झापा। ग्रामीण क्षेत्रका मकै किसान यतिबेला उत्साहित छन् । उनीहरुले लगाएको मकैमा दाना लाग्न सुरु भएसँगै खेतबाटै बोटैसँगै मकै बिक्री हुन थालेपछि उनीहरु उत्साही भएका हुन् । जिल्लाका ठूला गाईफार्म सञ्चालकले किसानका खेतमा गएर साइलेज बनाउनका लागि मकै खरिद गर्न थालेका छन् ।
किसानहरु पनि बोटैमै मकै नपाकी राम्रो मूल्य पाउन थालेपछि सन्तुष्ट छन् । मेचीनगर नगरपालिका–१५ ज्यामिरगढीका मकै किसान ६५ वर्षीय हिमाल पोखरेलले खेतबाटै ८० हजारभन्दा बढीको मकै बिक्री गरेका छन् । उनले लगाएको एक बिघा जमिनको मकै साइलेज बनाउनका लागि गाई फार्म सञ्चालकहरुले खरिद गरेका थिए ।
किसान पोखरेलले खेतबाटै प्रतिकेजी चार रुपैयाँ पचास पैसाको दरले बोटसँगैको मकै बिक्री गरेको बताए। मकै सुकाएर बेच्दा भनेजस्तो मूल्य पनि नपाउने र खर्च पनि बढी भइरहेको अवस्थामा बोटबाटै भएको बिक्रीले ग्रामीण क्षेत्रका किसानलाई राहत मिलेको छ ।
मेचीनगरको ज्यामिरगढी, दुहागढी क्षेत्रको मकै साइलेज बनाउनका लागि नेपाल बहुउद्देश्यीय सहकारी संस्थाले सञ्चालन गरेको एनएमसी कृषि फार्मले खरिद गर्र्दै आएको छ । एनएमसीले मेचीनगर १४ स्थित दुहागढीमा प्राङ्गारिक नमूना तरकारी खेतीसँगै गाईफाम समेत सञ्चालन गर्दै आएको छ ।
संस्थालाई माडामा लिएर लगाइएको जमिनको मकैले मात्र नपुगेपछि कनकाई नगरपालिका, झापा गाउँपालिका र मेचीनगरका किसानको मकै समेत खरिद गरेर साइलेज बनाइरहेको एनएमसीका अध्यक्ष रामचन्द्र उप्रेतीले बताए। उनले साइलेज बनाउनका लागि किसानको १० लाख केजी मकै खरिद गरिएको जानकारी दिए ।
चैत महिना भित्र खरिद गरिएको मकै प्रतिकेजी रु पाँच र बैशाख लागेपछि प्रतिकेजी चार रुपैयाँ पचास पैसाका दरले किसानको मकै खरिद गरिएको उहाँले बताउनुभयो । अध्यक्ष उप्रेतीले गाईवस्तुका लागि पोसिलो आहार मानिने साइलेज अरू गाई फार्मलाई समेत बिक्री गरिने जनाए ।
उनका अनुसार दमकमा रहेको पाथीभरा एग्रो फार्मले पनि १० लाख केजी मकैको साइलेज बनाएको छ । यसपटक जिल्लाको मेचीनगर, दमक, विर्तामोडलगायत ठूला साना गाई फार्महरुले करिब एक करोड केजी मकैको साइलेज बनाएको उहाँको भनाइ थियो ।
दुई वर्षअघि एनएमसीले साइलेज बनाउन सुरु गरेसँगै जिल्लामा अन्य फार्महरुले समेत अघि बढेका छन् । तयार भएको साइलेज बिक्रीका लागि एमएमसीले बुकिङसमेत खुला गरेको छ । अध्यक्ष उप्रेतीले तयार भएको साइलेज जेठदेखि असारसम्ममा प्रतिकेजी रु १० का दरले बिक्री गर्ने र साउन लागेपछि त्यसको मूल्य पनि बढ्न सक्ने बताए।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







