पोखराका बास्ताकोटी मकवानपुरबाट नक्कली परीक्षार्थीका रुपमा पक्राउ


     एभरेस्ट आवाज    
     जेठ २० गते २०७९ मा प्रकाशित




साङ्केतिक तस्विर

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२ बस्ने एक जना मकवानपुरबाट नक्कली परीक्षार्थीका रुपमा पक्राउ परेका छन् । हेटौंडा उपमहानगरपालिका–१ स्थित स्कुलमा सञ्चालन भइरहेको लोक सेवा आयोगको प्रशासन लेखा सहायक चौथो तहको परीक्षामा अरुको परिक्षा दिईरहेको अवस्थामा ४२ वर्षीय दिपेन्द्रप्रसाद बास्ताकोटी पक्राउ परेका हुन् ।

महोत्तरी साविक पोखभिण्डा गाबिस बस्ने अभय कुमार यादवको ठाउँमा बास्ताकोटीले परीक्षा दिइरहेको अवस्थामा फेला पारी लोकसेवा आयोगको परीक्षाको केन्द्राध्यक्षले तत्काल प्रहरीलाई जानकारी गराउनासाथ जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

साथै उनको झोलाबाट नगद ५८ हजार ५ सय रूपैयाँ र विभिन्न व्यक्तिहरूको ४ थान नागरिकतासमेत फेला पारी प्रहरीले बरामद गरेको छ ।

यसैगरी हेटौंडा उपमहानगरपालिका–११ स्थित यातायात ब्यवस्था कार्यालय हेटौंडाले लिईरहेको मोटरसाइकलको सवारी चालक अनुमती पत्रको परीक्षामा अर्काको नाममा परीक्षा दिइरहेको अवस्थामा मकवानपुर बकैया गाउँपालिका–७ बस्ने २० वर्षीय सन्तोष गौतम बिहीबार दिउँसो पक्राउ परेका छन् ।

सोही गाउँपालिका–७ बस्ने टुक नाथ गौतमको ठाउँमा उनकै छोरा सन्तोषले परीक्षा दिइरहेको अवस्थामा फेला पारी यातायात कार्यालयले प्रहरीलाई खबर गराउनासाथ जिल्ला प्रहरी कार्यालय मकवानपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।