प्रतिकुल मौषमका कारण बेपत्ता विमान अझै फेला परेन,विमानस्थलमा आफन्तको भावविह्ल अवस्था


     एभरेस्ट आवाज    
     जेठ १५ गते २०७९ मा प्रकाशित




पोखरा । पोखराबाट जोमसोम जाँदै गर्दा सम्पर्कविहीन भएको तारा एयरको जहाज अझै फेला परेको छैन । यता पोखरा विमानस्थलमा भने विमानमा सवार रहेका आफन्त र परिवारको ह्रदयविदारक भिडभाड भएको छ । कोहि भक्कानियर रोईरहेका छन् भने कोहि आखाँमा टिलपिल आँसु लिएर भावविहिल आफन्तलाई सम्हालिरहेका छन् ।

पोखराबाट तेस्रो उडानमा रहेको तारा एयरको ९ एन एईटी ट्विनअटर जहाज लेतेपास नजिक पुगेपछि सम्पर्कविहीन भएको थियो । १९ जना यात्रु लिएर विहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको जहाज सम्पर्कविहीन भएको हो । सो जहाजमा १९ यात्रु र ३ जना चालक दलका सदस्यसहित २२ जना छन् । जहाज खोजी कार्यका लागि सवैशक्ति परिचालन गरिएपनि प्रतिकुल मौषमका कारण प्रयास सफल भएको छैन् ।

सेनाको हेलिकोप्टर मुस्ताङ
तारा एयरको वेपत्ता जहाज खोजीका लागि गएको नेपाली सेनाको हेलिकोप्टर मुस्ताङको नर्सिङ गुम्बा भन्ने स्थानमा अवतरण गरेको छ ।त्यहाँबाट नेपाली सेनाका १० जना र नेपाल नागरिक उड्डयन प्राधिकरणका दुई जनाको टोली मोबाइलको लोकेसन पत्ता लागेको तर्फ गएको नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीले बताएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख प्रेमनाथ ठाकुरका अनुसार पैदलयात्राबाट पनि सेना र प्रहरीको टोली पनि परिचालन गरिएको छ । काठमाडौंबाट हिमालयन रेस्क्युको टोली पनि पठाइएको छ । यसअघि विमानको अवस्थाबारे खोजतलासका लागि फिस्टेल हेलिकप्टरलाई पठाइएकोमा प्रतिकुल मौसमका कारण उक्त हेलिकप्टर जोमसोम फर्किएको थियो ।

यी व्यक्ति थिए विमानमा
विमानमा १३ जना नेपाली,४ जना भारतीय,२ जना अन्य विदेशी नागरिक र ३ जना चालक दलका सदस्य रहेका थिए । चालक दलका सदस्यहरुमा क्याप्टेन प्रभाकर घिमिरे, सहचालक उत्सव पोखरेल र विमान परिचारिका क्रिष्टी थापा छन् । त्यसैगरी अन्य यात्रुरुमा गणेश नारायण श्रेष्ठ, रवीना श्रेष्ठ, रस्मी श्रेष्ठ, रोजिना श्रेष्ठ, प्रकाश सुनुवार, मकर बहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुल्सादेवी तामाङ इन्द्र बहादुर गोले, पुरुषेत्तम गोले, राजन कुमार गोले, मिक ग्यार्ट, बसन्त लामा, , अशोक कुमार त्रिपाठी, धनुष त्रिपाठी, ऋतिका त्रिपाठी, युवी विल्नर र वैभवी बाण्डेकर सवार रहेका थिए ।

विमानस्थलमा हेलिकप्टरहरु स्ट्यान्डबाइ
पोखराबाट जोमसोम जाँदा सम्पर्कविहीन भएको आफ्नो जहाज खोजीका लागि गएको हेलिकप्टर मौसम खराब भएपछि फर्किएको तारा एयरले जनाएको छ । तारा एयरले प्रेस विज्ञप्ति जारी गर्दै हराइरहेको जहाज खोजी तथा उद्दारका लागि काठमाडौं, पोखरा र जोमसोम विमानस्थलमा हेलिकप्टरहरु स्ट्यान्डबाइ राखिएको जनाएको छ ।

मोसममा सुधार आउन साथ हवाईमार्गबाट खोजी कार्य पुनः सुरु गर्ने तारा एयरले जनाएको छ । नेपाली सेना, नेपाल प्रहरी र तारा एयरको उद्दार टोली स्थलमार्गबाट त्यसतर्फ प्रस्थान गरिसकेको जानकारी कम्पनीले दिएको छ ।

खोजी कार्यमा प्रतिकुल मौषम बाधक

बेपत्ता जहाजको खोजी कार्यमा प्रतिकुल मौषम बाधक बनेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविदका अनुसार आज बिहानैदेखि मुस्ताङसहितका उच्च पहाडी र हिमाली भागमा बदलीको अवस्था छ । अपराह्नदेखि मौसम अझै प्रतिकूल हुने पूर्वानुमान गरिएको छ ।

उनले आज अपराह्नदेखि सो क्षेत्रमा मौसम अझै प्रतिकूल हुने पूर्वानुमान गरिएको बताए । हिमाली र उच्च पहाडी धेरै भागमा मौसमबारे सूचना दिने स्टेशनहरु प्रयाप्त छैनन् । त्यसैले सूचना संकलनमा समस्या हुने गरेको मौसमविदहरु बताउँछन् ।

गृहमन्त्री बालकृष्ण खाणले जहाजको खोजीकार्यमा कुनै कसर बाँकी नराख्न निर्देशन दिएका छन् । कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, गण्डकी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक दिवेश लोहनी र मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मालाई फोन सम्पर्क गरी जहाजको खोजी कार्यलाई तीव्रता दिन उनले निर्देशन दिएका हुन् ।

यसैबीच, मुस्ताङको घाँसामा ठूलो आवाज सुनेको र आगो बलेको देखेको भन्दै स्थानीयले खबर गरेका छन् । तल्लो मुस्ताङको घाँसा, लेते, कोवाङ आसपासका क्षेत्रमा खोजी कार्यलाई केन्द्रित गरिएको छ । प्रहरीका अनुसार यो सूचनालाई पुष्टि गर्ने प्रयास भइरहेको छ । यद्यपि, अहिले हराएको विमानको खोजीलाई त्यसतर्फ केन्द्रित गरिएको प्रहरीले जनाएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।