१९ वर्षमुनिको महिला टी–२० विश्व कप छनोटमा नेपाल पराजित


     एभरेस्ट आवाज    
     जेठ २२ गते २०७९ मा प्रकाशित




आइसीसी १९ वर्षमुनिको महिला टी–२० विश्व कप एसिया छनोटको दोस्रो खेलमा नेपाल यूएईसँग १० विकेटले पराजित बनेको छ।

जितका लागि ९ रनको लक्ष्य पाएको यूएईले एक ओभर १ बलमा भेट्टायो। यूएईकी थीर्थ सतिश ४ बलमा ४ रन र लवन्य केनी ४ बलमा ३ रनमा अविजित रहिन्। अनु कडायतले पहिलो ओभरको पाँचौँ बल नो बल फ्यालेकी थिइन्।

त्यसअघि, मलेसियाको यूकेएम क्रिकेट ओभलमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ८ ओभर १ बलमा ८ रनमा अलआउट भएको थियो। नेपालकी स्नेहा महराले १० बलमा सर्वाधिक ३ रन बनाइन्।

ओपनर मनिषा रानाले २, किरणकुमारी कुँवर, अनु कडायत र अश्मा पुलामी मगर १/१ रनमा आउट बने। नेपालका ६ खेलाडीले खाता नै खोल्न सकेनन्। यूएईकी महिका गौरले ५, इन्धुजा नन्दका कुमारले ३ र सिमराले १ विकेट लिइन्।

नेपालले पहिलो खेलमा कतारलाई ७९ रनले हराएको थियो। यूएईले भुटानलाई १ सय ६० रनले पराजित गरेको थियो। ६ टोली सहभागी छनोटमा शीर्ष टोलीले आउँदो वर्ष दक्षिण अफ्रिकामा हुने १९ वर्षमुनिको महिला विश्व कप खेल्न पाउनेछ। नेपालले तेस्रो खेलमा सोमवार भुटानसँग खेल्नेछ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।