आर्थिक, सामाजिक परिवर्तन गर्न नसके त्यसको कुनै अर्थ नहुने बताए । व्यवस्थामा परिवर्तन आए पनि जनताको आकांक्षा अनुसार बढ्न नसकिएको वास्तविकतामा जनताका आवश्यकता तथा चाहनालाई सम्बोधन गर्ने गरी एकतावद्ध रुपमा लाग्नुपर्ने आवश्यकता उनले बताए।

गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले विसं २००७ सालदेखिको नेपाली जनताको चाहना र संघर्षको प्रतिफलस्वरुप गणतन्त्र दिवस मनाउने अवस्थामा पुगिएको बताउँदै यसको संस्थागत विकास आवश्यक भएको बताए । जनताको आर्थिक, सामाजिक परिवर्तन हुन सकेमा मात्रै दिवसको सार्थकता रहने बताउँदै उहाँले सरकार तथा राजनीति दलहरू त्यसतर्फ लक्षित हुनुपर्ने बताए।

आन्तरिक मामिला मन्त्री डोबाटे विश्वकर्माले गणतन्त्र दिवस नेपाली जनताको महत्वपूर्ण उपलब्धि भएको बताए। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले लामो समयको संघर्षको प्रतिफलस्वरुप गणतन्त्र प्राप्त भएको बताउँदै जनतालाई यसको अनुभूति गराउन अझै धेरै काम बाँकी रहेको बताए ।

कार्यक्रममा प्रदेशमा उत्कृष्ट काम गर्ने कार्यालयसँगै विभिन्न कर्मचारीलाई पुरस्कृत गरिएको थियो । समारोहअघि पोखराको सहिद चोकस्थित पार्कमा माल्यार्पण गरि विभिन्न झाँकीसहितको ¥याली आयोजना गरिएको थियो ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।