पाल्पामा कालीगण्डकी डाइभर्सनको बिरोध


     एभरेस्ट आवाज    
     जेठ १७ गते २०७९ मा प्रकाशित





रामपुर । सरकारले गत आईतबार संघीय संसदमा पेश गरेको आर्थिक वर्ष २०७९र८० को वार्षिक वजेटमा कालीगण्डकी—राम्दी—तिनाउँ डाइर्भसनको अध्ययन कार्य अगाडी बढाउने उल्लेख गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले संसदमा प्रस्तुत गर्नुभएको वजेटमा कालीगण्डकी–तिनाउँ डाइभर्सन आयोजनाको अध्ययनकार्य अघि बढाउने विषयलाई समावेश गरेपछि तल्लो तटिय क्षेत्रका जनप्रतिनिधिले बिरोध गर्दै ध्यानाकर्षण गराएका छन् ।

कालीगण्डकीको पानी राम्दीबाट डाइभर्सन गरेर तिनाउँ नदीमा लैजाने योजनाबिरुद्ध राम्दीदेखि तल्लो क्षेत्रमा बसोबास गर्ने स्थानीयवासीले पटक–पटक बिरोध गर्दै आइरहेका छन् ।


पाल्पाको रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापा र स्याङ्जाको चापाकोट नगरका प्रमुख ईश्वर खाँण नेतृत्वको टोलीले सोमवार प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवालाई र उर्जा तथा सिँचाईमन्त्री पम्फा भूसालललाई ध्यानाकर्षण पत्र बुझाउँदै आयोजना अगाडी नबढाउन आग्रह गरिएको छ ।प्रधानमन्त्री तथा सभापति देउवालाई कांग्रेस उपसभापति धनराज गुरुङमार्फत ध्यानाकर्षणपत्र बुझाइएको हो ।

उपसभापति गुरुङले आफुपनि यस परियोजनाको बिपक्षमा सधैँ रहेको स्पष्ट पार्दै प्रधानमन्त्री तथा सभापति देउवालाई पनि आफुले यसलाई अगाडी नबढाउन आग्रह गर्ने जानकारी दिए ।


उर्जामन्त्री पम्फा भूसालले ध्यानाकर्षण पत्र बुझ्दै सो परियोजनाका बारेमा आफूपनि जानकार रहेकाले आयोजना अगाडी नबढ्ने कुरामा ढुक्क हुन आश्वस्त दिनुभएको छ । ध्यानाकर्षण पत्रमा यो आयोजना अगाडी बढाउँदा कालीगण्डकीको राम्दीभन्दा तल्लो तटीय क्षेत्रका बासिन्दाको दैनिकी, साँस्कृतिक, धार्मिक र वातावरणीय लगायत मानव सभ्यताका विविध पक्षमा नकारात्मक असर पर्ने उल्लेख गरिएको छ ।

स्थानीय बासिन्दाको आग्रह विपरित परियोजनालाई अगाडी बढाउन खोजेमा चरणबद्ध आन्दोलन अगाडी बढाउन बाध्य हुने चेतावनी समेत दिइएको छ । धार्मिक तथा पर्यटकिय कालीगण्डकी नदीलाई डाइभर्सन गरियो भने तल्लो तटिय आसपासका क्षेत्रमा नराम्रो प्रभाव पार्ने रामपुर नगरप्रमुख रमणबहादुर थापाले बताए ।

बिगतमा पनि सरकारले यस आयोजनालाई अगाडी बढाउन खोजेकोमा प्रभावित क्षेत्रका बासिन्दाको बिरोधका कारण काम रोकिएको थियो । त्यसैगरी, सर्वोच्च अदालतमा विचाराधीन समेत रहेको यस आयोजनालाई अगाडी बढाउन खोज्नु आफैमा न्यायिक जनसरोकारको हित विपरीत हुने उनीहरुको भनाई छ ।

विश्वकै एकमात्र शालिग्राम पाइने पवित्र कालीगण्डकी नदी डाइभर्सन कार्य कुनैपनि हालतमा गरिनु नहुने बताउनुहुन्छ, कालीगण्डकी संरक्षण अभियानका अभियान्ता तथा समाजसेवी कुलराज चालिसे । रामपुर नगरले कालीगण्डकीको सभ्यता जोगाउन र यसलाई आयआर्जनसँग जोड्न व्यावसायीक रुपमा जालयात्रा सञ्चालनका लागि युवालाई तालिम प्रदान गरिसकेको छ ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।