गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम : प्रदेशमै मुटुरोग अस्पताल स्थापना र मिर्गौला प्रत्यारोपणको व्यवस्था गरिने


     एभरेस्ट आवाज    
     जेठ २४ गते २०७९ मा प्रकाशित




पोखरा । गण्डकी प्रदेश सरकारले प्रदेशमै मिर्गौला प्रत्यारोपण सेवा आरम्भ गर्ने घोषणा गरेको छ । प्रदेश सरकारले आज ल्याएको प्रदेशको नीति तथा कार्यक्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगको सहकार्यमा गण्डकी प्रदेशमै मिर्गौला प्रत्यारोपण सेवा आरम्भ गरिने उल्लेख छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले वाचन गरेको नीति तथा कार्यक्रममा प्रदेशमै मुटुरोग अस्पताल स्थापना गरिनेपनि उल्लेख छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले भने,‘पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगको सहकार्यमा गण्डकी प्रदेशमा ५० शैयाको मुटुरोग अस्पताल स्थापना गरिनेछन ।’

त्यस्तै, प्रदेश भित्रका नागरिकको मिर्गौला नियमित डायलसिस गर्न हाल सेवा दिइरहेका अस्पतालहरुको क्षमता बिस्तार गर्नुका साथै गुणस्तरीइ सेवा प्रदान गरिने नीति कार्यक्रममा जनाइएको छ । सरकारले गोरखा जिल्ला अस्पताल, लमजुङ जिल्ला अस्पताल र नवलपुरको मध्यविन्दु जिल्ला अस्पतालमा मिर्गौला डायलसिस सेवा बिस्तार गर्ने जनाएको छ ।

प्रदेश सरकारले स्पाइरल ईञ्जुरी तथा बौद्धिक अपाङता भएका व्यक्तिहरुको सहज जीवनयापन र पुर्नस्थापनाका लागि ह्वीलचेयर, कृतिम हातखुट्टालगायतका सहायक सामग्री निःशुल्क उपलब्ध गराउने भएको छ । साथै उनीहरुको सहज उपचारका लागि आवश्यक प्रवन्ध मिलाइने नीति सरकारले लिएको छ ।

प्रदेश सरकारले प्रदेशबासीको स्वास्थ्य अवस्थामा सुृधार ल्याउन संघ र स्थानिय तहसँगको सहकार्यमा निःशुल्क आधारभूत स्वास्थ्य सेवा र आकस्मिक स्वास्थ्य सेवाको पहुँच वृद्धि गर्दै लैजाने नीति अवलम्वन गर्ने भएको छ ।

प्रदेश सरकारले जनआन्दोलन, जनयुद्ध, मधेश आन्दोलन र थरुहट आन्दोलनका सहीद तथा वेपत्ता भएकाहरुका परिवार एवम् घाईते, अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य उपचार निःशुल्क गर्ने भएको छ । प्रदेश प्रमुख गुरुङले प्रदेश मातहतका सबै अस्पतालमा उनीहरुको उपचार निःशुल्क गर्ने व्यवस्थाको सुनिश्चित गरिने उल्लेख गरे ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।