ललितकला पुरस्कार कलाकार आलोक गुरुङलाई प्रदान गरिने


     एभरेस्ट आवाज    
     जेठ २३ गते २०७९ मा प्रकाशित




पोखरा । ललितकला पुरस्कार–२०७८ बाट कलाकार आलोक गुरुङलाई पुरस्कृत गरिने भएको छ । कलाकार दुर्गा बराल वात्स्यायनद्वारा स्थापित तथा पोखरेली युवा सांस्कृतिक परिवारद्वारा सञ्चालित उक्त पुरस्कार यस वर्ष कलाबार गुरुङलाई प्रदान गरिने भएको हो । प्रत्येक दुई/दुई वर्षमा प्रदान गरिने उक्त पुरस्कारको राशी ११ हजार १ सय ११, ताम्रपत्र र दोषल्ला रहेको छ ।

वरिष्ठ कलाकार दुर्गा बराल वात्स्यायनले आफूले पाएको पुरस्कारमा रकम थपेर अक्षयकोष स्थापना गरेका थिए । उक्त पुरस्कार पोखरेली युवा सांस्कृतिक परिवार (पोयुसाँप)ले सञ्चालन गर्दै आएको छ ।

पुरस्कृत हुन लागेका कलाकार गुरुङ तनहुँ अरुबोटमा जन्मेर पोखरामा चित्रकला, मुहार चित्र र प्रतिस्थापन कलामा क्रियाशील छन् । ‘कला मनोरञ्जन र सौन्दर्य मात्रै नभएर चेतनाको उज्यालो हो’ भन्ने धारणा राख्ने गुरुङले एक हजार भन्दा बढी मुहारचित्र तथा अन्य सयौं सिर्जना गरिसकेका छन् ।

उनको एकल चित्रकला प्रदर्शनी–२०१३ (दमौली), पोखरा (२०१४), (दुर्गा बराल–गोपाल श्रेष्ठ) चित्रकला प्रदर्शनी–२०३१ (बागलुङ) प्रदर्शन गरिसकेका छन् । त्यस्तै उनले समूह चित्रकला प्रदर्शनी तथा सामूहिक कला कार्यशाला अन्तर्गत हङकङ, भारत, सिक्किम, कोरिया तथा नेपालका थुप्रै ठाउँहरुमा आफ्नो कला प्रदर्शनी गरिसकेका छन् । उनी लाइभ डेमोस्ट्रेशनमा पोख्त कलाकार मानिन्छन् । उनले सिर्जना फाइन आर्ट कलेज र ललितकला क्याम्पसमा समेत आफ्नो कला प्रस्तुत गरिसकेका छन् ।

पोखरेली युवा सांस्कृति परिवार (पोयुसाँप)का अध्यक्ष मोती भुजेलले कलाकार गुरुङले नेपाली कलाको विभिन्न विधाको उन्नयनमा पु¥याएको योगदानको कदर स्वरुप पुरस्कार प्रदान गर्ने निर्णय गरिएको बताए । उनका अनुसार प्रतिभा छनौट समितिका संयोजक वरिष्ठ कलाकार दुर्गा बराल वात्स्यायनको संयोजकत्वमा बनेको समितिले गुरुङलाई सर्वसम्मत रुपमा पुरस्कृत गर्ने निर्णय गरेको हो ।

यसअघि ललितकला पुरस्कारबाट पोखराका पहिलो कलाकार कृष्णप्रसाद श्रेष्ठ, गोपाल श्रेष्ठ, क्षेत्रलाल कायस्थ, बुद्धि गुरुङ, हरेराम जोजिजु, यादवचन्द्र भूर्तेल, सरोजा खड्गी, मुकेश मल्ल, लोकप्रसाद गुरुङ र राजन काफ्ले पुरस्कृत भइसकेका छन् ।

पुरस्कार आगामी असार ४ गते शनिबार एक समारोहकाबीच प्रदान गरिने अध्यक्ष भुजेलले जानकारी दिए । पुरस्कार कार्यक्रम नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका निवर्तमान कुलपति सरुभक्तको प्रमुख हुने उनले बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।