राष्ट्रियसभामा बजेट छलफल, विभिन्न दलका सांसदको धारणा


     एभरेस्ट आवाज    
     जेठ १७ गते २०७९ मा प्रकाशित





राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९÷८० को राजस्व र व्ययको वार्षिक अनुमान बजेट माथि सुरु भएको सैद्धान्तिक छलफलमा नेपाल कम्युनिष्ट पार्टी एमाले का सांसद खिमलाल भट्टराईले सरकारले ल्याएको ठूलो आकारको बजेटले जनतालाई सपना मात्र देखाएको टिप्पणी गरेका छन् ।

उनले लक्ष्य र आधारबिना बजेट विनियोजन गरेर कसरी कार्यान्वयन हुन्छ भनी प्रश्न गरे । सङ्घीयतालाई बलियो बनाउनेगरी ठोस् रुपमा बजेट नआएको र प्रदेश सरकारलाई प्राथमिकता नदिएको भट्टराईको भनाइ थियो ।उनले प्रदेश र स्थानीय तहमा विनियोजन भएको बजेटमा वित्तीय मितव्ययिता नदेखिएको तथा बजेटको आकार बढाइए पनि पूँजीगत खर्च घटेको बताए ।

उत्पादनमा गिरावट, सात प्रतिशतले महँगी बढ्नुले मुलुकलाई आर्थिक सङ्कटतर्फ धकेलको आशङ्का व्यक्त गर्दै सांसद भट्टराईले पूँजीगत खर्च गर्ने क्षमता नबढाइकन आर्थिक वृद्धि गर्ने कुरा सम्भावना नरहेको जिकिर गरे ।

नेपाली कांग्रेसका सांसद रमेशजङग रायमाझीले बजेटले कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन, रोजगारीलगायत विषयलाई प्राथमिकता दिएको जनाउँदै कार्यान्वयनमा सहयोग गर्न आग्रह गरे ।

उनले हरेक वर्ष बजेटप्रति सत्ता र प्रतिपक्षबीच पक्ष र विपक्षमा जुहारी चल्ने गरेको भन्दै बजेटको प्रभावकारी कार्यान्वयनका लागि समन्वय र सहकार्य जरुरी भएको उल्लेख गर्नुभयो ।नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र का सांसद उर्मिला अर्यालले प्रत्येक वडा कार्यालयमा ज्येष्ठ नागरिक क्लब स्थापना गर्न माग गरे ।

उनले मुलुकभित्र बढ्दो हवाई दुर्घटना नियन्त्रण तथा हवाई उडानलाई व्यवस्थित र सुरक्षित बनाउन सरोकारवालाको ध्यानाकर्षण गराए ।नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी का सांसद जयन्तीदेवी राईले बजेट निरन्तरतामुखी भएको बताउँदै नीतिगत भ्रष्टाचारको अन्त्य, मूल्यवृद्धि नियन्त्रण गर्नेगरी बजेट आउन नसकेको टिप्पणी गरे । जनता समाजवादी पार्टीका सांसद मोहम्मद खालिदले प्रादेशिक र सङ्घीयतालाई मजबुत तथा संस्थागत गर्नेगरी बजेट आएको बताए ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।