लमजुङ । पहाडी जिल्ला लमजुङमा पाठ्यपुस्तक अभाव भएको छ । नयाँ शैक्षिक सत्र यही जेठ १ गतेदेखि सुरु भए पनि अझै जिल्लामा नयाँ पाठ्यपुस्तक आइनपुग्दा विद्यार्थीलाई पाठ्यपुस्तक अभाव भएको हो ।
मस्र्याङ्दी गाउँपालिका–३ खुदीस्थित अमर माध्यमिक विद्यालयकी कक्षा ९ मा अध्ययरत सोनिका गुरुङ विद्यालय जान थालेको दुई हप्ता भइसकेको छ । हालसम्म पाँच वटा किताब किन्न पाए पनि चारवटा किताब किन्न नपाउँदा अध्ययनमा समस्या भइरहेको उनको गुनासो थियो ।
उनीमात्र होइन जिल्लाका हजारौँ विद्यार्थीको समस्या समस्य पनि उस्तै छ । करिब दुई वर्ष कोरोना महामारीका कारण पठनपाठनमा असर पारेपछि सुरु हुन लागेको नयाँ शैक्षिक सत्रको पढाइ पनि किताब अभावमा समस्या हुँदा विद्यार्थी चिन्तित बनेका छन् ।
समयमै पाठ्यपुस्तक उपलब्ध नगराउँदा आफूहरुकोे भविष्यमाथि नै खेलबाड भएको विद्यार्थीको भनाइ छ । जिल्लामा पाठ्यपुस्तक अभावका कारण विद्यार्थीलाई मात्र नभई शिक्षक शिक्षिकालाई समेत समस्या भइरहेको छ । सरकारले निःशुल्क उपलब्ध गराउने किताब नै अभाव भएपछि विद्यार्थीलाई पठनपाठनमा समस्या भएको सम्बद्ध शिक्षकको भनाइ थियो ।
बेँसीसहर नगरपालिका–७ स्थित जनविकास माध्यमिक विद्यालयका प्रधानाध्यापक रत्नमान श्रेष्ठले भने, “पठनपाठन सुरु भएको यतिका समय हुँदासमेत अझै किताब उपलब्ध नहुँदा विद्यार्थीलाई मात्र नभई शिक्षकलाई समेत समस्या भइरहेको छ ।” पुराना किताब खोज्ने र त्यसैबाट अध्यापन गराउन थाले पनि कक्षा ४, ७ र ९ का विद्यार्थीलाई भने नयाँ कोष भएकाले बढी समस्या भइरहेको उनको भनाइ थियो ।
केही विद्यालयले पुराना किताबबाट पठनपाठन गराएका र इन्टरनेटको सुविधा भएको विद्यालयमा इन्टरनेटबाट खोजेरसमेत पढाउने गरे पनि दुर्गमका विद्यार्थीलाई बढी समस्या भइरहेको उनले बताए । जतिसक्दो छिटो आवश्यक किताब जिल्लामा उपलब्ध गराउनका लागि पहल भइरहेको उनले जानकारी दिए ।
जिल्लामा सामुदायिक विद्यालय ३३६ तथा निजी ३३ विद्यालय छन् । विसं २०७८ सम्मको तथ्याङ्कअनुसार सामुदायिक विद्यालयमा २५ हजार ८१० विद्यार्थी छन् भने निजीमा आठ हजार ४९२ विद्यार्थी छन् ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







