कैलाली । गेटा मेडिकल कलेजलाई सुदूरपश्चिमका दुई प्रादेशिक अस्पतालसित सहकार्य गरी सञ्चालन गरिने भएको छ ।आगामी आर्थिक वर्ष २०७९÷८० को बजेटमा सुदूरपश्चिमाञ्चल विश्वविद्यालय मातहत रहने गरी महाकाली प्रादेशिक अस्पताल र सेती प्रादेशिक अस्पतालसित सहकार्यमा गेटा मेडिकल कलेज सञ्चालनका लागि व्यवस्था मिलाउने घोषणा गरिएको हो ।
कैलालीको गेटास्थित मेडिकल कलेज सञ्चालन सरकारको नीति तथा कार्यक्रममा समावेश नभएपछि चौतर्फी विरोध गरिएको थियो । त्यसपछि दुई अस्पतालसित सहकार्य गरी मेडिकल कलेज सञ्लालन बजेटमा समावेश गरिएको हो । भौतिक पूर्वाधार निर्माण अन्तिम चरणमा पुगेको गेटा मेडिकल कलेजको सञ्चालन प्रारुपमा अझै अनिश्चित छ ।
गेटा मेडिकल कलेजलाई प्रतिष्ठान, विश्वविद्यालय मातहत सञ्चालन गर्नु वा नेशनल मेडिकल कलेजका रुपमा सञ्चालन गर्नुपर्ने आवाज उठेको थियो ।सरकारले आगामी आर्थिक वर्षमा सुदूरपश्चिमाञ्चल विश्वविद्यालयअन्तर्गत रहनेगरी प्रादेशिक अस्पतालसितको सहकार्यमा सञ्चालन गर्ने व्यवस्था गरेपछि सञ्चालन अन्योल पनि हटेको छ ।
सरकारले २०६६ मा सुदूरपश्चिमाञ्चल विश्वविद्यालय र गेटा मेडिकल कलेज बनाउने घोषणा गरेको थियो । त्यसअनुसार सुदूरपश्चिमाञ्चल विश्वविद्यालय सञ्चालनमा आइसकेको छ ।
कञ्चनपुर क्षेत्र नं ३ का सांसद डा दीपक प्रकाश भट्टले दुई प्रादेशिक अस्पतालसितको सहकार्यमा मेडिकल कलेज सञ्चालनका लागि बजेटमा व्यवस्था गरिनु राम्रो भएको बताए ।सांसद भट्टले २०७४ को आम निर्वाचनमा महाकाली अस्पताललाई मेडिकल कलेजका रुपमा सञ्चालन गर्न पहल गर्ने प्रतिबद्धता जनाएका थिए ।
गेटा मेडिकल कलेजलाई नेशनल मेडिकल कलेज बनाउन पनि प्रधानमन्त्री शेरबहादुर देउवासम्म पहल गरिएको थियो । सुदूरपश्चिम प्रदेशका सांसदहरुले माग राखेपछि प्रधानमन्त्री देउवा सकारात्मक देखिनुभएको बताइउको छ । उनले बजेटमा नेशनल मेडिकल कलेज बनाउने माग सम्बोधन गर्ने आश्वासन दिएका थिए।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







