अझै ३३ लाख थान पाठ्यपुस्तक छाप्न बाँकी


     एभरेस्ट आवाज    
     जेठ १८ गते २०७९ मा प्रकाशित




यस वर्षको शैक्षिक सत्र सुरु भएको ३ साता बित्नै लाग्दा पनि विद्यार्थीको हातमा पाठ्यपुस्तक पुग्न सकेको छैन।

विद्यालय तहका कक्षा ४ देखि कक्षा १० सम्मको पाठ्यपुस्तक छपाई एवं वितरणको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले सबै पुस्तक समयमै छपाई तथा वितरण गर्न नसक्दा देशभर ठ्यपुरस्तक अभाव भएको हो।

सरकारले कक्षा १ देखि ३ सम्मको पाठ्यपुस्तक छाप्ने जिम्मा निजी क्षेत्रलाई दिएपछि जनक शिक्षाले कक्षा ४ देखि १० सम्मको पाठ्यपुस्तक छाप्दै आएको छ। विगतमा पनि केन्द्रले समयमै पुस्तक छाप्न नसकेको भन्दै केही वर्षअघिनै सरकारले निजी क्षेत्रलाई पुस्तक छपाईको जिम्मा दिएको थियो।

जनक शिक्षाले अझै ३३ लाख थान पाठ्यपुस्तक छाप्नै बाँकी छ। चालू शैक्षिक सत्रका लागि आवश्यक १ करोड ९८ लाख थान पुस्तक छाप्नुपर्नेमा अहिलेसम्म १ करोड ६५ लाख थान मात्रै पाठ्यपुस्तक छपाइसकिएको केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाले जानकारी दिएका छन्।

जनक शिक्षाले विद्यालय तहको ८५ प्रतिशत पुस्तक पछाई सम्पन्न गरेको र १५ प्रतिशत छपाइ भइरहेको जनाएको छ।

‘यस वर्षको शैक्षिक सत्रलाई जनक शिक्षाले १ करोड ९८ लाख थान पाठ्यपुस्तक छाप्नुपर्ने हो, अहिलेसम्म १ करोड ६५ लाख थान पुस्तक छपाई सम्पन्न भएर वितरण गरिसक्यौ, बाँकी पुस्तक असार पहिलो सातासम्म छपाई सक्छाँै र अबको १ महिनाभित्र नै विद्यार्थीको हात–हातमा पुस्तक पुग्छन्,’ झाले भने।

उनले केन्द्र बिक्रेतामार्फत ७७ वटै जिल्लामा पुस्तक वितरण सुरु गरिसकेको बताए।

रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।