भजनी, कैलालीको टीकापुर नगरपालिका–२ का शङ्कर विश्वकर्माले आठ बिघा क्षेत्रफलमा केरा खेती गरेका छन्। चार वर्षदेखि केरा व्यवसाय गर्दै आएका शङ्करको अधिकांश केरा शनिबारको हावाहुरीले नष्ट गरेको छ ।उत्पादनको अन्तिम चरणमा रहेको केरा सबै हावाहुरीले ढालेपछी शङ्कर निकै चिन्तित छन् ।
जग्गा भाडामा लिएर केरा खेती गर्दै आएका उनी हावाहुरीले सबै केरा सखाप पारेपछि पुनः बारीमासमेत जान सकेका छैन्न । बैंकबाट ऋृण निकालेर व्यवसाय गरेका शङ्करले हावाहुरीले व्यवसायबाट विस्थापित हुने अवस्था सिर्जना गरेको बताए ।
यस्तै टीकापुरकै दिनेश सुनारले यस वर्षबाटै केरा खेती सुरु गरेका छन् ।
तीन बिघा क्षेत्रमा केरा खेती गर्नुभएका दिनेशले पहिलो बालीसमेत भित्र्याउन नसक्ने भएका छन् । पहिलो उत्पादन दिइरहेको केरा हावाहुरीसँगै ढलेपछि दिनेशलाई पनि निकै पीडाबोध भएको छ ।
दिनेशले केराको बीमा गरेका छन्। बीमाका लागि कागजात बनाउनै समस्या हुने भएपछि त्यसको औचित्य नभएको बताउँदै दिनेशले बीमाले उपलब्ध गराउने क्षतिको रकमभन्दा बढी कागजात बनाउनमै जाने भएकोले त्यसमा लाग्नु झन्झट भएको बताए ।
उनले किसानले बीमा बैंकको ऋृणको लागि मात्रै गर्ने गरेको बताए ।टीकापुरकै विनोद शाहले २०५८ सालदेखि केराखेती गर्दै आएका छन्। उहाँनले अहिले पनि ५५ बिघा क्षेत्रफलमा केराखेती गरिराखेका छन् ।
टीकापुरमा व्यावसायिक केराखेती सिकाउने व्यक्तिमध्येको एक विनोदको दुई हजार ५०० भन्दा बढी केराका बोट हावाहुरीका कारण नष्ट भएका छन् ।केरा व्यवसायी टेकेन्द्र धामीलाई हावाहुरीले केराका बोट नष्ट गरेकोभन्दा बढी चिन्ता केराको बेर्ना नष्ट गरेकोमा बढी चिन्ता भएको छ ।
१२ बिघा क्षेत्रफलमा केरा खेती गर्दै आउनुभएका टेकेन्द्रले केही वर्षदेखि केराको बेर्ना उत्पादनलाई महत्व दिँदै आएका छन्। उनले ‘टिस्यु कल्चर’ प्रविधिबाट केराको बेर्ना उत्पादन गर्दै आउनु भएको हो । तर, शनिबारको हावाहुरीले केराको बेर्ना उत्पादन गरेको टनेल उडाउँदा केराको बेर्ना नष्ट हुने चिन्ता बढेको टेकेन्द्रले बताए ।टीकापुर क्षेत्रमा मात्रै हावाहुरीका कारण करिव एक सय बिघा क्षेत्रमा लगाएको केरा पूर्णरुपमा नष्ट भएको अनुमान गरिएको छ ।
अहिले टीकापुरमा व्यावसायिक रुपमा केरा खेती गर्दै आएका तीन सयभन्दा बढी किसान छन् । राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाईले वार्षिक करोडौं रकम केरा व्यवसायीका लागि अनुदानमा खर्च गर्दै आएको छ ।
टीकापुरलाई केराको पकेट क्षेत्रको रुपमा हेर्ने गरिन्छ ।उक्त सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाइका प्रमुख गोविन्दराज जोशीले हावाहुरीका कारण केरा खेतीमा भएको क्षतिको अनुगमन भइरहेको बताएका छन् । उनले अनुगमनपछि मात्रै केराको क्षतिबारे एकीन गर्न सकिने बताउँदै अनुगमनमा देखिएको अवस्थालाई प्रतिवेदनको रुमपा मातहतको मन्त्रालयमा पठाइने बताए ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







