तस्बीरः एजेन्सी
पृथ्वी राजमार्ग भासिएर यातायात अवरुद्ध भएपछि भित्ता काट्न सुरु गरिएको छ।
यातायात सुचारु गराउनका लागि सडक छेउको भित्ता काट्न सुरु गरिएको हो।
निरन्तर वर्षाका कारण शुक्रबार बिहान राजमार्ग भासिएपछि दुईतर्फी सडक अवरुद्ध भएको छ। भित्ता काटेर साना गाडीसम्म संचालन गराउन पहल भइरहेको प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जानकारी दिए।
‘डेढ मिटरसम्म भित्ता काटेर एकतर्फीरूपमा साना गाडीसम्म चलाउन सकिन्छ भन्ने छ’, प्रजिअ अर्यालले भने, ‘बेलुकासम्म काम सकेर यातायात संचालन हुन्छ।’
सडक अवरुद्ध हुँदा सर्वसाधारण मर्कामा परेका छन्। आँबुखैरेनी हुँदै चितवन, काठमाडौं जाने र पोखरातर्फ आउने सवारीसाधन रोकिएका छन्। सर्वसाधारणलाई भने सुरक्षित रूपमा पैदल हुँदै वारपार गराउने व्यवस्था मिलाइएको छ।
सडक भासिएको ठाउँमा एउटा कार पुरिएको छ। कार पुरिँदा २ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमध्ये गोरखाको छोप्राक घर भई हाल आँबुखैरेनी गाउँपालिका–२ का ३५ वर्षीय केशव घिमिरे रहेको खुल्न आएको छ।
मानवीय क्षति अन्य पनि हुनसक्ने भएकाले खोजीकार्य भइरहेको छ। उक्त ठाउँबाट मोटरसाइकल खसे पनि चालक भने सकुशल भेटिएका थिए। सडक भासिएपछि पृथ्वी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ। तत्काल राजमार्ग संचालन हुने संभावना नरहेको प्रहरीले जनाएको छ। यहाँ वैकल्पिक मार्ग नभएकाले यात्रुहरू मर्कामा परेका छन्।
आँबुखैरेनी गाउँपालिकाका इञ्जीनियरहरू घटनास्थल पुगेका छन्। गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले सडक भासिएको ठाउँमा बेलिब्रिज राख्ने वा भित्ता फालेर सडक फराकिलो पार्ने भनेर अध्ययनपछि टुंगो लाग्ने जानकारी दिएका छन्। प्रमुख जिल्ला अधिकारी अर्यालले सडक भासिएको ठाउँमा अवलोकनका लागि प्राविधिक टोली पठाइएको जानकारी दिएका छन्। प्राविधिकको सुझावअनुसार अघि बढ्ने उनले बताए।
रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







