घोडाबाँधे गलकोट खण्ड अवरुद्ध,सवारीसाधन बाटोमै अलपत्र


     एभरेस्ट आवाज    
     जेठ २६ गते २०७९ मा प्रकाशित




फाइल तस्विर

बागलुङ । वर्षासँगै आएको बाढीका कारण पहिरो खस्दा पुष्पलाल (मध्यपहाडी)लोकमार्गको घोडाबाँधे गलकोट खण्ड पूर्णरूपमा अवरुद्ध भएको छ । बुधबार साँझ गलकोट क्षेत्रमा भीषण वर्षापछि लोकमार्गको उक्त खण्डमा दर्जन बढी पहिरो खसेका छन् ।

लोकमार्ग अवरुद्ध हुँदा लामो तथा छोटो दूरीका सवारी आवागमन रोकिएको छ भने सर्वसाधारणलाई पैदलयात्रा गर्नसमेत कठिन भएको स्थानीयवासीले बताए । बागलुङको गलकोट, बुर्तिबाङ, खर्वाङबाट काठमाडौँ, पोखरालगायतका सहरमा जाने लामो दूरीका सवारीसाधन रोकिएका छन् भने गलकोट, ढोरपाटन नगरपालिका र ताराखोला, निसीखोला, तमानखोला र बडिगाड गाउँपालिकाबाट सदरमुकाम आउने सबै सवारीसाधन गलकोटमै रोकिएका छन् ।

काठमाडाँै–पोखरालगायतका ठाउँबाट रुकुमपूर्वका लागि छुटेका सवारी घोडाबाँधेमा रोकिएको प्रहरीले जनाएको छ । बाढीपहिराले सडक क्षतविक्षत बनाएको हुँदा खुलाउन केही समय लाग्ने गलकोट नगर प्रमुख भरत शर्मा गैरेले बताए ।

त्यस्तै बाढी र पहिराका कारण गलकोटको नरेठाँटी बजार उच्च जोखिममा परेको छ । गलकोट नगरपालिका–२ नकटेखोलामा बाढी आउँदा नरेठाँटी बजारका ३५ घर उच्च जोखिममा परेको वडाध्यक्ष हिमबहादुर भण्डारीले जानकारी दिए । बिहीबार साँझदेखि रातभर परेको भिषण वर्षाका कारण जसपुरबाट झरेको पहिरो नकटेखोलमा आउँदा नरेठाँटी बजार उच्च जोखिममा परेको अध्यक्ष भण्डारीको भनाइ छ । बाढीको त्रासले स्थानीय रातभर जागराम बसेका छन् । नकटेखोलाको कटानले तटीय क्षेत्रका घरसमेत जोखिममा परेको उनले बताए ।

बाढीले महेन्द्र माविको खेलमैदान पुरिएको र विद्यालयसमेत जोखिममा परेको उहाँले बताउनुभयो । रातभर स्थानीयवासी र मेसिनको प्रयोग गरी बाढी तर्काउने कोसिस गरेको उनको भनाइ छ ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।