‘विपद्मा प्रमुख र आमा समूहसँग उपप्रमुख’कार्यक्रम गरिने


     एभरेस्ट आवाज    
     जेठ २५ गते २०७९ मा प्रकाशित




म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाले ‘विपद्मा प्रमुख र आमा समूहसँग उपप्रमुख’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । कार्यपालिकाको पहिलो बैठकले विपद् व्यवस्थापन, राहत र पुनःनिर्माणमा राज्यका अतिरिक्त समुदाय, निजी क्षेत्र र प्रवासीहरुको सहभागितामा विपद्मा मेयर कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो ।

निर्णय सार्वजनिक गर्दै मङ्गलबार नगरप्रमुख सुरत केसीले विपद्जन्य घटनाहरुबाट हुने सम्भावित क्षति न्यूनीकरण गर्न र विपद् व्यवस्थापन, उद्धार तथा प्रतिकार्यका लागि विपद्मा मेयर कार्यक्रम सञ्चालन गरिने बताए ।

बर्खामा विपद्को प्रतिकार्यका लागि तयारीसँगै विपद् व्यवस्थापनमा परिचालन हुने डोजर, टिपर र ट्र्याक्टर प्रतिस्पर्धामार्फत भाडामा लिने नगरप्रमुख केसीले जानकारी दिए ।

उपप्रमुख ज्योति लामिछाने पौडेलले टोलटोलमा बनेका आमा समूहका भवनमा सीपमूलक तालिम सञ्चालन गरेर महिलाहरुलाई उत्पादनसँग जोड्ने उद्देश्यले आमा समूहसँग उपप्रमुख कार्यक्रम अघि सारिएको बताए । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि अध्ययन गरी सुझाव पेस गर्न शिक्षा अधिकृत कमलप्रसाद ढकालको संयोजकत्वमा सोमनाथ ढुङ्गाना, सम्मरबहादुर थापा, जयराम सुवेदी र पेसागत सङ्गठनका तीनजना प्रतिनिधि रहेको कार्यदल बनाएको छ ।

कार्यपालिकाको प्रवक्ताको जिम्मेवारी वडा नं ७ का अध्यक्ष रमेशकुमार श्रेष्ठले पाएका छन् । नगरपालिकाको हितका लागि सहमतिमा विषयगत समिति गठन गरिएको नगरप्रमुख केसीले बताए ।

नगरप्रमुख केसीले पदभार ग्रहणका क्रममा गरेको विपन्नको स्वस्थ्य बीमा गर्ने, नसर्ने रोगका बिरामी पहिचान गर्न शिविर सञ्चालन गर्नेसम्बन्धी निर्णय बैठकले अनुमोदन गरेको छ । प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले कार्यपालिकाको निर्णयलाई आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेटिने बताए ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।