भक्तपुर । किसानको जिल्ला भनेर चिनिने भक्तपुरमा रासायनिक मलको अभाव चुलिएको छ । यसवर्ष जेठमै वर्षा सुुरु भएकाले कतिपय ठाउँमा रोपाइँ गर्न तयारी गरिए पनि रासायनिक मल नहुँदा किसान मर्कामा परेका छन् । केही सहकारीले बेलैमा ल्याएको मल बिक्री सुरु गरेकाले पाँच किलो मल लिन किसानलाई रातभर लाइनमा बस्नु परेको छ । पैसा तिरेर पनि मल नपाउँदा किसान सरकारसँग आक्रोशित हुँदै आएका छन् ।
सिद्धि गणेश कृषि सहकारी संस्था लिका अध्यक्ष पूण्यराम दुमरुले पाँच किलो मल लिन ३०० देखि ४०० किसान रातिदेखि नै लाइनमा बसेको जानकारी दिए । संस्थाले केही दिन अगाडि ल्याएको ४० बोरा युरिया, ४० बोरा डिएपी मल र पाँच बोरा पोटास किसानका लागि कनिका छरेजस्तो भएको उनको भनाइ थियो ।
जुनसुकै पार्टीको नेतृत्वमा सरकार रहँदा पनि कृषि प्रधान देशका लागि चाहिने मल आफ्नै देशमा उत्पादन गर्न मल कारखाना खोल्न नखोज्नुले सरकार कमिसनको चङ्गुलमा फस्ने गरेको प्रष्ट हुने उनको आरोप थियो ।कृषि सामग्री कम्पनीले समयमै मल ल्याउन नसक्दा यस वर्ष पनि किसानले मलको हाहाकार खेप्नुपरेको हो ।
असार लाग्न लागिसक्दा पनि मल नपाउँदा उत्पादनमा ह्रास हुने भन्दै किसान चिन्तित हुन थालेकाले मलको हाहाकार रोक्न तत्काल सरकारले कदम चाल्नु पर्नेमा अध्यक्ष दुमरुले जोड दिनुभयो ।भक्तपुरकै शिलादेवी कृषि सहरकारी संस्था लिमिटेडका अध्यक्ष राजु सुवालले मल अभावले किसान धान रोप्नै अन्योलमा परेको बताए ।
किसान मल खोज्न सहकारी संस्था धाउदै हिँडे पनि धान रोप्ने बेलामा मल नपाएर भौतारिएको देख्दा कृषि प्रधान देश भन्न पनि लाज लागेको उहाँको भनाइ थियो ।सोही संस्थाका उपाध्यक्ष गोकुल वनले सरकारले तत्काल मल ल्याउने व्यवस्था नगरे किसान आन्दोलनमा उत्रन सक्ने बताउनुभयो । भक्तपुर नगरपालिकाका–९ का किसान कृष्णराम प्रजापतिले मल नल्याए आन्दोलनमा उत्रने बताए । सरकारले मलमा अनुदान दिएको छ ।
अनुदानमा मल दिने भए पनि सरकारी निकायले समयमै मल ल्याउने व्यवस्था गर्न नसक्दा हरेक वर्ष मलको हाहाकार हुँदै आएको छ । काठमाडौँ उपत्यकामा भक्तपुरलाई कृषिको राजधानी मानिन्छ । भक्तपुर र मध्यपुरथिमिमा कृषि भूमि कम रहे पनि सूर्यविनायक र चाँगुनारायणमा कृषियोग्य जमिन धेरै रहेकाले मलको आवश्यकता पनि उच्च रहने गरेको छ । रासायनिक मल समयमै उपलब्ध भए भक्तपुरमा धान उत्पादन राम्रो हुने गरेको छ ।
किसानले मल नपाएपछि नेपाल मजदुर किसान पार्टी निकट नेपाल क्रान्तिकारी किसान सङ्घले आजबाट आन्दोलन सुरु गरेको छ । सरकारलाई मल ल्याउन दबाब दिने उद्देश्यले आज काठमाडौँको रत्नपार्कबाट जुलुस निकाली विभिन्न ठाउँको परिक्रमा गर्दै भोटाहिटी पुगेर सभामा समापन गर्ने सङ्घले बताएको छ ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







