लोकतन्त्रको सुदृढीकरण र राष्ट्रियता संवद्र्धन गर्नुपर्छ : राप्रपा नेपाल अध्यक्ष थापा


     एभरेस्ट आवाज    
     जेठ २२ गते २०७९ मा प्रकाशित




मोरङ । राप्रपा नेपालका केन्द्रीय अध्यक्ष कमल थापाले लोकतन्त्रको सुदृढीकरण र राष्ट्रियताको संवद्र्धन गर्नु पार्टीको मुख्य एजेन्डा भएको बताएका छन् ।

विराटनगरमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले सनातन हिन्दू राष्ट्र, पूर्ण धार्मिक स्वतन्त्रता र उदार आर्थिक अर्थतन्त्रको नीति राप्रपा नेपालको रहेको बताए ।

उनले मुलुकले असंलग्न परराष्ट्र नीति अवलम्बन गरी अन्तर्राष्ट्रिय सम्बन्ध बढाउनुपर्नेमा जोड दिँदै दुई छिमेकी मुलुकको आर्थिक समृद्धिबाट लाभ लिन उनीहरुको चासो र चिन्तालाई सम्बोधन गर्नुपर्ने बताए ।

अध्यक्ष थापाले मुलुकमा मौलिक प्रजातन्त्रको विकास गर्नुपर्ने चर्चा गर्दै प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, संसद्बाट निर्वाचित राष्ट्रपति र सुदृढ स्थानीय पालिका हुनुपर्ने धारणा राखे । एक प्रश्नको जवाफमा उनले राजसंस्थाले जनताको पक्षमा केही कार्य नगरेकाले मुलुकमा अब राजसंस्था पुनःस्थापना नहुने बताए ।

अध्यक्ष थापाले आगामी प्रदेश र संसदीय निर्वाचनमा विभिन्न दलहरुसँग सहकार्य गर्न पार्टी खुल्ला रहेको बताए । राजनीतिमा असम्भव भने नहुने हुनाले राप्रपाले राजसंस्था हेर्ने दृष्टिकोण परिवर्तन गरेमा सहकार्य हुन सक्ने धारणा उनले व्यक्त गरे । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।